kumari
stcnepal

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय, राष्ट्रपति कार्यालयमा पठाइयो फाइल

काठमाडौं । सरकारले कैलालीको टीकापुर घटनामा सर्वोच्च अदालत बाट समेत दोषी ठहर भई जन्मकैदसहित कैद सजाय काटिरहेका कैलालीका रेशमलाल चौधरीलाई आममाफी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले आममाफीका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस पनि गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन् । सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् । यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफीसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।

चौधरीको आम माफी सम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको थियो । सोही फाइल गृहले मन्त्रिपरिषद्मा पठाएकामा आज फेरि राष्ट्रपति समक्ष नै सिफारिस भएको हो । सरकारको निर्णयले चौधरीलाई झन्डै १४ वर्ष कैद सजाय माफी मिल्नेछ । उनलाई २०९४ फागुन १३ गतेसम्म जेल बस्नुपर्ने हुन्थ्यो । मुलुकी अपरासंहिता ऐन २०७४ अन्तर्गत फौजदारी कसुरमा हुने जन्मकैदमा २५ वर्ष कम नहुने गरी कैद गणना हुने व्यवस्था छ ।

२०७२ भदौ ७ मा भएको घटनाका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ७ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सो घटनामा चौधरी सहित २३ जना जेलमा छन् ।

footer