kumari
stcnepal

विराटनगरका केही क्षेत्रमा निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपछि जारी आन्दोलनलाई लक्षित गरेर शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि विराटनगरका विभिन्न क्षेत्रलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको छ । विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गर्ने गरिएकाले शान्ति सुरक्षामा असर परेको भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

जातीय पहिचान पक्षधरले आन्दोलन गर्ने चेतावनी दिएपछि शनिवार देखि विराटनगर बजारका विभिन्न ठाउँलाई निषेधित क्षेत्र तोकिएको छ । निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) वीरेन्द्रकुमार यादवले बताए । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले प्रदेशलाई कोशी नामकरण गरेको थियो । त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ । कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।

जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार मिति २०८० जेठ १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

निषेधित क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्र तोकिएको छ । आन्दोलनकारीले प्रदेशसभा भवन अगाडि प्रदर्शन गर्ने बताउँदै आएका छन् । कोशी प्रदेशको प्रदेशसभा बैठक जेठ १४ गतेका लागि आह्वान गरिएको छ । बैठकलाई लक्षित गरेर थप आन्दोलन गर्ने चेतावनी असन्तुष्ट पक्षले दिएको छ ।

footer