एयरपोर्ट बन्छ भन्नेहरुलाई भन्न चाहन्छु, यस्ता कुरा नगरौं आज बाट : मन्त्री आले
वि.सं.२०७९ जेठ २९ आइतवार १२:२६
shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाइसक्दा पनि कतिपय मन्त्रीहरुले सो विमानस्थल बन्छ भनेको प्रति आक्रोश पोखेका छन् ।
आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले निजगढ विमानस्थलमा रोक लगाउने फैसला गरेर न्यायपालिकाले कार्यपालिकामा हस्तक्षेप गरेको बताए । तर पनि कतिपय मन्त्रीहरुले निजगढ एयरपोर्ट बन्छ भनेकोमा उनले आक्रोश व्यक्त गरे । उनले भने, ‘आज कतिपय मन्त्री साथीहरुले निजगढ एयरपोर्ट बन्छ भनेका छन्, के दाँत फुकालेर गर्ने ? दाँत फुकालेर एयरपोर्ट बन्छ ?’
उनले बजेट पनि कम दिइएको गुनासो गरे । मन्त्री आलेले भने, ‘बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ ? तर हामीले २६ करोड बजेट पाएका छौं । उनले एयरपोर्ट बन्छ भन्नेहरुलाई भन्न चाहन्छु, यस्ता कुरा नगरौं आजबाट ।’
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियामा अहिले सम्म ३ खर्ब र सो विमानस्थलाई जोड्ने काठमाडौं–मधेश फास्ट ट्रयाकका लागि २ खर्ब खर्च भइसकेको भन्दै मन्त्री आलेले मधेसलाई राजधानी सँग जोड्न नचाहने गरी सर्वोच्चको फैसला आएको टिप्पणी गरे । उनले भने, ‘मधेसी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था देख्दैछु मैले । मधेसलाई राजधानी सँग जोड्न नचाहने ? मधेस माथि विभिन्न ठाउँबाट हस्तक्षेप भएको छ ।’




































