लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायणलाई नै निरन्तरता दिन सहमति
वि.सं.२०८३ साउन १४ बिहीवार १५:२७
shares

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ ।
नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो ।एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लिला गिरीबीच भक्तपुरको गुन्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो ।
गुन्डुमा भएको छलफलले आफू नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय भएको मुख्यमन्त्री आचार्यले लो जानकारी दिए ।यससँगै एमाले र नेकपाबीच मन्त्रालयको बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ्ने भएको छ ।मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृहकार्य शुरू हुने जनाइएको छ ।हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्यसहित एमालेका पाँच जना मन्त्री छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए ।
एमाले र नेकपाको सहमतिअनुसार अब नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइनेछ भने मन्त्रिपरिषद् पुनर्गठन केही दिनभित्रै हुने तयारी छ ।दुवै दलले सरकारलाई प्रभावकारी, स्थिर र परिणाममुखी बनाउने गरी मन्त्रालय बाँडफाँड र जिम्मेवारी निर्धारण गर्ने समझदारी बनाएका छन् ।





































