आज शनिवार थप घट्यो काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम
वि.सं.२०८३ मंसिर ५ शनिवार ०९:४७
shares

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।
शुक्रबार ८.७ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शनिबार) अरू तल गएको हो।नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका आज बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस देखिएको हो।
आजको वास्तविक एवं आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे मापन गरिने उनले बताइन्।त्यतिबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप थोरै घट्ने सम्भावना हुन्छ। यद्यपि कहिलेकाहीँ सुरुवातकै कायम रहन पनि सक्छ।यसअघि बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो।मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश खुला रहँदा घट्छ।
मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।मौसमविद्का अनुसार न्यूनतम (मिनिमम) तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम (म्याक्सिमम) तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ।
हाल दिनप्रतिदिन देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।



































