नेपाल अर्को परिवर्तनको मोडमा पुग्यो
वि.सं.२०८२ जेठ २३ शुक्रवार ०९:०२
shares
राजन कार्की
सांस्कृतिक क्रान्ति गरेर १९६० को दशकमा शिखरमा पुगेका नेता माओत्सेतुंगको एकतन्त्रबाद अन्ततः जनताका सामु घुँडा टेकेर झुक्यो । माओ विवेकी थिए यसकारण उनले जनताका सामु घुँडा टेकेर माफी मागेका थिए । जनताका सामु झुक्ने कहिल्यै सानो हुँुदैनन् । इन्ड अफ दी हिस्टी एण्ड लास्ट किंग जुन नेताले पढेन, उ अबुझ हो । विवेकहीनलाई सुझाव र भैंसीलाई विणा उस्तै उस्तै हो ।
जनताका सामु झुकेकैले माओ पुजनीय बने । चीनका माओ र नेपालका महेन्द्रको मित्रता आज पनि ग्रेट हल अफ दि चाइनामा सबुत प्रमाणका रुपमा सम्मानित टाँगिएको छ । यो कुरा नेपालका वामपन्थीले कहिल्यै बुझेनन् ।
एकपल्ट त माओले भनेका पनि थिए, म के कम्युनिष्ट, असली व्यवहारमा त नेपालका राजा पो कम्युनिष्ट भनेका थिए । ती तिनै माओ थिए, जसले राजा महेन्द्रले दिएको टोपीलाई ससम्मान लगाएका थिए ।
ती माओवादी नेपालको सत्तामा छन् । पहिले मनमोहन अधिकारी थिए, उनको साख आज पनि जनतामा परेको छ । जनयुद्ध र जनआन्दोलनपछिका कम्युनिष्टहरु जनताका आँखामा परेका कसिंगर हुन् । सत्य के हो भने १८ वर्षको शासनकाल चटकेको जस्तो देखियो । लोकतन्त्रमा चटक देखाएर जनतालाई सधैं मूर्ख बनाउन सकिन्न । चटक हेर्दाहेर्दा परिवर्तनले उत्साहित लोकको उत्साह नेताहरूले सत्ताको पोखरीमा डुबुल्की मारेको देखेर समाप्त भइसकेको छ । नेता र पार्टीहरूको रिसोर्ट र रङ्गीन जीवनशैली, आमनागरिकमाथिको अन्यायले नागरिकमा आक्रोश बढ्दै गएको छ । पार्टीवालाहरू राजस्व लुटिरहने, भुइँमान्छे नाना, खाना र छानाको खोजीमा विदेश विदेश भौंतारिनुपर्ने कारणले नेतातन्त्र ‘सराप’ सिद्ध हुँदैगयो । न ‘बुद्ध शान्ति’ आयो, न लि क्वान यु समृद्धि ? मात्र अपराध मौलायो । अपराधको दुर्गन्ध अर्थात् लोकतन्त्रको गर्भगृहबाट इदिअमिन, ख्रुश्चेव वा चाउचेस्कुको अवतार जन्मियो । भ्रष्टाचार साह्रै गनायो ।
भ्रष्टाचारकै कारण नेपाल ग्रे लिष्टमा समेत परेको छ ।
१६९८ मा बिनाअपराध पाटका राजा भीम मल्ल मारिएपछि उनकी सतीले दिएको सरापबाट अझै नेपाली माटो मुक्त भइसकेको रहेनछ । त्यतिबेला ६ प्रधान थिए, जसको षडयन्त्रको कोपभाजनमा राजा भीम मल्लले मारिनुप¥यो ।
वर्तमान कालखण्डमा ३ ठूला दल र ३ नेता छन्, जसको कोपभाजनमा राजतन्त्र र हिन्दुराष्ट्र समाप्त पारियो । भ्रष्टाचार र अपराधका कारण देश असफल हुनपुगेको छ ।
यथार्थमा मुलुक १९७५ को सिक्किमभन्दा पनि खतरनाक मोडमा पुगिसकेको छ । त्यो मोड युक्रेन हो । युक्रेनको नियतिबाट बचाउने राजनेता वर्तमान नेपालको आवश्यकता हो । यही आवश्यकताको संचेतना हो हर्क राई, बालेन्द्र साह र गोपाल हमालहरू । र, अहिले भइरहेको सडक आन्दोलन ।
नेपाल बनाउने, न्यायपूर्ण नेपाल बनाउने, समानतापूर्ण नेपाल निर्माण गर्ने खाका कतैबाट आएन । अन्याय, अत्याचार, हिंसा, बलात्कार, हत्या, भ्रष्टाचार समाचारदेखि महालेखाको रिपोर्टसम्ममा उल्लेख भयो तर अदालतमा समेत राजनीतिकरण भएपछि कसैमाथि कारवाही भएन । शासन सत्तामा अपराधकिो बोलवाला बढेको छ ।
२०६३ मा राजतन्त्रलाई पराजीत गरेर सत्तासीन बन्न सफल भएका नेपोलियनहरू ०८२ मा आइपुग्दा जनताको नजरमा आलोचित छन् । इतिहास साक्षी छ– नेपोलियन आफ्नै अहंकार र बढी आत्मविश्वासका कारणले वाटर लूको युध्दमा पराजीत हुनुप¥यो । उनी वीर थिए, उनले वीरताको सम्मान त पाए तर उनी सेन्ट हेलेनाको टापुको खोरमा खुम्चिनुप¥यो । नेपोलियनले सेन्ट हेलेनाको टापुमा बन्दी जीवन बिताउनु परेपछि छोरालाई चिठी लेखे ः छोरा, समयलाई चिनेर अघि बढ्नु । मेरा पालामा बन्दूकले सबैलाई बसमा राख्न सकिन्थ्यो । अब समय परिवर्तन भएको छ । तिमीले मानिसको मन, बिचार र भावनालाई परिवर्तन गरेर उनीहरूलाई बसमा पार्ने प्रयास गर्नु ।
लोकतान्त्रिक गणतन्त्रका अगुवाहरु जनताको विचार र भावनामाथि बाहुबली दमन गरेर अघि बढिरहेका छ्न ।
दमनकारीबारे इतिहासकार भन्छन् ः जनतामाथि निरंकूशता लाद्ने खु्रस्चेवलाई जनताले नून खानीमा लखेटे । महासर्वसत्तावादी स्टालीन आफ्ना तीनजना अति विश्वासपात्रको हातबाट मारिनुप¥यो । मानवताको इतिहासमा कलंकित व्यक्तित्व हिटलरले आत्महत्या गर्नुप¥यो । विरोधीको टाउको काटेर फुटबल खेल्ने र विरोधीको मुटु कलेजोको भुटुवा स्वाद मानीमानी खाने इदी अमीन अन्ततः जनताव्दारा जंगल भाग्नुप¥यो । रोमनियाका चाउचेस्कु अर्का उदाहरण हुन्, जसको दरवारमा बाथरूमको पाइनसमेत सूनको थियो । त्यस्ता धनाध्ये, सौखिन, सामन्तलाई जनताले दरवारको बार्दलीबाटै फ्याँकीदिए । जनविश्वासमाथि घात, जनतामाथि शोषण र अतिसार जनताका लागि पाच्य हुँदैन भन्ने यी उदाहरण हुन् यी । हाम्रा नेताहरू भयभित छैनन् । आफ्ना लागि चिहान खनिरहेका छन्, सत्य यही हो ।
नेतृत्वमा चरित्र, सिद्धान्त, नीति, नैतिकता हो । यी सबै बुँदामा नेतृत्व चुकेको छ । नेतृत्व चुक्दा लोकतान्त्रिक गणतन्त्र नेतातन्त्रमा बरालिन पुग्यो । १८ वर्षमा नागरिक बालिग हुन्छन् । लोकतन्त्र पनि बालिग हुनुपर्ने हो । नेतृत्वले गणतन्त्रलाई बाँदरले नरिवल खेलाएझैं खेलाए । २०६३ सालको जनआन्दोलन, जनयुद्धको चमक खुइलियो । प्रत्येक नेता जनताको नजरको कसीमा घृणायोग्य बन्न पुगेका छन् ।
केही स्वतन्त्र उमेदवारले जितेका थिए, तिनले जनताको मन जित्ने प्रयास पनि गरेका हुन् । स्वतन्त्र उमेदवारलाई जसरी पनि राजनीतिक प्रतिस्पर्धाबाट हटाउनुपर्छ भन्ने मानसिकता बोकेका ठूला प्रजातान्त्रिक, लोकतान्त्रिक भनिएका कांग्रेस, माओवादी, एमालेले संविधानको दायरामा रहँदा पनि दिनुसम्मको झण्झट झमेला दिइरहेका छन् ।
राजनीतिक दल र नेताहरुले स्वार्थका लागि सिद्धान्त छाड्ने, लाभका लागि देशघात, जनघात गर्ने हो क्रम रोकिएन । जनताको आवाज, अपेक्षा सुन्न कुनै नेता वा दल तैयार भएनन् । यसको परिणति जनयुद्धको लक्ष्य, २०६३ को जनआन्दोलनको उद्देश्य, २०६५ को गणतन्त्रको भविष्य ०८२ साल आइपुग्दा ल्हासा हिडेको कुतीको बाटो हुनपुगेको छ । शान्ति, समानता र प्रगतिका जनअपेक्षा कता हरायो, हरायो ।
देखिनुपर्ने उत्साह थियो, देखियो नैरास्यता । भेटिनुपर्ने विकास थियो, नेता र तिनका कार्यकर्ताको मात्र अनुहार फेरियो । प्रतिक्षारत जनतालाई केही दिन सकेन । राष्ट्रिय नीति र जीवनलाई झन झन कमजोर पार्दै लग्यो । उत्तरी क्षिमेकी सशंकित भएर सशक्त हुँदै छिरेको छ, दक्षिणको छिमेकी कालापानी, लिपुलेकसमेत खाइसकेर युक्रेन बनादेंगे भनेर छिरेको छ । भूपरिबेष्ठित नेपाल भूराजनीतिक द्वन्द्वमा फस्दै असंलग्नबाट युक्रेनको पक्षमा उभिन पुग्यो । आफ्नो कूटनीतिक ओजन आफै घटायो । जो युक्रेनको पक्षमा खडा हुन्छ, ऊ रूसको शत्रुराष्ट्र हो भन्ने रूसको भनाइमा नेपाल चीनको पनि शत्रुराष्ट्र बन्न पुग्यो । असंलग्नतामा नेपाल रहेन ।
नेपाल परजीवी नियति भोग्नका लागि अभिशप्त हुँदैछ ।
बागमती महामारी किटाणु बोकेर बग्न बाध्य भएझैं लोकतन्त्र स्वर्ग हो, राजनीतिका बेइमान खेलाडीहरूले लोकतन्त्रलाई असफल बनाइदिए । महगो मूल्य चुकाउन देश र जनता बाध्य पारिएका छन् । गणतन्त्र भार भयो ।
योगी नरहरिनाथले भनेका थिए– छाता आफै ओढुनुपर्छ, अर्कोलाई दियो भने उसैले ओढ्छ । राजा ज्ञानेन्द्रले छाता छोड्दा नेताहरूले ओढे । नेताहरूले माल पाएर चाल पाएनन्, ओढ्न सकेनन्, दिल्लीलाई दिए, उसैले ओढ्यो । संविधान जारी भएपछि र पछिल्ला घटनाक्रमले त नेपालको छाता पश्चिमाले ओढ्न थालेका छन् । नेता लोकतन्त्र बाँदरले नरिवल समातेजसरी समातेर बसेका छन् । जनता लोकतन्त्र कौवालाई बेल पाकेजस्तो हेरेर बसेका छन् । देश भ्रष्टहरुका लागि लखनौं लूटको अखडा बन्नपुग्यो ।
देशको भाग्य र भविष्य परिवर्तन गर्ने ली क्वान युजस्ता बलियो देशभक्ति भएका नेताहरू जन्मिएको देख्न पाइएन । जो जन्मिए, बाहुबली, भ्रष्टबली, नैतिकहीन, लोकलज्जा नभएकामात्र जन्मिए । राजकाजमा तिनकै रजगज छ । जनआन्दोलनमा जनताको जुन उत्साह थियो, त्यो कसरी मरिसकेछ भन्ने नतिजा अहिले सडकमा भइरहेको थरि थरिका आन्दोलन हो ।
मिसन ०८४ भनिएको छ, व्यवस्था फेरिएन भने यो मिसन ०८४ मा धेरै स्वतन्त्र, युवाहरुले चुनाव जित्नेछन् । यद्यपि प्रजातन्त्र फालिने छैन, संघीयता र गणतन्त्र पाखा लगाउन जनताले शक्ति देखाइरहेका छन् । भ्रष्ट शक्ति र जनशक्तिको शक्ति परीक्षण भइरहेको सडकमा देख्न सकिन्छ । नेपाल परिवर्तनको मोडमा पुग्यो ।

































