linktrix Long Ad
Salt Trading Long Ad

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशमा आज देखि विशेष प्रशिक्षण सुरू

702
shares

पोखरा ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशमा शुक्रबार देखि विशेष प्रशिक्षण सुरू भएको छ । पहिलो चरणमा पोखरा सहित नवलपुर, बागलुङ, स्याङजा र गोरखामा विभिन्न १४ खेलको विशेष प्रशिक्षण सुरू भएको हो । विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई २० दिन बन्द प्रशिक्षणमा सहभागी बनाएर नवौं संस्करणको राष्ट्रिय खेलकुदका लागि छनोट गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । तर, नवौं राष्ट्रिय खेलकुदमा अधिकांश खेलका खेलाडी भने मुख्य प्रशिक्षक बिनै प्रशिक्षणमा भाग लिनेछन् ।

३६ वटा खेल समावेश गरिएको नवौं राष्ट्रियमा मुस्किलले ५ खेलमा मात्रै आधिकारिक प्रशिक्षक रहेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले बताए । शुक्रबार पोखरामा विशेष प्रशिक्षण उद्घाटन कार्यक्रममा उनले नेपालमै प्रशिक्षक उत्पादमा ध्यान नदिइएकाले त्यसको असर गण्डकीले पनि व्यहोर्नु परेको सुनाएका हुन् । ‘नेपालले पनि धेरै खेलमा आफ्नै प्रशिक्षक उत्पादन गर्न सकेको छैन । गण्डकीमा झन् शून्यप्रायः छ,’ सदस्य सचिव गुरुङले बाध्यता सुनाए, ‘३६ वटा खेलमा ५, ६ वटा खेलमा मात्रै प्रशिक्षक छन् ।’

परिषद्का अनुसार गण्डकीमा फुटबल, भलिबल, टेकवान्डो, आर्चरी, पौडी, बक्सिङ, कुस्ती र क्रिकेटका मात्रै प्रशिक्षक छन् । बाँकी खेलका खेलाडी भने आफू भन्दा अग्रज खेलाडी र परिषद्ले तोकेका स्वयंसेवककै प्रशिक्षणमा भर पर्नुपर्नेछ । ‘प्रशिक्षक नै नभएपनि प्रशिक्षण गर्नैपर्ने हुन्छ । हाललाई स्वयंसेवक, सिनियर खेलाडी सँग एक प्रकारको सम्झौता गरेर सहयोग लिनुपर्ने आवश्यक छ,’ सदस्य सचिव गुरुङले भने । पुराना खेलाडी र स्वयंसेवक प्रशिक्षक बाट खेलाडीले प्रशिक्षण लिए पनि उनीहरुलाई प्रशिक्षण गर्न ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम प्रदेश खेलकुद परिषद्ले अघि सारेको छ । नवौं राष्ट्रिय खेलकुदको प्रशिक्षण गर्न तोकिएका व्यक्तिलाई प्रशिक्षण दिन परिषद्ले वरिष्ठ प्रशिक्षक सुशील नरसिंह राणालाई पोखरा निम्त्याएको छ ।

एथ्लेटिक्सका प्रशिक्षक राणाले पोखरामा २ महिना बसेर प्रशिक्षकसहित खेलाडीलाई प्रशिक्षण गर्ने परिषद्का सदस्य सचिव गुरुङले जानकारी दिए । ‘प्रशिक्षकलाई पनि प्रशिक्षणको आवश्यकता हुन्छ । त्यसैले उहाँ (राणा)लाई प्रशिक्षकहरुलाई प्रशिक्षण दिन यहाँ बोलाएका छौं,’ उनले भने, ‘उहाँले खेलाडीलाई मनोवैज्ञानिक सहयोग गर्नुहुनेछ, सिकाउनुहुनेछ ।’ नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषद्ले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने परिषद्का सदस्य तथा प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । ‘हामीले पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षण सहित सोझो छनोट गर्ने छौं । २२ वटा खेलहरुको जिल्ला छनोटको तयारी गरेका छौं,’ उनले भने ।

पहिलो चरणको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्यान्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल छन् । अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन हुने परिषद्ले जनाएको छ । विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट गरिने छ । दुई चरणको विशेष प्रशिक्षणपछि अन्तिम छनोट भने ‘स्टेट गेम्स’मार्फत गरिने प्रदेश खेलकुद परिषद्ले जानकारी दिएको छ । भदौ १५ देखि हुने अन्तिम छनोट खेललाई भव्य कार्यक्रम गरेर ‘स्टेट गेम्स’को रुपमा ‘ब्रान्डिङ’ गरी अघि बढाउने तयारी रहेको परिषद्ले जनाएको छ ।

भदौ १५ गते देखि सुरू हुने अन्तिम छनोट खेलमा ३ हजार भन्दा बढी पोखरा आउनेछन् । उनीहरुबाट ७ सय खेलाडी छनोट गरिनेछ । अन्तिम छनोट भएका खेलाडीहरु भदौ २६ देखि असोज २६ गते सम्म आवासीय सुविधा सहित बन्द प्रशिक्षणमा राखिने तयारी गरिएको परिषद्ले जनाएको छ । खेलाडी छनोट समितिका संयोजक तारामाया थापामगरले दोस्रो पटक गण्डकीमा फर्किएको राष्ट्रिय खेलकुद ऐतिसिक हुने विश्वास व्यक्त गरिन् । उनले आयोजकका हिसाबले मात्रै नभई तयारीका हिसाबले पनि गण्डकी सातै प्रदेश मध्ये उत्कृष्ट हुने दाबी गरिन् ।प्रदेश खेलकुद परिष्दका सदस्य सचिव तेज गुरुङका अनुसार ७ प्रदेश, ३ विभागीय र एक गैरआवसीय गरी ११ टिम प्रतियोगितामा सहभागी हुनेछन् । प्रत्येक टिमका खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी ८ हजार भन्दा बढी पोखरा आउनेछन् । ‘सातौं र आठौंमा भएका गल्ती समेत नदोहोर्‍याउने गरी हामी तयारी गर्दैछौं,’ उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports