नाम भने जागरण अभियान काम भने सरकार ढाल्ने खेल !
वि.सं.२०८२ जेठ ८ बिहीवार ११:५९
shares

२०७९ मा सम्पन्न भएको संघीय संसद र प्रदेशसभाको निर्वाचनपछि करिब १८ महिनासम्म सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रले यतिबेला विभिन्न अभियान सञ्चालन गरिरहेको छ । यस अघि उसले तराई मधेश जागरण अभियान सञ्चालन गरेको थियो । यतिबेला माओवादी केन्द्र मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानमा सक्रिय भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट हट्नु परेको पीडा सहन नसकि अनेक अभियानका नाममा सक्रिय भएका भएपनि जसरी भएपनि उनी कांग्रेस–एमालेको सत्ता गठबन्धनको सरकारबाट कांग्रेसलाई बाहिरिन आग्रह गरिरहेका छन् । त्यही रणनीति अनुसार उनले कांग्रेसका सभापति शेरबहादुर देउवालाई विभिन्न व्यक्तिबाट सन्देश पठाइरहेका छन् भने केही दिन पहिला त उनले जागरण अभियानमा डढेल्धुरा पुगेका बेला सभापति देउवालाई त्यहीबाट फोन समेत गरेका थिए । अध्यक्ष दाहालले देउवालाई फोन गरेपश्चात् उनले माओवादीका उपमहासचिव जनार्दन शर्मालाई सभापति देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ मै पठाएका थिए ।
स्मरण रहोस् नेकपा एमालेले करिब १ वर्ष अघि त्यस्तै अभियान सञ्चालन गरेको थियो । त्यसबेला कांग्रेस–माओवादी गठबन्धनको सरकार थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल रहेका थिए । त्यसबेला नकेपा एमालेका अध्यक्ष केपी ओली डढेल्धुरा पुगेर कांग्रेसका सभापति देउवालाई फोन सम्पर्क गरेका थिए । त्यही फोन सम्पर्क कांग्रेस–माओवादीको गठबन्धनको सरकार ढाल्ने पहिलो प्रयास थियो सो प्रयास सफल भएपछि अहिले पुष्पकमल दाहालले समेत ओलीकै सिको गर्दै सरकार ढाल्ने प्रयास गरेर देउवालाई फकाउन लागि परेका छन् । कांग्रेस–एमालेबीचमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र अबको १४ महिनापछि प्रधानमन्त्री ओलीले राजिनामा दिने र कांग्रेसका सभापति शेरबहादुर देउवा २०८४ को संघीय संसदको निर्वाचनको परिणाम सम्म प्रधानमन्त्री बन्ने सहमति कांग्रेस–एमालेबीचमा भएको छ । पुष्पकमल दाहाल अहिले जसरी भएपनि त्यो सहमति तोड्ने प्रयासमा लागि परेका भएपनि अहिलेकै अवस्थामा त्यो सम्भव देखिएको छैन ।
नेपाली कांग्रेसभित्रका गुट र उपगुट रहेका भएपनि सभापति देउवाको पक्षमा पार्टीभित्र र संसदीय दलभित्र बहुमत रहेकाले देउवाले नचाहेसम्म ओली नेतृत्वको सरकार ढाल्ने र दाहालको प्रयास सफल हुन सक्ने सम्भावना नै देखिँदैन । कांग्रेसको विधान अनुसार दुई पटक भन्दा बढी सभापति बन्न नपाउने भएकाले गर्दा अब देउवा सभापति बन्न सक्ने सम्भावना देखिँदैन तर देउवाको समर्थन विना अर्को व्यक्ति सभापति बन्न नसक्ने अवस्थामा कांग्रेसमा रहेकाले गर्दा कांग्रेसभित्रका गुट, उपगुट र इतर पक्ष पनि खुलेर सरकारको विरोधमा उत्रिनु सक्ने अवस्थामा रहेका छैनन् । कांग्रेसको इतर पक्षका नेता भनेर चिनिएका शेखर कोइरालालाई सहयोग गर्दै आएका महामन्त्री गगन थापा पनि अहिले कोइराला पक्षमा नरहेको उनको व्यवहारले देखाएको छ भने अर्का महामन्त्री विश्वप्रकाश शर्माको हैसियत त्यति प्रभावशाली देखिएको छैन । त्यसैले गर्दा केपी ओली नेतृत्वको कांग्रेस–एमालेको संयुक्त सरकारको कांग्रेसले केही व्यक्तिहरुले विरोध गर्दैमा ओली सरकार ढल्न सक्ने सम्भावना नै रहँदैन तर सभापति देउवाले एक्लै सरकार ढाल्न चाहेमा सरकार ढल्ने निश्चित रहेकाले पुष्पकमल दाहाल देउवालाई फकाउन लागि परेका छन् ।
अध्यक्ष दाहालले सभापति देउवालाई ओली नेतृत्वको सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउन पटक पटक देउवालाई आग्रह गरिरहेका भएपनि देउवाले दाहाललाई विश्वास गर्न सकेका छैनन् । दाहालले देउवाले आफ्नै नेतृत्वमा सरकार बनाएको खण्डमा आफ्नो पार्टीले सरकारलाई बाहिरैबाट समर्थन गर्ने र देउवाले चाहे सरकारमा सहभागि हुन सक्ने सन्देश देउवालाई पठाएका भएपनि देउवाले भने अहिलेकै सत्ता गठबन्धनलाई अघि बढाउने पक्षमा रहेको प्रष्ट धारणा सार्वज्निक गर्दै आएका छन् । देउवा थोरै बोल्ने र तर बोलीको पक्का भएको सन्देश दिन सफल भएका व्यक्ति हुन् । पुष्पकमल दाहालले कांग्रेस–एमालेलाई पटक पटक धोका दिँदै आएकाले कांग्रेस–एमाले नेतृत्वले दाहाल बोली फेर्ने सबै नेताहरु भन्दा अगाडि रहेका र आफ्नो स्वार्थअनुसार उनी जे गर्न पनि तयार रहने प्रवृत्तिका भएकाले उनलाई कुनैपनि दलले विश्वास गर्न सकिरहेका छैनन् भने कांग्रेस–एमाले त कसरी विश्वास गर्लान् ?
पुष्पकमल दाहालले अहिले जागरण अभियान चलाएका भएपनि त्यो अभियान भनेको जागरण भनिएतापनि काम भनेर सरकार ढाल्ने प्रयासमै सिमित रहेको छ । अहिलेकै व्यवस्था अनुसार २०८४ को निर्वाचनमा पनि कुनै एउटै दलले सरकार निर्माण गर्न पुग्ने सिट जित्न सक्ने अवस्था नै देखिँदैन । प्रत्यक्षतर्फ १ सय ६५ सिट र समानुपातिकमा १ सय १० सिटको व्यवस्था रहेकाले गर्दा प्रत्यक्षतर्फ सरकार बनाउन पुग्ने गरी १०० सिट जित्नुपर्ने हुन्छ भने समानुपातिकतर्फ ११० सिटमा घटीमा ४० सिट जित्नुपर्ने हुन्छ । यो संख्या जित्न प्राय असम्भव रहेकाले गर्दा २०८४ को निर्वाचनमा पनि दलहरुले गठबन्धन नै गरी निर्वाचनमा जानुपर्ने निश्चित जस्तै रहेको हामीले ठानेका छौँ ।
































