विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तीन दिनपछिको चुनावले देश जोड्ला कि तोड्ला ?

741
shares

 

 

राजन कार्की

मंसिर ४ गतेको संघीय र प्रदेशको चुनावले देश जोड्ला कि तोड्ला ? यो प्रश्न यसकारण पनि महत्वपूर्ण छ कि देश भनेको जनता हुन् । जनतामा हौसला छैन । जनतालाई पार्टी पार्टीमा विभाजन गरिएको छ । युवा जमातलाई निकासी गरिएको छ । बृद्धहरुलाई भत्ताको लोभ देखाइएको छ । जो बाँकी मतदाता छन् तिनलाई फ्रीभिसा, फ्री टिकटमा विदेश पठाइदिनेदेखि लिएर अनेक लोभलालसा देखाइएको छ ।

आममतदाता गरिखाने बर्गका असहाय छन्, तिनलाई मासुभात, पैसादेखि अनेकन लोभलालसा देखाइएको छ । यहाँसम्म कि सुकुम्वासी समस्या आफै बढाउने अनि जग्गा बाँडिने सपना देखाइएको छ । अर्थात् यो निर्वाचनमा राष्ट्र कसरी एकतावद्ध पार्ने, राष्ट्रियनीति बलियो पारेर समृद्धी र शान्ति कसरी स्थापित गर्ने, रोजगारी बढाउनेदेखि उद्यम खोल्ने कुनै पनि एजेण्डा पार्टी वा उमेदवादरसँग छैन ।
१२६ जातिको नेपाललाई तोड्ने कुरा बढी भइरहेको छ । यतिमात्र होइन, शक्ति राष्ट्रहरुको चलखेल गर्ने तनावक्षेत्र पनि नेपाल बनिसकेको छ । उत्तर र पश्चिमा खुलेर मोर्चा कसेका छन् भने उत्तरका विदेशमन्त्री चुनावका मुखमा गोप्य भ्रमण गर्छन् र जान्छन् किन ?
यसको अर्थ भूराजनीतिमामात्र होइन, नेपालको चुनावसँगसमेत शक्तिराष्ट्रहरु जोडिएका छन् । यसरी आन्तरिक राजनीतिमा शक्तिराष्ट्र जोडिनु भनेको नेपालको आत्मरक्षा, स्वराजको क्षमता ह्रास हुनु हो । नेपाल आफ्नो निर्णय गर्नसमेत पराइको इसारा कुर्नुपर्ने अवस्था आउनुले नेपालको अस्तित्व संकटमा पर्दै गएको आहट हो । यसको महगो मूल्य राष्ट्रले चुकाउनु पर्ने निश्चित छ ।
३ दिनपछि अर्थात चुनाव नजिकियो, खोटा सिक्काजसता नेताहरू आत्तिएका छन् । चुनाव हारिन्छ कि भन्ने भयले संसदीय मर्यादासमेत लाघेर चिच्याउन, कराउन थालेका छन् । बिगत १५ वर्षमा जनताको कुरा सुनेको भए, जनताप्रति जवाफदेही भएको भए यसरी आत्तिनुपर्ने थिएन । जसरी पनि जनादेश लिने र जनतामाथि अत्याचार गर्ने बानी परेका गैंडाका छालाजस्ता नेताहरूलाई जसरी पनि चुनाव जित्नुछ । यिनलाई देश र जनताको कुनै चिन्ता छैन, चिन्ता छ त सत्ता, शक्ति र प्रभावको छ । त्यसैले करोडदेखि अर्वसम्मको चलखेल गरेर भोट किन्ने, चुनाव जित्ने रणनीतिमा नेतृत्व लागेको छ ।
निश्चित छ जति बढी खर्च गर्छन्, चुनाव जितेपछि त्यो पैसा असूल्नतिर लाग्नेछन् । अर्को चुनावका लागि पैसा जम्मा गर्नेछन् । अर्थात्, हुने भ्रष्टाचार नै हो । विधिको शासन भनेको त भाषण गर्ने विषयमात्र हुनपुग्यो । समृद्ध नेपाल, सुखी नेपाली भन्ने यिनको नारा चुनाव जित्न छर्ने भ्रमजालमात्र हो ।
हरेक पार्टी र नेताले घोषणापत्र बोकेर घरदैलो पुगेका छन् । मतदाताको खुट्टा ढोग्नेदेखि मतदाताको खेतबारीमा काम सघाउनसम्म पुगेका छन् । ५ वर्षसम्म जनतालाई बेवास्ता गर्नेहरु चुनावका बेलामा मतदाता रिझाउन पुग्नु भनेको फेरि पनि मतदातालाई उल्लु बनाउने खेलोमात्र हो । यो कुरा मतदाताले बुझेका छन् । यसकारण पनि उमेदवारहरू चुनाव जितिन्न कि भन्ने विषयले भयभित हुनपुगेका छन् ।
सबै टल्कने वस्तु सुन हुँदैनन् । यो कहावत नेपाली राजनीतिमा ठ्याक्कै मेल खान्छ । जनयुद्ध अथवा जनआन्दोलनमा निकै टलकदार देखिएका हाम्रा नेताहरू १५ वर्षमा खोटा साबित भए । एकजना पनि राष्ट्रले देख्ने सुन्ने नेतृत्व छैन । परिवर्तनपछि खिया लाग्दै गएको नेतृत्व अब त बेकम्मा, निकम्मा भयो भन्दा हुन्छ । किनकि कुनै नेताप्रति जनविश्वास नै छैन । हो, चुनाव आयो, जनताले मतदान गर्छन् । तर यो राम्रो उमेदवार भनेर मतदान गर्ने वातावरण अझै छैन । नो भोटको अथवा चुनाव जितेर गैरजिम्मेवार हुनेलाई रिकल गर्ने व्यवस्था पनि छैन । मेसिनबाट मतदान गर्ने व्यवस्था यिनैले गरेनन् किनकि जालझेल गर्न पाइन्न भनेर । मात्र परिवर्तनका बाहक हौं भनेर भाषण गर्ने र अस्वस्थ प्रतिस्पर्धा गरेर भए पनि चुनाव जित्ने यिनको मुख्य उद्देश्य रहेको छ ।
अचम्म त के छ भने पहाड वा तराईका किनारतिर गएर सोध्यो भने तिनले एकदुई नेताको नामबाहेक केही थाहै छैन । तिनले जानेको कुरा भनेको चुनाव आयो, केही पैसा पाइन्छ, मिठो खान पाइन्छ भन्ने मात्र हो । चुनाव भनेको के हो ? चुनावमा दिने मतको महत्व कति छ, यसबारेमा उचित संचेतनाको अभाव छ ।
हुन त दीपक मनाङ्गे सर्वसम्मत जितेपछि राजनीतिक दलहरूकै ओजन थाहा लाग्छ । बाँकी जनताको कुरा के गर्नु र ? छल गर्नु राजनीतिक उद्यम हो । राजनीति व्यवसाय बनेको छ । नेता जनतालाई छल्छन्, प्रशासक कानुनलाई छल्छन्, उद्यमी व्यापारी भ्याट, कर ठग्छन् । अदालत न्यायको नौसिङ् देखाउँछन् । ०६३ सालपछिका दिनमा आ–आफ्ना सख्य र पहुँचले सकेजति लुट्ने क्रम तीब्र गतिले बढ्नुको कारण छलनीति हो । इमानको खडेरी हो ।
आफूले दायित्व पूरा गर्न नसक्दा अराजकता बढ्यो भन्ने लज्जावोध कुनै नेताको अनुहारमा देखिदैन । उनीहरु नै चम्किरहेका छन्, रित्तो भाँडो बजेझैं बजिरहेका छन् । शायद यस्तै परिस्थितिलाई मध्यनजर राखेर उखान बनेको होला– नङ्गा नाचे हजार दाउ । मंसिर ४ को निर्वाचन पुराना नेताहरूको नङ्गा नाच बढी हो ।
राजनीतिक नेतृत्वमा क्षमता हुन्छ, उदारता, गतिशीलता र दूरदर्शिता हुन्छ । त्यस्तो गुण भएका नेतालाई राजनेता मानिन्छ । ०६३ सालमा निरङ्कूशता चाहिदैन भनेर जनताले परिवर्तनमा साथ दिए । तिनै जनताका लागि लोकतन्त्र कौवालाई बेल पाकेसरह भयो । नेताका लागि लोकतन्त्र बाँदरको हातमा नरिवल बनेको छ ।
लोकतान्त्रिक वसन्त आयो, नेता र तिनका आफन्तजनलाई आयो । चोर डाँकालाई आयो, भ्रष्टलाई आयो, गुण्डा माफियालाई आयो । लोकले वसन्त देख्न पाएनन् । लोकले देखेको भोगेको अराजकता हो । यो चुनावपछि पनि उही मिलिजुली सरकार, सेटिङ र भागशान्ति सरकार आउने हो । स्थिरता र विकास केही हुनेवाला छैन । भ्रष्टाचार झन बढ्नेछ । अर्थात् नेपाल श्रीलंकाको जस्तो आर्थिक अराजकताको सिकार हुने जोखिम बढी छ । नागरिक समाज, बुद्धिजीवी, थिङ्क टेंक सबै तमासा हेरेर बसेका छन् । जुन दुर्भाग्यजनक स्थिति हो । यो चुनाव आशीर्वाद होइन, सराप बन्नेवाला छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports