मतदाता नामावली सम्बन्धी प्रणाली पूर्ण सुरक्षित : निर्वाचन आयोग
वि.सं.२०८२ मंसिर २ मंगलवार १६:१४
shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सम्बन्धी प्रणाली पूर्ण सुरक्षित रहेको जनाएको छ ।
आयोगको वेबसाइटमा अनधिकृत प्रवेश गरी मतदाता नामावली सम्बन्धी सूचनाहरू फेला पारेको भनी सञ्जालमा साझा गरिएका दाबी प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सूचना प्रणाली पूर्ण सुरक्षित रहेको जनाएको हो ।नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै आयोगले त्यस्ता सूचनामा कुनै पनि अनधिकृत व्यक्ति पहुँच नपुगेको बताएको छ । आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्ने कार्य गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
सामाजिक सञ्जालमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरू आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि कानुनअनुसार नै निर्वाचन कार्यालय तथा राजनीतिक दलहरूलाई उपलब्ध गराएका सामान्य सूचना भएको विज्ञप्तिमा उल्लेख छ । नागरिकका कुनै पनि गोप्य सूचना चुहावट (लिक) नभएको र प्रमाणित नभएका भ्रामक तथा मिथ्या सूचनामा विश्वास नगर्न सरोकारवालालाई आयोगको आग्रह छ ।

































