दाहाल अस्थिर राजनीति पात्र भएको प्रमाणित ?
वि.सं.२०७९ फागुन ११ बिहीवार ११:३५
shares

काठमाडौ । राष्ट्रपतिको निर्वाचनका लागि (भोली १३ गते) मनोनयन दर्ता गर्नुपर्ने भएपछि राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली सहितका नेताहरुको सक्रियता बढेको छ । नेपाली कांग्रेसले गत मंसिर ४ गते भन्दा अगाडिको पाँच दलीय गठबन्धनलाई व्यँुताउने प्रयास गरिरहेको छ भने माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई समर्थन गरिरहेका छन् ।
दाहाल नेकपा एमाले सहित राप्रपा, रास्वपा लगायतका दलको समर्थनमा पुस १० गते प्रधानमनत्रीमा नियुक्त भएका थिए । आफँु प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिन नपुग्दै दाहालले पुस १० गते नेकपा एमालेसँग भएको सहमति विपरितको अभिव्यक्ति दिन थालेका हुनाले उनले नेकपा एमाले लगायत आफँुलाई प्रधानमन्त्री बनाउने दलहरुलाई धोका दिन सक्ने सम्भावना त्यसैबेला देखि बढ्दै गएको थियो ।
पुष्पकमल दाहाललाई प्रधानमनत्री बनाउन कांग्रेसले अस्वीकार गरेको भएपनि दाहालले पुष २६ गते संसदबाट विश्वासको मत लिँदा दाहाललाई विश्वासको मत दिएको थियो । कांग्रेसले जसरी भएपनि माओवादी–एमाले सहितको गठबन्धन भत्काएर आफू सत्तामा पुग्ने रणनीतिक उदेश्यका साथ दाहाललाई विश्वासको मत दिएको थियो । आफूलाई कांग्रेसले विश्वासको मत दिएपछि प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको माला जप्न थालेका थिए । दाहालले राष्ट्रिय सहमतिको माला जप्नुको अर्थ अहिले खुलेको छ ।
नेकपाा एमाले सहितको समर्थनमा प्रधानमन्त्री हुने र प्रधानमन्त्री भई सकेपछि कांग्रेसकै सहयोगमा नेकपा एमालेलाई सत्ता बाहिर राख्ने प्रयासमा दाहाल लागेका थिए । अहिले त्यो कुरा प्रष्ट भएको छ । नेपाली कांग्रेस सत्तामा पुग्न नपाएको हुनाले ऊ पानी बेगरको माछा जस्तो छटपटाई रहेको थियो । कांग्रेसलाई दाहालले मलमपट्टी लगाएर सत्तामा पु¥याउने प्रयास गरिरहेका छन् । आफूलाई अप्ठ्यारो पर्दा सहयोग र समर्थन गर्ने दलहरुलाई धोका दिएर फेरी कांग्रेससँग गठबन्धन गर्न पुग्नु भनेको पुष्पकमल दाहालको अस्थिर राजनीतिक चरित्र नै हो । सत्ताको नेतृत्वमा पुग्न दाहाल जोसँग जस्तोसुकै सहमति गर्न पछि पर्दैनन् भन्ने अहिलेको उनको रवैयारले प्रष्ट पारेको छ ।
नेपालको राजनीतिमा दाहाललाई अस्थिर राजनीति पात्र मानिन्छ । अहिले उनले त्यसलाई आफैँले प्रष्ट पारेका छन् । माओवादी पदाधिकारी बैठकले समान विचार भएका र सिद्धान्त मिल्नेसँगग सहकार्य गर्ने निर्णय गरेको थियो । तर पदाधिकारीको बैठकको निर्णय विरुद्ध दाहालले कांग्रेससँग गठबन्धन गर्ने निर्णय गर्नु पदाधिकारीको बैठकको निर्णय विरुद्धको कार्य हो । आफूलाई कम्युनिष्ट भन्नेहरुले कम्युनिष्टसँग सहकार्य गर्नुको बदला नीति, सिद्धान्त र विचारै नमिल्ने पार्टीसँग गठबन्धन गर्नु भनेको सत्ता स्वार्थ र आफूँलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने दलहरुलाई धोका दिनु बाहेक अन्य केही हुन सक्दैन । दाहाल राजनीतिक अस्थिरताका पात्र भनेर चिनिँदै आएकोमा अब उनीमाथि अर्को आरोप थपिएको छ धोकेदार भनेर ।
कांग्रेस संसदमा ठुलो पार्टी भएपनि सरकार निर्माणमा असफल भएको थियो । ठुलो पार्टीको हैसियतले उसले आफ्नो पार्टीले राष्ट्रपति र प्रधानमन्त्री दुवै पाउनु पर्ने अडान दाहालससामु राखेको थियो । त्यही अडानका कारण दाहाल नेकपा एमालेका अध्यक्ष केपी ओलीकहाँ पुगेका र उनी प्रधानमन्त्री बन्न सफल भएका थिए ।
आफुँ प्रधानमन्त्री बनेपछि उनले कांग्रेससँग निरन्तर वार्ता गरिरहेका थिए । त्यसैको फलस्वरुप अहिले कांग्रेस र माओवादीको मिलन भएको छ । यो मिलन राष्ट्रपतिको निर्वाचनले जुराईदिएको हो । नेकपा एमालेसँग दाहालले सहमति गर्दा राष्ट्रपति नेकपा एमालेलाई दिने सहमति गरेर नै उनी प्रधानमन्त्री बनेका हुन् । सभामुख र राष्ट्रपति एउटै पार्टीबाट हुँदा अन्य दलहरु छायाँमा पर्ने डर दाहाललाई थियो किन पहिला सहमति गरियो त्यसको जवाफ अब दाहालले जनतालाई दिनुपर्छ ।
प्रचण्डले नै दाहाल नेतृत्वको सरकार फालेर फेरी दाहालकै नेतृत्वमा सरकार बनाउने रणनीति केही पहिला नै लिएका थिए । त्यसैको परिणाम हो कांग्रेस–माओवादीको मिलन । कांग्रेस माओवादीको मिलन पछि नेकपा एकीकृत समाजवादी जसपा, लोसपा र राष्ट्रिय जनमोर्चा सहतिका केही दलहरु कांग्रेस माओवादीकै गठबन्धनमा जान सक्ने सम्भावना समेत देखिएको छ ।
राष्ट्रपतिको उम्मेदवार कांग्रेसबाट हुने भएकाले कांग्रेस र माओवादीको मतभारतले मात्र राष्ट्रपतिमा जित हाँसिल नहुने भएकाले दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अन्तिम १ वर्ष प्रधानमन्त्री दिने आश्वासन दिएर आफ्नो पक्षमा पार्ने रणनीति लिएका छन् भने जसपा, लोसपालगायतका दलहरुलाई सरकारमा ल्याउने आश्वासन समेत दिँदै आएका छन् ।
कांग्रेस र माओवादी बीचमा पार्टीगत रुपमा लिखित सम्झौता हुने र केही समय पछि संघीय सरकार र प्रदेश सरकारहरु समेत फेरबदल गर्ने रणनीतिमा कांग्रेस, माओवादी रहेको हुनाले प्रधानमन्त्री दाहालले भनेको राष्ट्रिय सहमति कस्तो रहेछ भन्ने प्रष्ट भएको छ । के नेकपा एमालेलाई एकल्याउनु मात्र राष्ट्रिय सहमति हो त ? राष्ट्रिय सहमतिको माला जपेर राष्ट्रिय सहमति भन्ने शब्दकै अपमान गरिएकाले गर्दा पुष्पकमल दाहालको राजनीतिक चरित्र नै अस्थिर राजनीतिज्ञ पात्रका रुपमा चिनिने भएका छन् ।
अस्थिर राजनीतिक चत्रिर देखाउँदा केही समय फाइदा हुने भएपनि त्यो केबल दिवा सपना जस्तो मात्र हो । त्यसले गर्दा कालान्तरमा दाहाललाई नै घातक सावित हुन सक्छ । त्यसैले भन्न सकिन्छ दाहालको नीति, सिद्धान्त र विचार कांग्रेसको पाउमा विलिन भयो भनेर । यि सबै कारणहरुले गर्दा कांग्रेसले हारेर पनि जितेको जस्तो देखिएको छ । दाहालले जितेपनि हारेका छन् ।






































