चेत मरेका विचेत छन्, विवेक मरेका पशु हुन्
वि.सं.२०७९ असोज २७ बिहीवार ११:१५
shares

राजन कार्की
चेत मारेर बिचेत भएकालाई मरेको भन्ने कि बाँचेको ? ढलेको रुखको मुढो र चेत हराएर बिचेत मान्छेमा के नै भिन्नता हुन्छ र ?
मान्छे भएपछि विवेक हुनैपर्छ । सहीलाई सही र गलतलाई गलत भन्न नसक्नेहरुको भीड छ देशमा । यो भीड मान्छेको हो कि पशुको हो खुट्याउन र छुट्याउन मुस्किल छ । किनकि थाहा छ गलत भइरहेको छ, बोल्दैन । बोल बोल मछली मुखभरि पानी गरेर बस्छ । त्यस्तो मरेको विवेक के काम ?
विवेकको प्रयोग हुनसकेन, चेतको उपयोग पनि भएन । यसकारण त भूभाग छ, जनता छन्, सार्वभौमिकता पनि छ, सरकार छ, विधि छ तर जिवन्त केही पनि छैन । सबै मरेतुल्य छन् । देश मूर्दाघरजस्तो लाग्छ । मूर्दाघरमा मूर्दाशान्ति हुन्छ । नेपालको लोकतान्त्रिक नामधारी शासन पद्धतिमा हुनुपर्ने सबे गुण छन् तर सजाउने प्लास्टिकका फूलजस्ता । देश जिवन्त छैन । शासक र देशवासीमा जीवन देखिदैन ।
देश ज्वालमुखीमाथि उभिन पुगेको छ । यो ज्वालामुखी पड्कियो भने निस्कने लाभाले विदेशी लाभान्वित हुनेछन्, नेपाल र नेपाली कङ्गाल हुनेदिन पर देखिदैन । यसकारण हामीमा चेत र विवेक देखिनुप¥यो । चेत जाग्नैपर्छ, विवेक बोल्नैपर्छ । झकझक्याउनेहरु सबै मौन छन् जुन खतरनाक संकेत हो ।
राजनीतिले बाटो बिरायो । राजनीति व्यवसाय बन्यो । पद पाए संविधान, नपाए अराजकता फैलाउनेहरुले लोकतन्त्रलाई गाईजात्रा नै बनाइदिए । राष्ट्रियता, भाषा, भेष, नागरिकता मजाक हुनसक्छ ? तर भयो । भइरहेछ । राष्ट्रिय नीति निर्माण गरेर सबै राजनीतिक दलहरुले त्यसमा प्रतिवद्ध हुन नसक्नु ठूलो कमजोरी हो । नेपालको राष्ट्रियतामाथि अनेकानेक तरिकाले हमला भइरहेको छ, न हामीमा चेत, न विवेक देखिन्छ ? मरेकाले विरोध र विद्रोह कहाँ गर्न सक्छन् र ?
राजनीतिमा राष्ट्रप्रतिको सोचमा, लवाई खवाईमा, रहनसहनमा, विधिव्यवहारमा त्यस्तो नेपालीपन नदेखिदा अराजकता बढ्दै गएको हो । नेपालीत्वमा खिया लाग्नुमा नेपाली नेताहरुको ख्यालठट्टा जिम्मेवार छ । अन्यथा नेपालको संस्कृति र परम्परा यति धनी छ कि विश्व समुदाय लालायित हुनेगरेका अनेक उदाहरण छन् ।
वीरका गाथा इतिहासमा सिमित रह्यो । जनयुद्ध, जनआन्दोलनका घटना रोमाञ्चक कथामात्र रहे । इतिहासका घटनाक्रमलाई घोडा चढेर केही प्रभावशाली नेताहरु सत्ता र शक्तिको कमोत गर्न चाहनु भनेको सेक्सपियरको नाटकमा ब्रुटालिटीको सम्झना हुन्छ । हाम्रो लोकतान्त्रिक राजनीतिक फाँटमा राजनेता बन्नुपर्ने व्यक्तिहरु जनचाहना, जनइच्छा, राष्ट्र र राष्ट्रिय एकताका लागि ब्रुटसको ब्रुटालिटी बनिरहेका छन् । एकजना पनि राजनेता जन्मन नसक्नु भनेको राजनीतिकै दुर्भाग्य हो ।
राजनीतिले इमान र नैतिक पाठ पठाउन सकेको भए राजनेता जन्मने थिए । सिकाएको पाठ भनेको दूराचार, विभेद, भ्रष्टाचार, अनैतिकतामात्र छ अनि कसरी राजनेता जन्मन्छ ? सिस्नाको घारी रोपेर दूवो उम्रदैन ।
शेरबहादुर भएर के भो ? प्रचण्ड आएर के भो, ओलीले भाषणको गोली छाडेरै के भो ? माधव र उपेन्द्र यादवले पार्टी फुटाए, हात लाग्यो शून्य । देउवाको उदय भएर कांग्रेसले समाजवाद तिखारेको देखिएन । उनले त कम्युनिष्टमा मलजल गरिरहेछन् । गाईको पूजा गर्ने राप्रपा र गाई काटेर खान पाउनुपर्छ भन्नेको माइतीघर मण्डलामा प्रदर्शन भयो र सेलायो । धर्मनिरपेक्षतावादी राप्रपा र हिन्दूवादी राप्रपा, संविधानवादी प्रचण्ड र देउवा, विभेद भयो भनेर कुर्लने जनजातिहरुले अब जातीय हिंसा फैलाउने र संविधान विभेदकारी हो भनेर प्रमाणित गर्ने अराजकता राष्ट्रिय एकताका लागि खड्गो थियो, खड्गो छ, यो खड्गो कुन बेला खड्ग बनेर रक्तपात मच्चाउँछ भन्न सकिन्न । मंसिर ४ को चुनावलाई दृष्टिगन गरेर नेपालमा यस्तै अनपेक्षित रसायनशास्त्रको राजनीति सुरु भयो जस्तो लाग्छ । किनकि संविधानका पालक अराजक बन्न थालेका छन् । जो अराजकतावादी हुन् ती घीउ थप्दैछन् । जो जेल जानुपथ्र्यो, ऊ सत्तामा पुग्छ । निर्विरोध महिना दिन अघि नै चुनाव जित्छ । जो जेलमा सड्नुपथ्र्यो, अदालतले चोख्याउँछ । जो सत्तामा पुग्नुपथ्र्यो, ऊ धुलिसात भइरहेको छ । यस्तो राजनीति लोकतन्त्र, दिगो शान्ति स्थापनाका निर्णायक हुनसक्ने थिएन । भएन । आउने दिनमा पनि हुने लक्ष्यण देखिदैन । किनकि दिनको मौसमको हाल विहानले बताउँछ ।
राजनीतिक दलहरुलाई सडकदेखि संसदसम्म, सिंहदरवारदेखि सर्वोच्च अदालत, संवैधानिक अंग, प्रशासनसम्म जताततै राजनीति फलाउनु फुलाउनु छ । राजनीतिकरण गर्नसके महारथ प्राप्त हुने यिनको धारणा कति गलत छ भने नेपालबाट समानता, समानुपातिक, न्याय र कानुन व्यवस्थासमेत तमासा बनेबाट प्रष्ट भइसक्यो । जता हे¥यो उतै राजनीति, राजनीतिक अनियमितता । अनियमितताको हाँगो समातेपछि जे पनि सम्भव हुने तन्त्र लोकतन्त्र बन्यो । दीपक मनाङ्गे लोकतान्त्रिक निर्वाचनको पहिलो राष्ट्रिय सहमतिको बिजेता, सक्किगो नि ।
आज पनि ठूला दलहरु दिग्भ्रमित छन् अथवा राजनीतिक स्वार्थप्रेरित भएर थाहा नभएजस्तो गर्छन । विधिमा चलौं, विधि स्थापित गरौं, लोकतन्त्र मजबुत पारौं भन्ने कोही छैनन् । सबैलाई सत्ता चाहिएको छ । लोकतन्त्र भनेको अनुशासन र विधि हो भन्ने कुनै नेताको भेजामा घुस्नै सकेन । गिदी हुने ठाउँमा लिदी भरिएको भनेको यही हो ।
१५ वर्षदेखि जे चलिरहेको छ, त्यो मनलागी शासन हो । ती सबै अशान्तिको बीउ र निहुका कारक बनेका छन् । लोकतन्त्रमा लोकको भलो, राष्ट्रको भलोभन्दा अर्को उद्देश्य नै नहुनुपर्ने हो । राष्ट्रसंघका १ सय ९२ सदस्यमध्ये २८ राष्ट्रमा संघीयता छ, तिनमा कति सफल, कति असफल त्यसको पनि लेखाजोखा गरिएन र नेपाललाई संघीयतामा लगियो । बजेट भन्दा बढी विदेशी ऋण छ, त्योभन्दा बढी बैदेशिक व्यापार घाटा छ । ५ वर्षमा संघीयताबाट केही निस्केन, बालुवा सावित भयो । तैपनि हामी संघीयताको माला जपिरहेछौं । संघीयता पूर्णतः असफल भइसकेपछि पनि पन्चर भएको गाडी घिसारेझैं घिसारिएको छ । यो झिकिदे गाँड भन्दा थपिदे गाँड भयो ।
लोकको सम्मान आर्जन गर्न नसक्ने कायरहरुको राज लोकले कहिलेसम्म सहिरहने हुन् ? हुन त कुनै बेला भद्रकाली मिश्र थिए जसले नेपालमा भारतीय सेना भित्र्याए । क्याविनेटमा राजदूत बस्थे, क्याविनेट सचिव भारतीय प्रतिनिधि हुन्थ्यो । ती दिन छिमोल्दै स्वतन्त्रताको महल बनाएको राजतन्त्रको निरंकूशता फाल्ने आवरणमा राजतन्त्र नै फाल्नेहरुले अव मुलुकै फाल्छन् कि भन्ने भय फैलिन थाल्यो । शेक्सपियरको नाटकको ब्रुटसलेजसरी षडयन्त्र गरी गरी सिंहलाई मारेर स्यालहुइयामा चलेको देश बन्यो नेपाल ।
जनता सतर्क नहुने हो भने जे पनि हुनसक्छ । नेपाल रेड जोनमा परिसक्यो ।
हरेक नेपालीको मनमा छ– राणा शासन र लोकशासनमा के भिन्नता आयो र खोई ? नेता र तिनका आसेपासेलाई रमाइलो, अरुलाई दुःखपीडा, डाहा छटपटी । विकारै विकार भरिएको गिदी भएकाहरु शासनमा पुग्ने रहेछन्, बाँकी जनताको शोषणमा जुट्ने रहेछन् । यस्तो बेहाल, बेथिति त राणाशासनमा पनि थिएन, जो अहिले व्याप्त भएको छ ।
यी दलहरु युनानी वियोगान्त नाटका पात्रहरुझैं ननास्सियुन् ? महाभारत युद्धमा यदुवंशी सिद्धिएफैं नसिद्धियुन् । किनभने हाम्रा नेताहरु कलहको बीउ दिनदिनै छरिरहेका छन् । देशमा विदेशीको परेड खेलाइरहेका छन्, हैकम र हुकुमको शक्ति दिदै गएका छन् । सिंहदरवार दिल्ली र वाशिङ्टन सारेपछि के हुन्छ ? परिणाम देखिन थालिसक्यो । सत्ता स्वार्थको स्वार्थका पुतला बनेर विदेशीको लहैलहैमा चलिरहेकाहरु सोचुन्– देशै नरहे कहाँ राजनीति गर्ने ? यत्ति पनि बुझ्दैनन् भने यस्ताले आउने पुस्तालाई के देलान् ? यसकारण लोकले निर्णायकत्व चलाउने यही निर्वाचनको मतदानमै हो ।

































