रवि र बालेनले खोजेको परिवर्तन कस्तो हो ?
वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:०६
shares

राजन कार्की
संसदमा सत्तारुढ रास्वपाको संगीत र प्रतिपक्षीको भंगीत दुबै कर्णप्रिय छैनन् । दुबैले दुबैलाई भड्काउ नीति अख्तियार गरेका छन् । जसका कारणले ३७ वर्ष शासन गर्ने पुराना दलहरुको फागुन २१ को चुनावमा गएको सातो पनि फर्कने छैन । न त फागुन २१ मा झण्डै दुई तिहाई मत हासिल गर्ने रास्वपाको कद नै उचा हुनेछ ।
प्रधानमन्त्री बालेन साह जेठ १७ गते संसदमा पुगेर बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको आश्चर्य थाहा पाएँ भन्दै दुबै देश मिलेर सीमा समस्या समाधान गरिनेछ भनेकोमा नेपालले भारतको कुन चाहिं, कति जमिन मिच्यो भनेर प्रतिपक्षीले आधा कुरालाई राष्ट्रिय मुद्दा नै बनाइदिए । संसदमा गर्नु नगर्नुको तमासा गरेकै हुन् ।
प्रधानमन्त्री बालेन साहले पनि संसदमा पुगेर जुन कुरा जेठ २७ गते परराष्ट्रमन्त्रीको मुखबाट प्रष्टिकरण बोल्न लगाए, त्यही कुरा बोलिदिएको भए के बिग्रन्थ्यो र ? अथवा सय दिन पुगेका दिन संसदमा आएर बोल्ने छु, अहिले व्यस्त छु भन्ने कुरा कुनै मन्त्री वा सांसदमार्फत बोल्न लगाएको भए पनि केही बिग्रने थिएन ।
रास्वपा परिवर्तनका लागि चुनावमा होमियो, जनादेश पायो र सत्तामा पुग्यो । परिवर्तन गर्ने विषय संविधान संशोधनको बहसपत्रमा आउला, सडक र संसदमा छलफल भएर निर्णयमा पनि पुग्ला । त्यतिञ्जेल यही संविधानमा टेकेर चल्नुपर्ने छ, चल्ने हो भने किन अहंकार प्रदर्शन गर्ने ? न सत्तापक्ष, न प्रतिपक्ष दुबैले जितको अहंकार र हारको आक्रोश देखाउन जरुरी थिएन, जुन संसद र सडकमा देखिनेक्रम जारी छ ।
त्यसै पनि बालेन सरकारले सुकुमवासी समस्या र भूमिहीनहरुलाई गिजोलेको छ । फास्ट ट्य्राकबाट तिनीहरुको व्यवस्थापन गरिदिन शक्तिशाली सरकारलाई कसले रोकेको छ । बाँकी विविध नियुक्ती, संवैधानिक निकायको परिपूर्ति र बजेटको सूचना चुहाएको समेत आरोप छ । कतिपय मामिलामा सरकार र रास्वपा पार्टीवीच नै मतभेद देखिन घटनाक्रम पनि चलेकै छन् । रास्वपाले पाँच वर्ष शासन गर्ने जनादेश पाएको छ । प्रतिपक्षीको काम बिरोध गर्ने हो गरिरहेका छन् । जनादेशअनुसारको काम देखिन सकेको छैन ।
निश्चित रुपमा प्रधानमन्त्रीले काम गर्ने शैलीमा परिवर्तन ल्याएका छन् । प्रधानमन्त्रीको बेडरुमसम्मको बिचौलियाको पहुँचलाई तोडिदिएका छन् । विश्वविद्यालयदेखि कर्मचारीतन्त्रसम्ममा पार्टीकरणको जरोकिलो उखेलिदिएका छन् । तथापि आमसमुदायले पाउनैपर्ने शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा सुधार भइसकेको छैन । परिवर्तनको एजेण्डासहित सत्तामा पुगेको दललाई असफल हुने छुट छैन । यो सत्ता पनि असफल भयो भने फेरि अराजकता र अस्थिरता बढ्नेछ । गर्न चाहेको के हो, जनताले खोजेको कस्तो परिवर्तन हो, रास्वपाले दिने चाहिं के हो ? केही पनि प्रष्ट भइसकेको छैन । एकप्रकारणले नेपाली राजनीतिमा अन्यौल बढेको छ, रास्वपा र सरकारले अन्यौल बढाएको छ । यो अन्यौलताको अन्त्य हुनुपर्छ छिटो । रास्वपाका सभापति रवि लामिछानेले भनेका थिए– आमा, हामीलाई विश्वास गर्नोस्, बालेनले देश बनाउँछ । देश बनाउने जग कता हो ? सय दिन पुग्न लाग्यो, अब नतिजा देखिनुपर्छ । नतिजाले मात्र प्रतिपक्षीले बालेको आगो निभ्नसक्छ ।
भन्नलाई प्रम बालेनले एकवर्ष सुशासनमा लाग्ने, विदेश भ्रमण नगर्ने बताएपछि सभापति रवि लामिछानेलाई भारत भ्रमणमा निम्त्याइयो । एउटा पार्टी सभापतिलाई रेड कार्पेट, प्रधानमन्त्री, प्रधानमन्त्रीका विशेष सल्लाहकार, परराष्ट्रमन्त्री सबैले भेट गरे, वान टु वान वार्ता गरे, नेपाल–भारतवीच रहेका सबै समस्यालाई समाधान गर्ने र विकास साझेदारका रूपमा अघि बढ्ने निधो गरे, यो विश्वमै दुर्लभ दृश्य हो । तर जेठ २७ गते प्रतिपक्षीले प्रश्न गरेका छन्– कालापानीको क र सीमा स सम्मको उठान किन हुनसकेन । भन्नलाई ढोल पिटेर सीमा समस्या समाधान हुँदैन भन्ने, संवादसमेत गर्न नसक्नुको कारण के हो ? सत्तापक्ष मौन छ, सत्तापक्ष जिब्रो तालुमा टाँसेर बसेको छ ।
मौन बस्नु सफलता होइन । मौनता परिवर्तन होइन ।
निश्चित रुपमा, ३७ वर्षको कालखण्डमा भारत जान हतारिने, भारतका जुनसुकै नेता आए पनि लामलागेर भेट्ने चलन थियो । त्यो क्रमभंगता भएको छ, बराबरीको हैसियत बल्ल देखिएको छ । भारतका विज्ञहरु भन्छन्– नेपालले सम्बन्ध व्यवस्थि तगर्न र बिगतका कमजोरी करेक्शन गर्न खोजेको छ । केही विश्लेषकका अनुसार प्रम बालेनले जानाजान बोलेका हुन्, उनले तुरूपको एक्का नै फालेर सार्वभौमिकताको महत्व स्थापित गरेका छन् ।
हुन त पहिलोपल्ट नेपालले पठाएको कूटनीतिक नोटको तत्काल भारतले जवाफ दियो । नेपालले पनि तेश्रोपक्ष खोजेको होइन, १८१६ को सम्झौताले उठाएको समस्या समाधान गर्ने कागजातको पहुँच खोजेको भनेर प्रष्टिकरण दिने अवसर पायो । नेपाल भारतवीच अनेक संयन्त्र थिए, जो सुसुप्त थिए, ती सबै बालेनको अभिव्यक्तिपछि सकृय भएका छन् । जे जति सीमा समस्या छन्, दशगजा अतिक्रमण अथवा यताकाले उता र उताकाले यता खेतीपाती गरिरहेका छन्, सबै समस्या संवाद, सहमति र सहकार्यबाट समाधान हुने विश्वास सरकारले संसदलाई गराएको छ ।
प्रम बालेनले भनेका छन्, म काम गर्न आएको हुँ । मलाई मेरो देश प्यारो छ । मर्न तैयार छु, झुक्दिन । झुक्छ भनेर नचिताए पनि हुन्छ । विपक्षीको तीब्र प्रहार देख्नेहरू विश्लेषण गर्दैछन्– बालेनले देश बनाउँछन् कि ३ महिनामै हराउँछन्, सडक र संसदमा प्रतिपक्षीले गरेको उग्रविरोधले अनेक प्रश्न उठाएका छन् । बालेन सही छन् र बालेन देश घातक हुन् भन्ने दुई धार राजनीतिक धरातलमा जमजमाइरहेका छन् । हो दुई तिहाईको सरकारलाई ५ वर्ष कुनै विपक्षीले हल्लाउन सक्ने देखिदैन । तर राष्ट्रघाती भनेर अपमानको अगेनामा डढाउँदा डढाउँदै बालेन साह कालाम्मे हुने खतरा पनि छ । केही संविधानविददेखि थिङ्कटेंकहरु भनिरहेका छन्– प्रम बालेन साह युवा छन्, युवामा हुने अनेक दुर्गुणहरु उनमा छन्, तर बालेनको नियत सफा छ ।
सभापति रवि लामिछानेलाई भारतले निम्त्याएर रेड कार्पेट नै बिछ्यो । भार सरकारसँग विशेष महत्वको वार्ता गरेर फर्किएका रास्वपा सभापतिबाट भारतसँग सधैं शिर निहुराउने, लम्पसार पर्ने बिगतका पार्टी, नेताहरू आश्चर्यमा परेका छन् । यो घटनाले नेपाल र भारतवीच सम्बन्धको नयाँ श्रृंखला सुरु भएको देखिन्छ ।
फागुन २१ अघि एक चुनावी सभामा सभापति रवि लामिछानेले भनेका थिए ‘आमा, बालेनले देश बनाउँछ । रविको त्यो आत्मविश्वासलाई विश्वास गरेर जनताले चुनावमा भोट खन्याइदिए । रास्वपा चमत्कारिक रूपमा चुनावी परीक्षामा उत्तीर्ण भयो । स्थापित नेता र पार्टी किनारामा पुगे । नेपाली राजनीतिमा यो घटना ऐतिहासिक हो । यो ऐतिहासिकतामा विपक्षीले अनेक प्रश्न उठाएर आक्षेप लगाइरहेका छन्, त्यसको जवाफमा रास्वपा र बालेन सरकारले जनप्रिय काम गरेर देखाउनु पर्ने हो । नतिजामुखी सरकारको नियति देखिदैन ।
बिगत ३७ वर्षमा जे हुनु नहुनु भयो, नीति, निष्ठा, नैतिकता, सिद्धान्त स्खलित हुँदै हुँदै नाङ्गेझार भइसकेको बहुदल, लोकतान्त्रिक गणतन्त्रलाई जनताले परास्त गरिदिएकै । यसरी चल्दैन भनेकै हुन् । रास्वपाको लक्ष्य शान्ति, सुशासन, समृद्धि, स्थिरता नै थियो । नयाँ गतिमान डिपार्चर लिएर सत्तामा पुग्यो । रास्वपा सत्तामा पुग्नुको अन्तर्य भनेको सेवाग्राहीलाई डेलिभरी नै थियो । डेलिभरी भनेजस्तो हुनसकेको छैन ।
हो, आमजनतालाई यो जोडीको आत्मविश्वास मन प¥यो । रविको राजनीतिक सुझबुझ र बालेनको कार्यशैली गजबैको छ । रवि र बालेनप्रति युवा आकर्षण व्यक्तिको उदयभन्दा पनि जनता परिवर्तन चाहन्छन्, परिवर्तनका लागि जनतामा विद्यमान छटपटीको पराकाष्ठा थियो । जुन परिणाम फागुन २१ को चुनावले दियो । अब त्यो परिणाम जनजीवनमा देखिनुपर्ने हो, सय दिन पुग्न लागिसक्यो सरकार, देखिएको छैन ।
राजनीतिको परिदृश्य नै बदलियो, जनताका असन्तुष्टि सन्तुष्टिमा बदलिएको छैन ।
लोकप्रियतावाद मेयरको चुनावदेखि आमचुनावमा पनि बढ्यो । यो लोकप्रियतावाद सुशासनमा रुपान्तरण हुनुपर्छ । भएको छैन । दृश्यमा राजनीतिदेखि कूटनीतिसम्म प्रभाव देखिन्छ, त्यो प्रभाव जनताको दैनिकीदेखि राष्ट्रको सार्वभौमिकतासम्म देखिनुपर्छ । विधिको शासन स्थापित हुनुपर्छ । नेपोटिजमको अन्त र योग्यताको कदर हुने विश्वास जाग्नुपछृ ।
नागरिकलाई परिणाम खोजेका हुन्, पाउनैपर्ने नागरिक हक र सेवामा सहजता देखिनुपर्छ । करको सदुपयोग भएको हुनुपर्छ र भ्रष्टहरू दण्डित हुनुपर्छ भन्ने नै हो । नागरिक यही अपेक्षा सुशासन हो । सुशासन दिन्छु भन्ने रास्वपाको कबुल छ, करार पनि छ । बालेनले परिणाम दिन्छन्, बालेनलाई सबैले सघाउनु पर्छ । परिवर्तन र नयाँपनको झल्का छ, झिल्का छ, उजेलिएको छैन ।
रास्वपाले भनेकै हो ’हामी सक्छौं’ । गरेर देखाउ, समय छैन, समय घर्केपछि जसरी आज विपक्षीले पुर्पुरोमा हात राखेका छन्, त्यसैगरी पछुताउनुको बिकल्प हुनेछैन । आजेको एकमात्र एजेण्डा भनेको राष्ट्र कस्तो बनाउने, देशवासीलाई कुन कुन अवसर दिने, अस्तित्व रक्षा कसरी गर्ने ? युवाले रोजगारी कसरी पाउनेछन् ? समानता र क्षमताको कदर हुन्छ कि हुन्न ? दण्ड र पुरस्कारको प्रवन्ध के छ ? नैतिकहीनलाई दण्ड र सभ्य समाजको सिर्जना गरिन्छ कि गरिदैन ? यस्ता अनेक प्रश्नहरू छन्, जुन प्रश्नहरू रास्वपा र बालेन सरकारका सामु उभिएका छन् । उत्तर वैचारिक सोच राजनीति हो, राजनीतिले उत्तर खोजेको छ ।
































