भ्रष्टाचार काण्डमा प्रधानमन्त्री र गृहमन्त्रीकै हात छ : अध्यक्ष कमल थापा
वि.सं.२०८० साउन १७ बुधवार ०८:२४
shares

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न रहेको आरोप लगाएका छन्।हिजो मंगलबार काठमाडौँमा आयोजित राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका भ्रष्टाचार काण्डहरुमा प्रधानमन्त्री र गृहमन्त्रीकै संलग्नता रहेको आरोप लगाएका हुन्।
उनले भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको बताए। उनले प्रधानमन्त्री र गृहमन्त्री नै भ्रष्टाचारमा संलग्न हुँदासमेत कारबाही नगरिएको उल्लेख गरे। अध्यक्ष थापाले नेताहरुले आफ्नो मुखुण्डो उघारिएला भन्ने डरले सुन बोकेर हिँडेको ट्याक्सीलाई गन्तव्यमा नपुग्दै समातिएको पनि जिकिर गरे। उनले नेताहरुले भ्रष्टाचारको नयाँ–नयाँ फाइलहरु खोल्ने भने पनि विश्वास गर्न नसकिने बताए।
‘यी सबै प्रकारका भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको छ। राजनीतिक दल र दलका नेताहरु संलग्न रहेका छन्। स्वयं देशको गृहमन्त्री, गृह मन्त्रालय, जसले शान्ति, सुरक्षा दिनुपर्छ, अपराध नियन्त्रण गर्नुपर्छ, अपराधीलाई कारबाही गर्नुपर्छ, त्यही गृह मन्त्रालय र गृह मन्त्रालय सञ्चालन गर्ने मन्त्री, प्रधानमन्त्री यी भ्रष्टाचारका काण्डहरुमा संलग्न भएका छन्। तर कारबाही हुँदैन। केही कारबाहीका नाटकहरु गरिन्छन्। तर मुल जरोसम्म पुग्ने प्रयास हुँदैन।’





































