ग्यास आपूर्ति सहज बनाउन भारतबाट एकै दिनमा १६१ वटा बुलेट ग्यास लोड गरियो
वि.सं.२०८३ मंसिर १२ शनिवार ०९:३३
shares

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज बनाउन भारतीय आयल कर्पोरेसन (आईओसी) ले एकैदिन १६१ बुलेट ग्यास लोड गरेको छ । नेपाल आयल निगमको विशेष अनुरोध र समन्वयपछि नोभेम्बर २६ मा उक्त परिमाणमा ग्यास लोड भएको हो ।
निगमका अनुसार सामान्य अवस्थामा भारतबाट दैनिक औसत ११० देखि १२० बुलेट मात्रै ग्यास लोड हुँदै आएको थियो । तर, बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न निगमले लोडिङ कोटा बढाउन आईओसीसँग आग्रह गरेको थियो ।एकैपटक ठूलो परिमाणमा ग्यास लोड भएसँगै अब बजारमा ग्यासको आपूर्ति व्यवस्थापन थप सहज हुने निगमले विश्वास लिएको छ । हाल बजारमा ग्यासको बिक्री वितरण नियमित रूपमै भइरहेको निगमले स्पष्ट पारेको छ ।
यसैबीच, सरकारले पनि ग्यासको माग र आपूर्तिको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको जनाएको छ । आयात, ढुवानी तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच समन्वय भइरहेको सरकारी पक्षको भनाइ छ ।




































