भ्रष्टाचारको फाईल नखोले सरकार नै फालिन सक्छ: सभापति लामिछाने
वि.सं.२०८० वैशाख १५ शुक्रवार ०७:२९
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भ्रष्टाचारको फाइल नखोल्ने हो भने सरकार अपदस्त हुन बेर नलाग्ने बताएका छन् । आफ्नो पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रममा भ्रष्टारचारको फाइल खोल्ने एजेण्डा राखेकोमा सरकारले हटाएको उनले गुनासो गरे ।
पार्टी कार्यालयमा सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले आफ्नो पार्टीले राखेको भ्रष्टाचारको फाइल खोल्ने लगायतका एजेण्डा सरकारले हटाएकाले अब सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताएका हुन् । ‘जुन ढंगले न्यूनतम साझा कार्यक्रममा हाम्रा महत्वपूर्ण बुँदा हटाइएको छ, अब हामीले सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने भएको छ । भ्रष्टाचारको फाइल नखोल्ने हो भने त सरकार पनि हट्न बेर लाग्दैन । हामी थप मजबुत भएर आएका छौं ’, लामिछानेले भने ।
उनले तत्काल सरकारमा जाने अवस्था नरहेकाले चार वर्ष पर्खिन सक्ने बताए । चितवन २ बाट पुन भारी मत सहित विजयी भएपछि लामिछानेले पार्टी कार्यालयमा पहिलो पटक सञ्चारकर्मीहरूसँग भेटघाट गरेका हुन् ।






































