आज देखि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
वि.सं.२०८० साउन १७ बुधवार ०६:५९
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । काठमाडौँको कमलादी स्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।
पाँच दिन सम्म चल्ने बैठकमा पेस हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस्दै छ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरेपछि केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारी बाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।



































