kumari
stcnepal

श्रीलंका र राजापाक्ष नहुने हो भने…

 

राजन कार्की
श्रीलंकामा राजापाक्षले चुनाव जिते, अहंटक राज्य चलाए । राज्यका मुख्य मुख्य अङ्गमा आफ्ना नातेदार भर्ती गरे । सिङ्गो श्रीलंका राजापाक्षको आदेशमा चल्न थाल्यो । महेन्द्र राजापाक्षको उदय र पतनको राजनीतिक इतिहास नेपाली नेतृत्वका लागि पाठ हुनसक्छ । के कसरी सत्तामा पुग्न सकिन्छ र सत्तामा पुगेपछि कुन हदसम्म मनलागि गर्दा जनता आक्रोसित हुन्छन् र कसरी फोहर टिपेजसरी टिपेर फाल्छन् ? जनतामाथि अत्याचार गर्ने र देशमाथि घात गर्नेले ज्यान बचाउन कति हम्मे हम्मे पर्छ ? ज्यान बचाउनकै लागि देशसमेत छाडेर भाग्नुपर्छ भन्ने ज्ञान श्रीलंकाबाट लिन सके नेपाली नेतृत्व सफल हुनसक्छ ।
यद्यपि बिगत १५ वर्षदेखि नेपाली नेतृत्वले जेमन्त गरिरहेकै छ । राष्ट्र र पद्धतिलाई नाली बनाइसकेको छ । त्यसको सानो झिल्को मंसिर ४ को निर्वाचनमा जनमतका माध्यमबाट जनताले देखाइदिएका छन् । यो खबरदारी हो । अझै पनि नचेत्ने हो भने श्रीलंकामा राजापाक्षको जुन हविगत भयो, नेपाली नेताको पतन त्यही तरिकाले हुनसक्छ ।
नेता असफल भए केही छैन, देश असफल हुनुहुन्न । देश असफल भयो भने त्यसको महगो मूल्य जनताले चुकाउनु पर्छ । यसकारण जनताको संचेतनाले देश बाँच्छ । स्वाभिमानीले स्वाभिमान देखाउँदा देश अगाडि बढ्छ ।
नेतालाई जन्मेको माटोभन्दा लाहुरको बढी चिन्ता लाग्छ होला ? आम लाहुरेले जन्मेको माटो बिर्सिए, सिद्धान्त बिर्सिए । नेता लाहुरेहरु त स्वदेशलाई भन्दा लाहुरको बढी चिन्ता गर्नपुगे । यसकारण त यिनलाई चुच्चे नक्सा दुख्दैन, नेपाली माटो सस्तो लाग्छ, नेपालीपनमा भन्दा बढी विदेशी स्वार्थमा लुटपुटिन रमाइलो लाग्छ । यसकारण नेपाल नेपाल कम, हाइटी, अफगानिस्तान, श्रीलंकाको बाटो गएको छ । यो निर्वाचनमा त सिद्धान्तको हदैसम्मको पतन देखियो ।
यी लोकतन्त्र सफल भयो भन्छन्, लोक विदेशीन बाध्य छ, मान्छे बेचेर लोकतन्त्र सफल भयो भन्नेहरू गजडी हाँसो हाँसिरहेका छ्न् ।
१२ बुँदे दिल्ली सम्झौतापछि नेपाल कहाँ थियो, कहाँ पुग्यो ? अझै पनि राजनीतिक नेताहरूले बहस नगर्ने ? पहिले सिपाहीहरू लाहुर जान्थे, पछि रोजगारी खोज्दै लाहुर जान थालियो । लोकतन्त्र आएपछि त खाडीदेखि ७२ मुलुकमा नेपाली लाहुरेहरु भेटिन्छन् । अवसरको खोजी, गाँसवासको बन्दोवस्त गर्दै लाहुर जाने भीड हरेक दिन एयरपोर्टमा देख्न सकिन्छ । लुकेर लुकाएर लाने मान्छेका व्यापारीहरू मान्छे बेचिरहेकै छन् । नेपाल मान्छे बेचिने बजार बन्यो । लाहुरे लोकतन्त्रले देशै असफल पार्देछ ।
लज्जा पनि लज्जित हुनेगरी लोकका नेता कति नाङ्गिन सकेका ? जय नेपाल, लाल सलाम भन्नेहरुले लगौंटी पनि बाँकी राखेनन् । सहारा र सल्लाहका लागि वर्षको चालिसचोटी दिल्ली वा लैनचौरदेखि वाशिङ्टनमा छलाङ्ग लगाउनेहरुले घुमाएर कान समाएको शैलीमा अव ‘जय हिन्द’ ‘यस सर’ नै भन्न थाले । लाग्छ, लोकतन्त्रवादी नामधारीहरूले अरु केही जानेकै छैनन् । यिनको लोकतन्त्र एक्सप्रेसको गति–मतिको बेगले नेपालीत्व सखाप हुँदैछ । गौरवपूर्ण नेपाल हाइटीजस्तो असफल राष्ट्र बन्दैछ ।
जनयुद्ध गरुन् कि जनआन्दोलन, लोकतन्त्र भनुन् कि समाजवाद, यिनले कहिले विश्लेषण गरेनन्, नेपालको खास समस्या र समाधान के हो ? यिनलाई जहिले पनि स्वार्थको लुते धन्दाले पिरोलिरह्यो । त्यसैले त यिनले बनाएको संविधान यतिबेला न्याय नपाए गोर्खा जानु भन्ने राम शाहको नामकै रामशाह पथमा बलात्कृत भइरहेको छ । नारीदेखि संविधानसम्म, शासनदेखि व्यवस्थासम्म सबै बलात्कारको सिकार भइरहेछन् ।
स्वीट्जरलैण्डको प्रतिव्यक्ति आय ३० हजार डलर छ, सिंगापुरको २५ हजार । स्वीट्जरलैण्ड र सिंगापुरजस्तै साधन स्रोत सम्पन्न देश नेपालीको प्रतिव्यक्ति आय ३ सय पनि छैन । ८० प्रतिशत जनता एकछाक भोकै बस्छन् भन्दा नेताहरुलाई हीनताबोध हुँदैन । हिजो कृषि प्रधान देश थियो, त्यसपछि हरियो बन नेपालको धन भनियो । राजनीति र कूशासनको भ्रष्टाचारले कृषि र बन धरासायी भएपछि प्रकृति र पर्यटनलाई नेपालका लागि बरदानको आधार मानियो । जनयुध्द र अस्थिरताको प्रहारले राष्ट्र छिया–छिया भएपछि जलस्रोतलाई सेतो सुन भनिदैछ । यो सेतो सुनबत्ती नेपालीले १२ रुपैयाँ युनिटमा बाल्छन्, ४ रुपियाँमा भारत निकासी हुनथालेको छ । यो कस्तो विकास हो ? यसअघि नेपालले लोडसेडिङ हटाउन भारतबाट प्रतियुनिट १० मा खरिद गरेको थियो । किन्दा प्रतियुनिट १०, बेच्दा ४ । यति ठूलो शोषण ? नेपाल किन यसरी भारतका सामु चाउरिन पुगेको ? स्वाभिमान भन्ने किन कुनै नेतामा छैन ?
२००८ सालमा कोसी, २०१६ सालमा गण्डकी, २०५१ सालमा महाकाली, २०५२ सालमा मेची र २०६३ सालपछि कर्णाली र सेतीजस्ता ठूला–ठूला नदीनालामा भारतको हैकम स्थापित गर्नपुग्यौं । भूपू प्रधानमन्त्री डा.बाबुराम भट्टराई भन्छन्– बुढी गण्डकीमा ओली, प्रचण्ड र माधव नेपालले ३ अर्वका दरले घूस खाए, प्रमाण मसँग छ । प्रमाणित नभए झुण्डिएर मर्छु । तर कुनै कानुनले तिनलाई छुँदैन । किन ? यही हो लोकतन्त्र ? कहाँ छ जवाफदेहीता ?
जलस्रोतमा ब्राजिलपछि विश्वको दोस्रो धनी देश नेपाल भारतबाट विद्युत आयात गरेर लोडसेडिङ् घटाउने बाध्यतामा थियो, बिस्तारै उत्पादन हुनथालेको छ । भारतलाई ३ रुपियाँमा जल बेचेर १० रुपियाँ युनिटमा जनशक्ति खरिद गर्ने निर्णयमा पुग्नु नेपाली नेतृत्व क्षमताको उपहास थियो, अहिले त्यही उपहास दोहोरिएको छ ।
कहिल्यै उपनिबेश बन्नु नपरेको नेपाल ‘बहादुर’ ‘कान्छा’बाट ‘आतंककारी’, ‘गार्ड’ र ‘कमारो’ ‘दास’ बन्दै ‘रेमिटान्स अर्थतन्त्र’को हाइटी स्तरमा झरिसकेको छ । हाइटी भनेको त्यो देश हो, जहाँका जनताले दुभालियरजस्ता भ्रष्ट नेता र उनका आज्ञाकारी प्रशासकहरुलाई शोषण गर्न र निरङ्कूशतन्त्र चलाउने मौन छुट दिएका छन् । त्यो हाइटी र यो नेपालमा आखिर फरक नै के बाँकी छ र ? न्याय दिने न्यायालय जो सडकमा नाङ्गेझार छ ।
लोकतान्त्रिक गणतन्त्र नेपाल टिनको पातामा लेखेको साइनबोर्डभन्दा बढी केही रहेन । हिजो इमान र योग्यताको कदर भएन, आज पनि बेइमानहरुको रजगज चलिरहेको छ । ९३ प्रतिशत बिपन्न, कमैया, कमलरी, सुकुम्बासी, बेरोजगार, असहायहरुलाई सपनाको व्यापार गर्ने सस्तो लोकतान्त्रिक बजार हो नेपाल । यहाँ सपना बेचेर कानुनको घोडा चढ्न सकिन्छ । जयप्रकाश मल्लले वर्षको एकपल्ट गाईजात्रा देखाएर शोकमा परेकी महारानीलाई मनोरञ्जन दिने गर्थे, हाम्रा नेताहरुले बाह्रैमास गाईजात्रा देखाइरहेका छन् । हामी गाईजात्रे, हाम्रो देश गाईजात्रे, लोकतन्त्र– अर्को गाइजात्रा हो । मध्ययुगीन तमासाहरू एकपछि अर्को देखिदैछन् । मान्छेले मान्छेको अपमान गर्नु सामान्य हुन थालेको छ । जनता मतदान गर्ने मेसिन बनेका छन् । नेता तिनै जनबल र जनमत दिने जनताको रगत पिउने जुकाजस्ता लाग्छन् । बिदेशी शक्तिले उभ्याइएका यी बुख्याँचाहरु जनतालाई तर्साउछन् र आफू अनुकूलको लोकतन्त्रमा विश्वास राख्छन् । नीति, निष्ठा र नैतिकताको कुनै अर्थ छैन । हरेक विषयमा बिमति राख्ने, आरोप प्रत्यारोपको महाभारत खडा गर्ने अनि सत्ताको भागबण्डा मिलाएर मौनता साध्नु यिनको लोकतन्त्र हो । यही कारण जिम्मेवार वा जवाफदेही कोही छैनन् । राष्ट्र नैतिकहीनताको खाडलमा जाकिदै गएको छ । लोकतन्त्र हात्ती हो कि हात्तीछापे चप्पल ? भन्न सकिन्न ।
जनताले खोजेकै हुन् परिवर्तन भने लौ त भनेर राजा ज्ञानेन्द्रले राजपाठ छाडिदिए । जालीहरुले जाल गरे, जनताको खोज र राजाको सोच पुरा भएन । महाभारतका दृष्टिहीन राजा र लोकतन्त्रका विवेकहीन नेताहरुमा भिन्नता देखिन छाडेको छ । यति हुँदा पनि सुकुलगुण्डाहरुमा चेत पलाएको छैन । नकचरोको ओखती हुन्न भनेको यही हो । लोकतन्त्रको जप गर्ने नेताहरु लोकतन्त्रमा हुनैपर्ने विधिलाई कुल्चेर बुर्कुसी मारिरहेका छन् । लोकतान्त्रिक नेपाललाई जंगल बनासके । जंगलमा जंगली शासन चल्छ, पशु शासनमा चल्ने भनेको मसल नै हो ।
सार्वभौमिक पहिचानको कुरा गर्ने हो भने भेटिकनदेखि भुटानसम्म, बंगलादेशदेखि बर्मासम्म विश्वसमुदायमा समान छन् । नेपालमात्र भारतको सामु मुखले बोल्न सक्दैन, नाकले सुघ्छ र पुच्छर हल्लाईरहन्छ । अब बेइजिङ र वाशिङ्टन पनि शक्ति र सामलका साथ नेपालमा प्रभावकारी रुपमा छिरेपछि नेपालको राजनीति अन्यौलमा धकेलिएको छ । यो अन्यौलको अँध्यारोमा टुकी बाल्ने परराष्ट्रनीतिले हो । यो नीति हाँक्ने अब्बल पात्रहरु पछाडि परेका छन् । अगाडि जो छन्, मौसमअनुसारको ट्यूनिक लगाउनेहरुमात्र देखिन्छन् । नेपाल नीतिहीन अवस्थातिर उन्मुख छ । अर्थात आत्मशक्ति गुमाएर घ्राणशक्तिमा पुगेको छ नेपाल । नेपाली नेताहरु ।
जब राजनीति व्यवसाय बन्छ, काला व्यापारीहरुले टाउको उठाउँछन् । पार्टीहरु अपराधीलाई चोख्याउने चोखो तीर्थस्थल बन्छ, भ्रष्टहरुको सेटिङ्मा चल्छ, देश महिनौं फोहर नउठाएको महानगरको कन्टेनर बन्नु स्वभाविक हो । यस्तो फोहरी राजनीतिमा गुह्य किरा नजन्मे के जन्मिन्छ ? नेपाली लोकतान्त्रिक राजनीतिक परिदृश्य यस्तै छ । यथार्थ कुरो के हो भने, जनतासँग डराउनेहरु तानाशाह बन्दैनन् ।

जनतालाई भयाक्रान्त पारेर नेताबर्गले सर्बसत्तावाद चलाउन थालेकाले लोकतन्त्र बाहुबलीतन्त्र बन्न पुगेको हो । सच्चिने र सच्याउने काम तत्काल गरिएन भने नेपाल हाइटीजस्तो असफल हुनबाट जोगिन मुस्किल छ ।
श्रीलंका हुनबाट बचाउन र राजापाक्ष परिवारको जस्तो पतनबाट बच्नका लागि नेतृत्वले आजैबाट जनतासँग डराउन् ।

footer