सरकारको नाममा आनी छोइङको नियुक्ति विरुद्धको रिटमा कारण देखाउ आदेश
वि.सं.२०८३ मंसिर ९ बुधवार १५:४८
shares

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङलाई नियुक्त गर्नुको कारणसहित अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि विपक्षी नेपाल सरकार, लुम्बिनी विकास कोषलगायतलाई झिकाउने आदेश दिएको हो ।आनीको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले रिट दायर गरेका थिए ।
रिट निवेदनमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी छोइङ डोल्माको योग्यता नपुगेको दाबी गरिएको छ । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) बमोजिम डोल्मालाई कोषको उपाध्यक्षमा मनोनीत गरेको थियो ।




































