सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकतन्त्रको खम्बा जनता हुन्, उनीहरुलाई निरास नबनाऔं

494
shares
  • देवेन्द्र चुडाल

पछिल्लो समयमा कोरोना भाइरस (कोभिड–१९) बाट मुलुक आक्रान्त भएको छ । कोरोनाकै कारण हजारौँ व्यक्तिहरु संक्रमित भएका छन् भने धेरै व्यक्तिले ज्यान गुमाई सकेको अवस्थ रहेको छ । मुलुकमा राजनीतिक दलहरु छन् सरकार छ । संघीय संसदमा झण्डै दुई तिहाई नजिकको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपीओली नेतृत्वको सरकार रहेको छ । इतिहासकै शक्तिशाली सरकार रहेको भएपनि जनताले सरकार भएको अनुभूति सम्मगर्न सकेका छैनन् । सबै राजनीतिक दलहरुका गतिविधि शुन्य रहेका छन् । ओली नेतृत्वको सरकार सिंहदरबार र बालुवाटार मै सिमित भएको छ । सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वले गर्दा सरकारले जनताले अनुभूति पाउने गरी काम गर्न सकेको छैन । संविधानले तिनै तह संघीय सरकार, प्रदेश सरकार र स्थनीय तहलाई अधिकार बाँडफाँड गरिदिएको भएपनि प्रदेश सरकारहरु भने संघीय सरकारको र आ आफ्नो पार्टीको नेतृत्वको छायाँ परेको हुनाले उनीहरुले कुनै निर्णय गर्न सकेका छैनन् । संविधानले दिएको अधिकार समेत प्रदेश सभा र प्रदेश सरकारले प्रयोग नगरी केन्द्रीय नेतृत्वलाई नै त्यो अधिकार प्रयोग गर्न दिन थालेका छन् । सत्ताधारी दल भित्रको गुटगत राजनीतिले गर्दा कहिले बालुवाटार त कहिले खुमलटार अनि कहिले कोटेश्वरमा विभिन्न प्रकारका गुटगत भेला गराएर आ आफ्नो स्वार्थ पूरा गर्ने गरिएको भएपनि जनताका स्वार्थका लागि भने दल र सरकारले उपलब्धीमूलक कार्य गर्न सकेका छैनन् ।

२०४६ सालमा राजनीतिक परिवर्तन भयो । त्यसबेला राजनीतिक दलहरुले सम्वैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थालाई स्वीकार गरेका थिए । सबै अधिकार सिंहदरबार र बालुवाटारमा पुगेपछि जनताले ठुलो आशा एवं विश्वास गरेर राजनीतिक दलहरुलाई मत दिए । तर सबै अधिकार आफ्नो हातमा आएपछि नेपाली कांग्रेस र नेकपा एमालेले अन्य राजनीतिक दलहरुलाई स्वीकार गर्न सकेन अर्थात बहुदलीय व्यवस्थाको पुर्नस्थापना आफूहरुले गरेको र आफूहरुले मात्र त्यसको फल खानुपर्दछ भन्ने घमण्डमा उनीहरु रमाउन थालेका हुनाले बहुदलीय संविधान जारी भै लागु भएको ५ वर्ष मै तत्कालिन जनमोर्चा विगतको माओवादीले शसस्त्र आन्दोलनमा गयो । माओवादीले २०५१ सालबाट सुरु गरेको शसस्त्र आन्दोलनले गर्दा हजारौँ हजार व्यक्तिको ज्यान गयो । लाखौँ व्यक्तिहरु पिडित भए । आफ्नै देशभित्र नेपाली नागरिकले आन्तरिक शरणार्थीका रुपमा जीवन विताउन बाध्य पारिए । हजारौँ व्यक्तिको हत्या गरियो । माओवादीको शसस्त्र आन्दोलनले गर्दा मुलुकको अर्थतन्त्र डामाडोल हुने अवस्थामा पुग्यो । तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भारतमा भारतीय सुरक्षाकर्मीको सुरक्षा भित्र बसेर नेपाली जनतामाथि आक्रामण गर्न आफ्ना कार्यकर्ताहरुलाई आदेश दिई दिन्थे । ठीक त्यही बेला भारतले नेपालबाट राजतन्त्रको उन्मूलन गरेर आफ्नो स्वार्थ पुरा गर्ने मनसाय राखेर माओवादीलाई प्रयोग ग¥यो । त्यसैको फलस्वरुप भारतकै सहयोग र समर्थनमा २०६२÷६३ मा अर्को सहमति भयो । त्यो सहमतिले गर्दा नेपालबाट राजतन्त्रको अन्त्य गरियो । २०६२÷६३ को आन्दोलामा माग नभएको विषयलाई समेत अन्तरिम संविधानमा घुसाएर राजतन्त्रको अन्त्य, धर्म निरपेक्ष र मुलुकलाई संघीयतामा लैजाने निर्णय गरियो ।

अहिले यी तिनै विषयहरुकै कारण मुलुक संकटमा परेको छ । छिमेकीहरुको स्वार्थपूर्तिका लागि मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो । विश्वव्यापी सिद्धान्त अनुसार बहुमतको इच्छानुसार संविधान निर्माण र राज्य सञ्चालन हुनुपर्ने सिद्धान्तलाई उल्लंघन गर्दै नेपालमा बसोबास गर्ने झण्डै ९३ प्रतिशत भन्दा बढी जनताको भावनालाई कुल्चिएर नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो । मुलुकको एकताको प्रतिक रहेको राजसंस्थालाई जनताको मत बेगरै केही व्यक्तिहरुको स्वार्थका लागि हटाइयो । त्यसैगरी नेपाल जस्तो कठिन भुपरिवेष्ठित र भौगोलिक अवस्था रहेको देशलाई संघीयतामा लगियो । संघीयता भनेको आफैँमा महंगो व्यवस्था हो । फेरी विभिन्न टुक्रामा विभाजित भएका स साना राज्यहरुलाई मिलाएर एकै ठाउँमा राख्नका लागि संघीयताको आवश्यकता पर्दछ । त्यो विश्वव्यापी सिद्धान्त हो तर त्यसलाई पनि उल्लंघन गर्दै दलहरुले आ आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुको व्यवस्थापन गर्नका लागि संघीयताको मर्म विपरित मुलुकमा जबरजस्ती रुपमा संघीयता लागु गरिएको छ । त्यसैको परिणाम अहिले देखिँदै आएको छ । ्

नेपाल जस्तो सानो र कमजोर अर्थव्यवस्था भएको मुलुकको लागि अहिले संघीयता नै घाँडो सावित भएको छ । प्रदेशका नाम र प्रदेशको राजधानीका विषयमा जनतालाई विभाजित गरिएको छ । केही व्यक्तिहरुको स्वार्थ पूर्तिका लागि र सँधै नेता भईरहने चाहनाले गर्दा संघीयतालाई कमाई खाने भाँडोको रुपमा प्रयोग गरिएको छ । करिब ३ करोड जनसंख्या भएको मुलुकमा ७ वटा प्रदेश बनाइएको छ, ७५३ वटा स्थानीय तह बनाइएको छ । त्यसपछि संघीय सरकार रहेको छ । संघीयताको धर्म र मर्म विपरित संघीय सरकारले तल्लो तह, प्रदेश सभा र स्थानीय तहलाई आफ्नो प्रभावमा राख्ने प्रयास गरिरहेको हुनाले संघीयता मात्र होइन नेपालको संविधान नै अहिले संकटमा पर्दै गएको छ । हिजो एउटा राजा रहेका थिए भने अहिले ७६१ वटा राजा रहेका छन् । त्यसमा सत्ताधारी दलका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका सभापति पनि राजाकै हैसियतमा आफूँहरु रहेको आभाष जनतालाई दिईरहेका हुनाले संविधान संकटमा परेको छ । प्रदेश सभालाई आफ्नो प्रदेशको नाम र राजधानी दुई तिहाई बहुमतको आधारमा तोक्न सक्ने संविधानले व्यवस्था गरेको भएपनि प्रदेशसभा सभामुख र प्रदेश सरकारका मुख्यमन्त्रीले त्यो अधिकार प्रयोग गर्न नसकेर पार्टीका अध्यक्षहरुलाई नै त्यो अधिकार दिएका हुनाले संघीयता र संविधान केबल देखाउने दाँत मात्र भएका छन् ।

यी सबै कारणहरुले गर्दा र जनतालाई एकताको सूत्रमा बाँध्न पनि संविधान संशोधन गरेर संघीय सरकार र स्थानीय तहमात्र गरी दुई तहको सरकारमात्र बनाउनु उपयुक्त हुनेछ । सिंहदरबारको अधिकार गाउँ गाउँ र टोल टोलमा पु¥यायौं भन्ने राजनीतिक दलहरुले सिंहदरबारको भ्रष्टाचार गाउँ गाउँ र टोल टोलमा पु¥याएका छन् । भ्रष्टाचार नियन्त्रण र रोकथाम गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सत्ताधारी दलहरुले आफ्नो विपक्षीलाई तह लगाउने हतियारको रुपमा प्रयोग गरिरहेका छन् । ठुला ठुला भ्रष्टाचारका नाइकेहरुले अख्तियारबाटै क्लिन चीट पाउँदै गएका छन् यसरी भ्रष्टाचारलाई संस्थागत रुपमै तल्लो तहसम्म पु¥याइएको छ । हजार दुई हजार घुस खाने खरिदार र सुब्बासम्मका व्यक्तिहरुलाई पक्राउ गरी हिरासतमै राखेर कुटपिट समेत गर्न थालिएको छ । केही समय पहिला मालपोत कार्यालयका खरिद रामहरि सुवेदीले एक हजार घुस लिएको आरोपमा अख्तियारले पक्राउ ग¥यो । ४१ दिनसम्म हिरासतमा राखेर उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता गरियो, अदालतले उनलाई सफाई दियो तर सुवेदीले भ्रष्टाचारको आरोप खप्न नसकि आत्महत्या गरे । सुवेदीले आत्महत्या गरेपछि त्यसको जिम्मेवारी अख्तियार नेतृत्वले किन लिनु नपर्ने ?

पछिल्ला समयमा कोरोना भाइरस सत्ताधारी र उसका समर्थकहरुलाई कमाई खाने भाँडो र मनपरी गर्ने लाइसेन्स भएको छ । कोरोनानलाई देखाएर राजनीतिक दलहरुका गतिविधि ठप्प भएका छन् । जनताका समस्याको समाधान गर्ने थलोको रुपमा स्थापना गरिएको संसद बन्द भएको छ । पार्टीहरुका बैठकहरु बन्द भएका छन् । पार्टीका केही नेताहरु कोठे बैठक बसेर निर्णयहरु गर्दै त्यस्ता निर्णयहरु स्वीकार गर्न नेता तथा कार्यकर्ताहरुलाई बाध्य पारिएका छन् । जनताका समस्या समाधान गर्ने प्रयाससम्म न त सरकारले गरेको छ न त दलहरुले नै । राजनीतिक दलका काम कारबाही राष्ट्रको कोषबाट गर्न थालिएको छ । महत्वपूर्ण नियुक्तिहरुसमेत रोकिएका छैनन् । भागवण्डाका आधारमा नियुक्ति गरिने भएकाले सबै प्रकारका नियुक्तिहरुमा राम्रालाई भन्दा हाम्रालाई प्राथमिकतामा राखेर खरिद विक्रि गरिएको छ । यसरी राज्य सत्ताको दुरुपयोग गरी राजनीतिक नियुक्ति गरिनु र पार्टीको बैठकसभा, सम्मेलनहरुमा समेत राज्यकोषबाट खर्च गरिनु संविधान ऐन कानुन र जनतामाथि कै घात हो । कोरोनालाई देखाएर जनताका समस्याहरु सम्बोधन हुन नसकिरहेका बताइएता पनि जनताका समस्या बाहेकका सबै प्रकारका काम कारबाही सञ्चालन हुँदै आएका हुनाले सरकार एक प्रकारले अधिनायकवाद उन्मुख हुँदै गएको प्रमाणित भएको छ । यस्तो गलत प्रवृत्तिले गर्दा लोकतन्त्रकै उपहास भएको छ । सत्ताधारी दल र संघीय संसदको प्रमुख प्रतिपक्षी दल राजनीतिक नियुक्तिमा एकै ठाउँमा उभिएर भागवण्डाका आधारमा पदहरु बाँडफाँड गरिरहेका छन् के लोकतान्त्रिक चरित्र भनेको यहि हो त ?

सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्व मिल्यो अब हामी एक भयौँ भनेर कुर्लिने नेताहरु नै अहिले समस्या जहाँको त्यही रहेको छ भन्न थालिसकेका छन् । पार्टीका दुई अध्यक्ष मिल्दा सबै मिल्ने तर दुई अध्यक्ष नमिल्दा नमिल्ने यो कस्तो लोकतान्त्रिक अध्यास हो ? के नेपाल कम्युनिष्ट पार्टी भनेको केपीओली र पुष्पकमल दाहालमात्र हुन् कि अरु पनि छन् त ? कुनै बेला गिरिजाप्रसाद कोइराला भनेका नेपाली कांग्रेस र नेपाली कांग्रेस भनेको गिरिजाप्रसाद कोइराला भनिन्थ्यो । अहिले कम्युनिष्ट पार्टीमा पनि केपीओली र पुष्पकमल दाहालले त्यसैगरी आफूहरुलाई चिनाउने रणनीतिमा लागेका हुनाले सबैभन्दा ठुलो पार्टी भएको नेपाल कम्युनिष्ट पार्टी समेत संकटको भुमरीमा फस्दै गएको छ । सत्ताधारी दलका दुवै अध्यक्षहरु आ आफ्नो निहित स्वार्थ त्याग्न तयार नभएसम्म न त सरकारले नै राम्रो काम गर्न सक्छ न त पार्टी नै राम्ररी सञ्चालन हुन सक्छ । गएको प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा नेकपाले जनतालाई ठुला ठुला आश्वासनका पोकाहरु बाँडेको थियो । त्यही आश्वासनका कारण जनताले नेकपालाई बहुमत दिएका थिए तर अहिले आएर त्यही बहुमत बोकाको मुखमा कुझिन्डो जस्तो नेकपालाई भएको छ । निर्वाचनका बेला नेकपाका नेताहरुले आ आफ्नो निर्वाचन क्षेत्रमा प्रदेशको राजधानी बनाउने प्रतिवद्धता जनतासामू गरेका थिए, त्यही कारण अहिले प्रदेश नं. ५ को राजधानीको विषयमा सत्ताधारी र प्रमुख विपक्षी दलबीच अविश्वास बढेको हो । नेकपाका महासचिव विष्णु पौडेलले निर्वाचनमा बेला रुपन्देहीलाई नै प्रदेशको राजधानी बनाउने प्रतिवद्धता जनाएका थिए भने प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै जिल्ला दाङ्गलाई राजधानी बनाउने प्रतिवद्धता जनाएका हुनाले प्रदेशसभाबाट दाङ्गको भालुवाङलाई राजधानी बनाउने प्रस्ताव पारित भएको छ ।नेकपाका महासचिव पौडेल लगायत रुपन्देहीका प्रदेश सांसद असन्तुष्ट रहेका छन् । तर पार्टीका दुवै अध्यक्षले पोखरेललाई साथ दिएका हुनाले पौडेल पार्टीभित्रै एक्लिएका छन् । अर्थात अब पौडेललाई मन्त्री बनाएर शान्त पार्ने प्रयास गरिने पक्कापक्कीभएको छ ।

लोकतन्त्रमा शासक बलियो हुने खेलले लोकतन्त्रलाई नै कमजोर पार्दछ । शासक बलियो होइन जनता बलियो भएको खण्डमा मात्र लोकतन्त्रको भविष्य सुरक्षित हुन सक्छ । त्यसैले कमजोर शासक र बलिया जनता नै लोकतन्त्रको बलियो खम्बा हुन् । जनता शक्तिको स्रोत हुन् भने शासक वर्गले नबुझेको खण्डमा र आफूहरुले गर्ने गरेका सबै निर्णयहरु जनताले स्वीकार गरिदिनुपर्दछ भन्ने मान्यताबाट शासकहरु माथि उठ्न नसकेको खण्डमा लोकतन्त्रको भविष्य नै अन्धकारमा पर्न सक्छ । त्यसैले जनतालाई बलियो बनाऔँ, जनतालाई निरास बनाएर पार्टीगत र व्यक्तिगत स्वार्थमा लागेर जनतालाई वेवास्ता गरिने अहिलेको परिपार्टीलाई जनताको चाहनानुसार तत्काल सच्चाउनु आवश्यक छ । लोकतन्त्रको खम्बा भनेको जनता नै हुन् । पार्टीहरु नेता होइनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports