पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आपसी सदभाव खल्बल्याउने कुनै पनि गतिविधि माथि कडा कदम चालिनेछ : प्रधानमन्त्री बालेन

1.11K
shares

प्रधानमन्त्री बालेन्द्र साहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन् । बिहीबार (१४ साउन) साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री साहले उक्त दुःखद् घटनामा परी निधन भएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट समवेदना व्यक्त गरेका छन् ।

आफ्नो सम्बोधनमा उनले भनेका छन्, ‘म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु, देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद् घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन ।’‘घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ, म सबैमा विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्रीले भनेका छन् ।

अब अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीयस्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील रहेको उनको भनाइ छ ।‘स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति–सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नु भएको छ’, प्रधानमन्त्री साहले भनेका छन्, ‘देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ ।’ यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामाग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न, नगराउन समेत अनुरोध गर्दै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न उनले विशेष आग्रह गरेका छन् ।

प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिने उल्लेख गर्दै प्रधानमन्त्री साहले शान्ति–सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिने समेत बताएका छन् ।‘धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो, संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन । सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो, हाम्रो इतिहास साक्षी छ- कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन्, सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्ने अवस्था आएको छ’- उनले भनेका छन् ।

प्रधानमन्त्री शाहले मैथलीमा समेत सम्बोधन गर्दै राष्ट्रिय एकता कायम राख्न आग्रह गरे र भने, ‘हम आमनागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल क रहल छी ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports