अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुन लागेको हो कि रक्षामन्त्रीको हैसियतमा भन्ने एमालेका सांसद ज्ञवालीको प्रश्न
वि.सं.२०७९ जेठ २९ आइतवार १२:५५
shares
dav
काठमाडौं ।प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् ।प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइ रहेका बताए । प्रधानमन्त्रीको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो भन्ने विषय संसदमा जानकारी गराउनुपर्ने उनले बताए ।
सत्तापक्षको एउटा घटकको प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउनु सामान्य नभएको भन्दै उनले भने, ‘सत्ता गठबन्धनमा रहेको असझदारी र विवाद मात्रै हो भनेर बुझ्ने या यो भ्रमण सँग जोडिएका केही अत्यन्त महत्वपूर्ण विषयहरु छन्, जससँग सत्ता घटकहरु बीच छलफल चलिरहेको छ र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो ।’
उनले अघि भने, ‘यो विषयमा सदन अनुत्तरित रहनु हुँदैन भन्ने मलाई लाग्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फ बाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।’ यस्ता गम्भीर प्रश्नहरुमा प्रमुख प्रतिपक्षलाई जानकारी गराउन वा परामर्श लिने सरकार छाडेको उनले बताए । उनले अघि भने, ‘भ्रमण राजकीय हो कि आधिकारिक हो ? कुनै अफिसियल या कुनै विजनेश लाइक हो त्यस सम्बन्धमा हामिलाई जानकारी छैन । यो विषय पनि मैले सदनमा रेकर्ड गराउन चाहन्छु ।’ देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुन लागेको हो कि रक्षामन्त्रीको हैसियतमा भन्ने प्रश्न समेत गरे ।




































