प्रधानमन्त्री देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित
वि.सं.२०७९ असार ५ आइतवार १०:४२
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् । अमेरिका बाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न समितिले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो ।
तर प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् । हिजो बेलुका सम्म आउने कुरा गरेको तर आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले आउन नभ्याउने भनेर जानकारी गराएको खरेलले बताइन् । आज बिहानभर पनि प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेर कोसिस गरेको तर नसकेको उनले बताइन् ।
गत शुक्रबारको बैठकले एसपीपी बारे प्रधानमन्त्री सँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बैठकमा सहभागी भएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका थिए । अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन पनि समितिले निर्देशन दिएको थियो ।







































