जेनजी हार्न सक्दैन, हार्ने छुट छैन जेनजी पुस्तालाई
वि.सं.२०८२ मंसिर ४ बिहीवार १३:२४
shares

जेनजी हार्न सक्दैन, हार्ने छुट छैन जेनजी पुस्तालाई ।
दक्षिण एसियाका घटनाक्रम हेरौं– सडकमा चिया बेच्ने नरेन्द्र मोदी २०१४ मा भारतका प्रधानमन्त्री बनेका थिए, २०२५ मा पनि प्रधानमन्त्री छन् । भर्खरै विहारराज्यको चुनाव भयो, यो चुनावले प्रमाणित गरिदियो– मोदीको क्रेज झन बढेको छ । भारत मोदीमय बनेको छ । यद्यपि भाजपा हिन्दुवादी पार्टी हो ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना विद्यार्थी आन्दोलन थेग्न नसकेर भागिन्, भारतमै छिन् ।
तिनै शेख हसिना जो १९९६–२००१, २००९ देखि २०२४ जुलाईसम्म बंगलादेशकी प्रधानमन्त्री थिइन्, शक्तिशाली थिइन्, बिद्यार्थी आन्दोलनमा राज्य दमन गर्दा विद्यार्थी बिद्रोह थेग्न नसकेर सेनाको सहयोगमा भाग्नु परेको थियो । उनीमाथि अदालतमा मुद्दा प¥यो र अदालतले उनलाई मृत्युदण्डको सजाय तोकेको छ ।
विद्यार्थी आन्दोलन हुँदा सयौं विद्यार्थी मारिएका थिए, अझै कति मारिए भन्ने निश्चित छैन । राष्ट्रसंघको अनुसन्धानअनुसार १४ सय नागरिक मारिएका थिए । १४ हजारभन्दा बढी घाइते भएका थिए । २०२४ को अगस्तमा भारत भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेश फर्कन र अदालतमा प्रतिरक्षा गर्न अस्वीकार गरेकी थिइन ।
न्यायाधीश गुलाम मुर्तजा मोजुमदारका अनुसार शेख हसिनाविरुद्ध उत्तेजना फैलाएको, विद्यार्थी मार्न आदेश दिएको र अत्याचार रोक्न उदासीन रहेको अपराध पाइएको छ । अराजक शासन र मानवता विरुद्धको अपराधको सजाय मृत्युदण्ड नै हो । पूर्वप्रधानमन्त्री हसिनासँगै अदालतले पूर्व गृहमन्त्री अशाउद्दीन खान कमल र पूर्व आइजीपी चौधरी अब्दुल्ला अल मामुनलाई पनि मानवताविरोधीका रुपमा मृत्युदण्डको फैसला भएको छ ।
यो फैसलापछि शेख हसिनाको अवामी लिग पार्टीले फैसलाको बिरोधमा आन्दोलन सुरु गरेको छ । जसका कारण बंगलादेशमा गृहयुद्ध चर्कदो अवस्थामा पुगेको छ ।
बंगलादेशले भारतमा कूटनीतिक नोट पठाएर शेख हसिनालाई बंगलादेशको सुपूर्द गर्न आग्रह गरेको छ । यो विषयमा भारतको प्रतिक्रिया छ– शेख हसिनाविरुद्धको फैसला नोटिसमा राखिएको छ । स्मरणीय छ, पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री कमल दुबै भारतमा निर्वासित छन् ।
भारतमा रहेकी शेख हसिनाले बंगलादेशी अदालतको फैसला अस्वीकार गर्दै भनेकी छिन्– म डराएकी छैन । त्यसैले मैले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) समक्ष यी आरोपहरू ल्याउन बारम्बार चुनौती दिएको छु ।
अब हेर्नुछ, भारतले बंगलादेशी पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई कसरी र कतिञ्जेल बचाउन सक्छ ?
नेपालमा जेनजी आन्दोलन र राज्यदमन
गत भदौ २३ र २४ गते नेपालमा जेनजी आन्दोलन भयो । २७ घण्टामा जेनजी आन्दोलनले नेपालको राज्यसत्ता ढालिदियो । यो आन्दोलनमा राज्यदमन पिठ्यूँमा पुस्तक बोकेका र स्कुले युनिफर्ममा रहेका बालबालिकाको समेत हत्या गरियो । मारिएका बालबालिकाको टाउको, घाँटी, छातीमा गोली हानिएको थियो । त्यतिबेला पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भनेकी थिइन्– यो मानवताविरोधी दमन हो । यस्ता शासकमाथि हत्याको आरोपमा कारवाही हुनुपर्छ । घटनाक्रमले यिनै सुशीला कार्कीलाई भदौ २७ गते प्रधानमन्त्री बनायो, त्यसपछिका दिनमा प्रधानमन्त्री सुशीला कार्कीले यो हत्याकाण्डमा कुनै कारवाही अगाडि बढाएको देखिदैन । छानबिन आयाग गठन भएको छ तर कानुनी कारवाही नहुनु र कसैलाई दण्डित नगरिनु आश्चर्यको विषय बनेको छ । आफूले फागुन २१ मा चुनाव गराउने म्याण्डेट पाएको बताउने यी प्रधानमन्त्रीले चुनाव नखलबलियोस् भनेर बालबालिकाको हत्याको जिम्मेवार कसैलाई नबनाएको, मानवताविरोधी र अराजकता मच्चाउने राज्यपक्षका केहीलाई सीमा हद तोक्ने बाहेक केही निर्णय लिन नसकेको आक्षेप लाग्न थालेको छ ।
छिमेक भारतमा मोदीजस्ता सशक्त शासक छन् । बंगलादेशमा सशक्त न्यायाधीश देखिए । तर नेपालमा न राजनीतिमा स्वच्छ र सशक्त कुनै व्यक्तित्व छन्, न सशक्त न्यायाधीश ? जुन आन्दोलनले अराष्ट्रिय, जनविरोधी, अन्यायको संरक्षण गर्ने र भ्रष्टाचार तथा अपराध बढाउने संविधान, सत्ता, संसद सबै ध्वस्त पारिदियो, त्यो आन्दोलनमा सरिक जेनजी पुस्तामाथि कारवाही अगाडि बढाएर शास्ती र यातना दिन थालेको छ । जनविरोधी पुरानो सत्ता र शक्ति पुनर्ताजकीकरण हुने वातावरण सिर्जना गराउने षडयन्त्र भइरहेको छ । २ महिनामा विकसित भएका यी सबै घटनाक्रम देख्नेहरु भन्न थालेका छन्– सतीको सरापबाट नेपाल मुक्त हुनसकेन । घुम्दै फिर्दै रुम्जाटार भन्ने उखानजस्तो अवस्था देखिन थाल्यो ।
२०४६ पछिको ३७ वर्षमा राष्ट्रलाई कङ्गाल बनाउनेहरु जो छन्, तिनीहरु पराजीत भएका छैनन् । खासगरी प्रजातन्त्रवादी शेरबहादुर देउवा, समाजवादी भन्न रुचाउने केपी ओली, कम्युनिष्ट हुँ भन्ने प्रचण्ड, डुक्रिन थालेका छन् । कांग्रेस, एमाले, माओवादीभित्रका होनहार नयाँ पुस्तामा विवेक छ, विवेकशील चरित्र देखाउन अझै हच्किरहेका छन् । इतिहासमा मगध साम्राज्यका महानन्दजस्ता क्रुर लाग्छन्, यी नेताहरु । चन्द्रगुप्त मौर्यजस्ता राजनेता बन्नलायक गुण कसैमा देखिदैन ।
फलतः भदौ २३ र २४ को जेनजी आन्दोलन हुनपुग्यो ।
लोकतन्त्र, शान्ति, समृद्धि, सुशासन दिन्छौं, नयाँ नेपाल बनाउँछौं भन्ने यिनै हुन् जो बहुदल वा लोकतन्त्रपछि आजसम्म ल्हासा जाने कुतीको बाटो हिंडिरहेका छन् । योभन्दा ठूलो राजनीतिक अपराध केही हुनै सक्दैन । जेनजी आन्दोलन यिनीहरुले चटके बनेर देखाउने चटकमात्र हो भन्ने खुलासा थियो ।
भनिन्छ, सर्पको विष झार्न नजान्नेले सर्पलाई नचलाउनु । आफूले खडा गरेको भ्रष्टाचार र अनैतिकताको समस्या पहाड बनेर टाउकामा बज्रिएपछि हाम्रा नेताहरु काँचोवायु बर्बराएजस्तो बरबराउन थालेका छन् ।
विगतको एकदशक लामो जनयुद्ध गर्ने माओवादीले देखायो– मार्न सजिलो छ, बचाउन गाह्रो । बिगार्न सहज छ, निर्माण गर्न मुस्किल । १७ हजार मारिए, तिनका आफन्तजन आज पनि मुटु गाँठो पारेर ज्यूँदै मरिरहेका छन् ।
अन्यायका अनगिन्ति श्रृंखला छन् । ३७ वर्षमा ३४ सरकार बन्यो, न कुनै सरकारलाई दुखेको देखियो, न कुनै नेतालाई । न अधिकारकर्मी, न नागरिक समाज अथवा बुद्धिजीवीलाई । छिनछिनमा न्याय मरिरहेको छ, सबै मलामी बन्न तैयार छन् । मलाम गइरहेका छन् । यी सबैका लागि सत्ता पञ्चदेवलको हण्डी बनिरह्यो, सक्नेले हैसियतअनुसार लुटिरहे, खाइरहे, डकारीरहे ।
मुस्ताङको खच्चर चराउने गोठालोजस्तो भएर देश चल्दैन । गोवर भरिएको खप्परले लोकतन्त्र चलाउन सकिदैन । माओको देश चीनमा उदारवाद आइसक्यो, समाजवादी भारतमा ऐतिहासिक परिवर्तन भइसक्यो, हाम्रा नेताहरु जनतालाई भेडाबाख्रा चराएझैं चराउन खोज्दैछन् । यसकारण हरेक दलपतिहरु जनताको नजरमा घृणाका पात्र बनेका छन् । अझै यिनको आँखा खुलेको छैन ।
राजनेता बन्नुपर्नेहरु डन पाल्छन्, माफियागिरी चलाउँछन्, विदेशीसँग गुप्तगु गर्छन् । ढाँट्नुसम्म ढाँट्छन्, पेटभरि ढाँट्छन् र भन्छन्– लोकतन्त्र ज्यूँदो छ । ०४६ सालदेखि यही सुगा रटान जारी छ । ५४ हजार बर्गमाइलको मुलुकमा समाज परिवर्तनका लागि डाँफेले बेग हानेजसरी बेग हान्नुपर्नेहरु अनैतिकताको बेग हानिरहेका छन् । खोजेको शान्ति र प्रगति, यिनले दिए– बित्यास, अतास र बितण्डा ।
अन्तमा, मार्टिन लुथर किङको यो भनाई–
‘जबसम्म मानिस आफ्नो व्यक्तिगत स्वार्थको संकीर्ण दायराभन्दा माथि उठेर समग्र मानवताको बृहत् हितसम्म पुग्दैन, तबसम्म उसको जीवन सार्थक ठहर्दैन ।’
हाम्रो राजनीति मरिसक्यो, राजनीतिलाई समाज परिवर्तनको साधन बनाउने जिम्मा अव जेनजी पुस्ताको काँधमा आएको छ ।
जेनजीले जितेको युद्ध खोसिएको छ, जेनजी पुस्ता फेरि उठ्नुपर्छ, जित्नुपर्छ ।
जेनजी पुस्ता हार्न सक्दैन । ठेस लागेर लडेको मात्र हो, जेनजी फेरि उठ्नुपर्छ ।
जेनजी पुस्ता अजय शक्ति हो । शुदर्शन चक्र हो, यो शक्तिलाई हार्ने छुट छैन । यो ब्रम्हास्त्रले देशबाट अपराधलाई परास्त गर्नुपर्छ ।






























