बेइमानहरुको शासनमा इमान दिनदिनै मर्छ
वि.सं.२०८० भदौ ७ बिहीवार १२:५६
shares

राजन कार्की
जनआन्दोलनको सफलतापछि नयाँ नेपाल बन्छ भनेको १७ वर्ष भइसक्दा पनि सपना सपना नै छ । जनताका छोरा राष्ट्राध्यक्ष त भए, जनताले के पाए ? ०७२ मा संविधान जारी भयो, ०७४ र ०७९ मा दुईपल्ट आवधिक निर्वाचन भइसक्यो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, नेपालीका लागि पीडाबाहेक केही हुनसकेन ।
लोकतन्त्रलाई लूटतन्त्र बनाइयो । पछिल्लोपल्ट भुटानी शरणाथी बनाएर नेपाली र विदेशीलाई अमेरिका पठाएको देखि प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटारको सरकारजग्गा भूमाफियासँग मिलेर प्रधानमन्त्रीस्तरकासमेतले भ्रष्टाचार गरेका र एयरपोर्टबाट सय सय टन सुन भित्रिएकासम्मका डरलाग्दा काण्डहरू भए ।
आदेश पालक खरदार जेलमा, आदेश दिने र फाइल सदर गर्ने मन्त्री, प्रधानमन्त्रीहरूलाई चोख्याइयो । लोकतन्त्रमा विधिको शासन हुन्छ भन्ने कहावत अनपत्यारिलो बन्यो, छिपाको घ्याम्पो फेरि फुट्यो । असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने सत्तारुढ माओवादी, कांग्रेस, प्रतिपक्षी एमाले, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीवीच सहमति भएको छ । भ्रष्टाचार बैध भयो, भ्रष्टाचारमा कसैमाथि पनि कारवाही हुन्न, कसैले जिम्मेवारी लिनुपर्दैन भन्ने खालको सहमति हो यो ।
राजनीति भनेको सत्तामा पुग्न, सत्ता बचाउन विदेशीलाई गुहार्ने, भागशान्ति जयनेपाल गर्ने चरित्रले राष्ट्रिय राजनीतिको स्वामित्व यी नेतृत्वको हातबाट फुस्किदै र खुस्किदै गएको छ । इमान र वीरताको पहिचान गुमाएपछि पहिचान गुम्छ, भविष्य अन्धकार हुन्छ, नेपालीको शिर झुक्छ । झुकिरहेको छ ।
कांग्रेसको प्रजातन्त्र, माओवादीको सर्वहारावाद, एमालेको बहुदलीय जनवाद, राप्रपाको राष्ट्रवाद, रास्वपा, जसपा, नेकपा स र अनेक पार्टीका अनेक सिद्धान्तहरू रैथाने बासिन्दाको आस्था र संस्कारसहितका रीतिथिति मास्न चलाइएको छिपाको घ्याम्पो फुटेको हल्लाभन्दा बढी केही हुनसकेन ।
जनयुद्धमा १७ हजार मारिए । जनयुद्ध सुरू गरेदेखि संसदीय ढोकाबाट संसद पसेर पटक पटक सत्ताको हालीमुहाली चलाउँदासम्म माओवादीले भनिरहेकै थियो– असमान सम्झौता खारेज गर्नुपर्छ, गोर्खाभर्ती रोक्नुपर्छ, अतिक्रमण हुन दिन सकिन्न । परिआए सुरुङ युद्ध गरिन्छ । १७ वर्षमा धेरैपल्ट माओवादी सत्तामा उक्लियो, अहिले पनि सत्तामै छ, रोल्पामा जन्मेको जनयुद्ध दिल्लीमा बिसर्जन भयो, नेतृत्व दिल्लीका सामु लम्पसार भए, खतरामा पारेको राष्ट्रियता बचाउन र राजनीतिका स्वामित्व देशभित्रै सुदृढ बनाउन केही गरेन । अरु दलसमेत माओवादीजस्तै विदेशीको तालमा रत्तिन पुगे ।
हरेक नेतालाई सत्ता र शक्तिकोमात्र चिन्ता ? नेपाली भूमि किन लुटियो ? सुशासन किन भत्काइयो ?, जनता किन अत्याचार भयो भनेर चिच्याइरहेका छन् ? शिक्षा, स्वास्थ्य, बन्दव्यापार, उद्यम, सुरक्षाको अवस्था किन बिग्रदै गएको छ ? कुनै विषयमा सरोकार नराख्नु लोकतन्त्र हो ? कहाँ छ लोकतान्त्रिक परिपाटी, नेतृत्वमा इमान ?
नेताहरूको एउटै चासो छ– चुनाव जित्ने, सत्ता कब्जा गर्ने, एकदोस्रालाई पछार्ने, आफू सर्वैसर्वा हुने । सत्तास्वार्थमा अन्धो भएपछि नीति, सिद्धान्त गौण हुनेरहेछ, पार्टीहरूमा नीति सिद्धान्तमा भिन्नता नै बाँकी रहेन । सर्वहारा र प्रजातन्त्र लोकतान्त्रिक नामधारी पार्टीका एक सिक्काका दुई पाटामात्र भएका छन् । सबै खोटा ।
दोष जनताको हो । विकल्प नभएपछि जनताले गरुन् त के गरुन् ? यहीकारण हो, प्रत्येक चुनावमा यिनैले चुनाव जित्छन्, यिनै सत्तामा पुग्छन् । संसदमा यिनैको हालीमुहाली चल्छ । आउने दिनमा हुने चुनावमा पनि जित्ने यिनैले हो । चुनाव जित्ने, भ्रष्टाचार गर्ने, भ्रष्टाचारको पैसाले गरीबको भोट किन्ने, सत्ताको दुरुपयोग गरेर सत्तासीन हुने ।
हरेक नेता जनताका घृणापात्र हुन् । एकाध बिरालाकोटीबाहेक स्वतन्त्र अथवा राप्रपा वा अन्य युवाले चुनाव जित्छन्, तिनलाई भूमरीमा पारेर यिनै षडयन्त्रकारीले राजनीतिक माकुरा जालोमा पार्छन् । हातमुख जोर्ने समस्यामा भएका जनताले विद्रोह गर्न सक्दैनन्, विवेकशीलहरू पार्टीका झोले बनेपछि राजनीति अपराधिकरण हुन प्रेरित हुँदै गएको छ ।
हाटबजारमा मेला लाग्छ, बजार लाग्छ । जात्रे हुन्छन्, जात्रा देखिन्छ । लोकतन्त्रलाई राजनीति गर्छु भन्नेहरुले जात्रा बनाइदिए । अदालतसमेत जात्रेजस्तो बन्नपुगेको छ । हामीले अपनाएको लोकतन्त्र रत्नपार्कमा चटकेले देखाउने चटकभन्दा भिन्न छैन । किनकि हुनुपर्ने केही हुन्न, नहुनुपर्ने सबै घटना भइरहेका छन् ।
हाम्रा नेतृत्व धुलाघाटका हाट बाजारु जस्ता छन् । विदेशी आउँछन्, स्वार्थ लाद्छन्, हाम्रा नेताहरु दलाली भाग खाएर डकारिरहेका छन् । नागरिकका अनेक पीडा छन् । अन्यायले पारेका घाउ छन्, न्याय नपाएको छटपटी छन् । बेपत्ता र मेलमिलाप आयोगमा दर्ता भएका ६४ हजार उजुरीको चाङ एकातिर, सत्ताले दिएको सास्ती अर्कोतिर । विश्वभरि अधिकारकर्मीहरू दण्डहीनता अन्त गर भनिरहेका छन्, जन्मकैद पाएका व्यक्तिहरु आममाफी दिएर लोकनेता नामधारीले विश्वलाई नै जिस्क्याइरहेछन् । अदालतलाई पार्टीकरण गरेर आफैले बनाएको संविधानको खिल्ली उडाइरहेका छन् ।
लोकतन्त्रको १७ वर्षमा लोक आँखामा न फूल फुल्यो, न उज्यालो आयो । न निरङकूशता गयो, न अन्धकार युगबाट मुक्ति मिल्यो । परिवर्तनको नाममा पेण्डाराको बाकस खुल्यो, अनेक विषालु किटाणुले टोक्दा राष्ट्र र जनता छटपटीमा छन् ।
निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान हुनसकेन । गंगामाया अझै अनसनमै छिन् । उनको पतिको लाश किन ९ वर्षदेखि अस्पतालको फ्रिजमा छ ? जहाज खरिद, ओम्नी, सुन, ललिता निवास, शरणार्थी काण्ड अनेक छन्, सत्ता र अदालत अपराधीलाई सुनपानी छर्कने बाइसधारा बन्यो, दण्डसजाय सोझाका लागि मात्र हुनथाल्यो । समाज परिवर्तन गर्न राजनीति गर्नेले नै सुशासन भत्काएर देशलाई अस्तित्वको संकटमा पारिदिएका छन् ।
पहिलेका विद्वान भन्थे– इमान बेच्नुहुन्न, काम ठग्नु हुन्न, सत्य र सच्चरित्र अँगालेर संयमि बनेर समयको बेगलाई समात्नुपर्छ । यो सत्य कथा भयो । नेतृत्वले लोकतन्त्रलाई– खोटतन्त्र, खुनीतन्त्र, पहुँचतन्त्र, प्रभावतन्त्र, अयोग्य पुजित तन्त्र, नातावादतन्त्र बनाइदिए ।
भारतीय टीभी दुरदर्शनले १९८९ को मार्च महिनामा नेपाली ऋषिकेश शाहलाई ‘फोकस’ कार्यक्रममा बकायो– नेपालले आफ्नो सुरक्षा भारतको हातमा दिनुपर्छ, भारतीय सुरक्षा छाता ओढेर सुरक्षित बस्नुपर्छ । त्यसपछि बीबीसीले समेत नेपाल भारतमा मिलाउनु ठिक कि बेठिक भनेर मत सर्भेक्षण नै गरायो । ३ वर्षदेखि नेपालको कालापानी, लिपुलेक भारतले खाइदियो, हामी नक्सा समातेर बसेका छौं । स्वाधीनताको बहस नै नगरी नागरिकता बाँड्ने निर्णय गरियो, बितरण भइरहेको छ । नागरिकता विहारको आलुप्याज बन्नपुग्यो ।
भनिदैछ, राष्ट्रवाद बलियो भयो । अर्थात् छिपाको घ्याम्पो फुटेको कथा हालिदैछ ।
आज त्यस्तो राजनेता को छ ? राजनेता बन्छु भन्ने इच्छाशक्ति कुन नेतामा छ ? हिजो थिङ्क टेङ्क थिए, देशका लागि थिङ्क गर्थे । आज छिः छिः गनाउने छिपाको घ्याम्पो छ र घ्याम्पो आफैमा लठ्याउने तत्व हो । जो कुअन्न कुहाएको घ्याम्पोमा डुब्छ, उसले कसरी स्वच्छ थिङ्क गर्न सक्छ ? आज थिङ्क टेङ्क छन्, ओपिनियन क्रियट नै गर्न सक्दैनन् ।
सन १७६५–१८६८ सम्मका अन्तिम पाटनका मल्लराजा तेज नरसिंह मल्लले ६ प्रधानलाई अघि सारेर शासन चलाएका थिए । राजा पाटन दरवारमा झुल्थे, ६ प्रधान शासनमा भुल्थे । ६ प्रधानले मन नपरेकालाई षडयन्त्र र चक्रव्युहमा फसाइ फसाइ आँखा निकालेका घटना पनि इतिहासमा बर्णित छन् । डरलाग्दा ती इतिहासका पानामा अङ्कित घटना र वर्तमान नेपाल, त्यो भोग्ने पीडितलाई थाहा छ । आमनागरिक ऐया ऐया भनेर चिच्याइरहेका छन्, सुन्ने कसले ? उही देउवा, ओली, प्रचण्ड, मधेसी नेताहरु छन्, जो स्वार्थको नशामा लठ्ठ छन् । जनतालाई सकस, नेतालाई सत्ताको चिन्ता, देश बेवारिसे । यसरी कतिदिन चल्छ ? यस्तो पनि राजनीति हुन्छ र ?
यो राजनीति अब बदलिनुपर्छ । कुनै उपायले जवाफदेही राजनीति पुनस्र्थापना हुनैपर्छ ।

































