होला त एक तीरले दुई सिकार ?
वि.सं.२०७९ माघ २७ शुक्रवार १०:१२
shares

काठमाडौं । नेकपा एमालेको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले दुई डुगांमा खुट्टा राख्न खोज्दा उनी आफै संकटमा पर्नसक्ने अवस्थामा रहेका छन् । अहिले दाहाललाई सबैभन्दा ठूलो त्रास एमाले अध्यक्ष ओलीसँग रहेको छ ।
काँग्रेसले आश्चर्यजनक ढगंले दाहाल सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री दाहालको मनोबल बढेको जस्तो देखिए पनि उनी नत काँग्रेस निकट हुन सकेका छन्, नत एमालेसँगको सम्बन्धनै तोड्न सक्ने अवस्थामा पुगेका छन् ।
एमालेलाई नचिढ्याई काँग्रेससँग समदुरी राख्न खोज्दा दाहालले अहिले दुई डुंगामा खुट्टा राखेको जस्तो अवस्थामा पुगेका छन् । एमालेसँगको त्रास र काँग्रेसको आशमा अघि बढ्न दाहाललाई त्यति सजिलो छैन । काँग्रेसले आफुलाई समर्थन गरेपछि दाहालले एउटै तीरले दुई सिकार गर्न खोजिरहेका छन् । पहिलो एमालेलाई साइजमा राख्ने, दोस्रो आफ्नो अनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउने ।
एमालेको बलमा उनी प्रधानमन्त्री बनेको भएपनि उनी काँग्रेसको बलमा आफ्नो अनुकूलको राष्ट्रपति बनाउने भित्री रणनीतिमा लागि परेका छन् । तर काँग्रेसले आफ्नो दलले राष्ट्रपति पाउनुपर्ने भनी रहेको र काँग्रेसले राष्ट्रपति उम्मेद्वार बनाएको खण्डमा दाहालले चाहेजस्तो हुनसक्ने सम्भावना देखिदैन । एमालेले पूर्व सहमतिअनुसारनै आफ्नो पार्टीले राष्ट्रपति पाउनुपर्ने दबाब दिइरहेको बेला दाहालले काँग्रेससँग हात अघि बढाएका छन् ।
काँग्रेसले विश्वासको मत दिएपछि दाहाल दोमनमा परेका छन् । काँग्रेसले आफूलाई माया गरेर विश्वासको मत दिएको होइन, अहिलेको सत्ता गठबन्धनलाई भत्काउन मत दिएको हो भन्ने बुझ्न नसक्दा गठबन्धनमा अविश्वास बढ्दै गइरहेको छ । अहिलेको गठबन्धनाई भत्काउने रणनीतिक उद्देश्य काँग्रेसले लिएको छ ।
गठबन्धन भत्किएपछि दाहालले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुने भएकाले अहिलेको गठबन्धन भित्रका दलहरुले पनि दाहाललाई विश्वासको मत नदिने र काँग्रेसले पनि विश्वासको मत नदिएपछि दाहाल सरकार ढल्ने निश्चित रहेको छ । त्यसपछि संविधानको धारा ७६ को ३ अनुसार संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था सिर्जना हुने भएकाले काँग्रेसले त्यही बाटो रोजी रहेको छ । त्यही कारणले गर्दा काँग्रेसले एउटा तीरले दुई सिकार गर्न खोजिरहेको छ । के यो कुरा दाहालले बुझेका छैनन् होला त ?






































