एमालेसँग मिलेर जान माधव नेपाल तयार
वि.सं.२०७९ चैत २२ बुधवार १७:२९
shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग मिलेर अगाडि बढ्न समस्या नरहेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित सम्पादकहरू सँगको छलफलमा उनले विचार, नीति, दृष्टिकोण र भावनामा एकैठाउँमा बसेर काम गर्न समस्या नहुने बताएका हुन् ।
‘कसैमा सद्बुद्धि आउँछ भने, मति सप्रिन्छ भने, मिलेर जानुपर्छ भन्ने मान्यता राख्छन् भने खुसीकै कुरा हो । तर, विचार, नीति, दृष्टिकोण र भावनामा मेल हुनुपर्यो । अनि सबै वचन र कर्ममा मेल, एकता हुनुपर्यो । सबै कुरा भयो भने मिलेर जान नसकिने कुरै छैन । हामी कसैलाई पन्छाउने, समाप्त पार्ने र बहिष्कृत गरेर जानुपर्छ भन्ने मान्यता राख्दैनौं,’अध्यक्ष नेपालले भने ।
एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै नेपालले ओलीले सहकार्यका लागि अग्रसरता देखाइरहेको भन्दै त्यसलाई सकारात्मक रूपमा लिएको बताएका हुन् । कम्युनिस्ट शक्तिबीच कार्यगत एकता हुने उनले बताए । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गरे । मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको उनको भनाई थियो ।






































