नेपालमा गठबन्धनको प्रक्रिया सुरु भयो : झलनाथ खनाल
वि.सं.२०७९ असोज १ शनिवार १५:४९
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालमा गठबन्धनको राजनीति सुरु भएको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले नेपालमा गठबन्धनको राजनीति लामै समयसम्म जाने बताए । ‘नेपालमा गठबन्धनको प्रक्रिया सुरु भयो । यो लामै समय जारी हुन सक्छ । किनभने एकल बहुमत ल्याउँछु भन्ने कुरा दुर्लभ हुन्छ । हामीमा बहुमत ल्याउँछु भन्ने आकांक्षा छ । तर व्यवहारिकतामा निकै कठिन छ’ उनले भने ।
नेता खनालले अघिल्लो निर्वाचनमा वाम गठबन्धन गर्दा मुश्किलले दुई तिहाइ नजिकको बहुमत ल्याएको तर त्यो संयोग मात्र भएको बताए । उनले गठबन्धन प्रति नकारात्मक हुनुपर्ने कुनै कारण नरहेको पनि बताए । ‘गठबन्धन सँग नकारात्मक हुनुपर्ने, यो गठबन्धन ! भनेर अर्कै ढंगले हेर्नुपर्ने छैन, कोही राप्रपा सँग गठबन्धन गर्छन्, कोही कांग्रेस सँग गर्छन्’ उनले भने, ‘कोही राजतन्त्रवादी सँग गर्छन्, कोही गणतन्त्रवादी सँग गर्छन्, गठबन्धन त सबैले गर्छन् ।’
आफूले वामपन्थी मिलेर जाने प्रस्ताव गरेको तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण सम्भव नभएको खनालले बताए । ‘मैले त भनेको थिएँ वामपन्थी मिलेर जाऔं । तर वामपन्थी भन्ने, सबैभन्दा ठूलो पार्टी हौ भन्ने नेताहरु नै एकताको पक्षमा छैनन्, एकता को सँग गर्छन् भन्दा राजतन्त्र वादी सँग । त्यो खालको चिन्तन छ’ उनले भने । नेता खनालले अहिलेको पाँचदलीय गठबन्धन गणतन्त्रवादी गठबन्धन भएको बताए ।





































