विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेइमानहरुको शासनमा इमान दिनदिनै मर्छ

689
shares

 

राजन कार्की
जनआन्दोलनको सफलतापछि नयाँ नेपाल बन्छ भनेको १७ वर्ष भइसक्दा पनि सपना सपना नै छ । जनताका छोरा राष्ट्राध्यक्ष त भए, जनताले के पाए ? ०७२ मा संविधान जारी भयो, ०७४ र ०७९ मा दुईपल्ट आवधिक निर्वाचन भइसक्यो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, नेपालीका लागि पीडाबाहेक केही हुनसकेन ।
लोकतन्त्रलाई लूटतन्त्र बनाइयो । पछिल्लोपल्ट भुटानी शरणाथी बनाएर नेपाली र विदेशीलाई अमेरिका पठाएको देखि प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटारको सरकारजग्गा भूमाफियासँग मिलेर प्रधानमन्त्रीस्तरकासमेतले भ्रष्टाचार गरेका र एयरपोर्टबाट सय सय टन सुन भित्रिएकासम्मका डरलाग्दा काण्डहरू भए ।
आदेश पालक खरदार जेलमा, आदेश दिने र फाइल सदर गर्ने मन्त्री, प्रधानमन्त्रीहरूलाई चोख्याइयो । लोकतन्त्रमा विधिको शासन हुन्छ भन्ने कहावत अनपत्यारिलो बन्यो, छिपाको घ्याम्पो फेरि फुट्यो । असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने सत्तारुढ माओवादी, कांग्रेस, प्रतिपक्षी एमाले, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीवीच सहमति भएको छ । भ्रष्टाचार बैध भयो, भ्रष्टाचारमा कसैमाथि पनि कारवाही हुन्न, कसैले जिम्मेवारी लिनुपर्दैन भन्ने खालको सहमति हो यो ।
राजनीति भनेको सत्तामा पुग्न, सत्ता बचाउन विदेशीलाई गुहार्ने, भागशान्ति जयनेपाल गर्ने चरित्रले राष्ट्रिय राजनीतिको स्वामित्व यी नेतृत्वको हातबाट फुस्किदै र खुस्किदै गएको छ । इमान र वीरताको पहिचान गुमाएपछि पहिचान गुम्छ, भविष्य अन्धकार हुन्छ, नेपालीको शिर झुक्छ । झुकिरहेको छ ।
कांग्रेसको प्रजातन्त्र, माओवादीको सर्वहारावाद, एमालेको बहुदलीय जनवाद, राप्रपाको राष्ट्रवाद, रास्वपा, जसपा, नेकपा स र अनेक पार्टीका अनेक सिद्धान्तहरू रैथाने बासिन्दाको आस्था र संस्कारसहितका रीतिथिति मास्न चलाइएको छिपाको घ्याम्पो फुटेको हल्लाभन्दा बढी केही हुनसकेन ।
जनयुद्धमा १७ हजार मारिए । जनयुद्ध सुरू गरेदेखि संसदीय ढोकाबाट संसद पसेर पटक पटक सत्ताको हालीमुहाली चलाउँदासम्म माओवादीले भनिरहेकै थियो– असमान सम्झौता खारेज गर्नुपर्छ, गोर्खाभर्ती रोक्नुपर्छ, अतिक्रमण हुन दिन सकिन्न । परिआए सुरुङ युद्ध गरिन्छ । १७ वर्षमा धेरैपल्ट माओवादी सत्तामा उक्लियो, अहिले पनि सत्तामै छ, रोल्पामा जन्मेको जनयुद्ध दिल्लीमा बिसर्जन भयो, नेतृत्व दिल्लीका सामु लम्पसार भए, खतरामा पारेको राष्ट्रियता बचाउन र राजनीतिका स्वामित्व देशभित्रै सुदृढ बनाउन केही गरेन । अरु दलसमेत माओवादीजस्तै विदेशीको तालमा रत्तिन पुगे ।
हरेक नेतालाई सत्ता र शक्तिकोमात्र चिन्ता ? नेपाली भूमि किन लुटियो ? सुशासन किन भत्काइयो ?, जनता किन अत्याचार भयो भनेर चिच्याइरहेका छन् ? शिक्षा, स्वास्थ्य, बन्दव्यापार, उद्यम, सुरक्षाको अवस्था किन बिग्रदै गएको छ ? कुनै विषयमा सरोकार नराख्नु लोकतन्त्र हो ? कहाँ छ लोकतान्त्रिक परिपाटी, नेतृत्वमा इमान ?
नेताहरूको एउटै चासो छ– चुनाव जित्ने, सत्ता कब्जा गर्ने, एकदोस्रालाई पछार्ने, आफू सर्वैसर्वा हुने । सत्तास्वार्थमा अन्धो भएपछि नीति, सिद्धान्त गौण हुनेरहेछ, पार्टीहरूमा नीति सिद्धान्तमा भिन्नता नै बाँकी रहेन । सर्वहारा र प्रजातन्त्र लोकतान्त्रिक नामधारी पार्टीका एक सिक्काका दुई पाटामात्र भएका छन् । सबै खोटा ।
दोष जनताको हो । विकल्प नभएपछि जनताले गरुन् त के गरुन् ? यहीकारण हो, प्रत्येक चुनावमा यिनैले चुनाव जित्छन्, यिनै सत्तामा पुग्छन् । संसदमा यिनैको हालीमुहाली चल्छ । आउने दिनमा हुने चुनावमा पनि जित्ने यिनैले हो । चुनाव जित्ने, भ्रष्टाचार गर्ने, भ्रष्टाचारको पैसाले गरीबको भोट किन्ने, सत्ताको दुरुपयोग गरेर सत्तासीन हुने ।
हरेक नेता जनताका घृणापात्र हुन् । एकाध बिरालाकोटीबाहेक स्वतन्त्र अथवा राप्रपा वा अन्य युवाले चुनाव जित्छन्, तिनलाई भूमरीमा पारेर यिनै षडयन्त्रकारीले राजनीतिक माकुरा जालोमा पार्छन् । हातमुख जोर्ने समस्यामा भएका जनताले विद्रोह गर्न सक्दैनन्, विवेकशीलहरू पार्टीका झोले बनेपछि राजनीति अपराधिकरण हुन प्रेरित हुँदै गएको छ ।
हाटबजारमा मेला लाग्छ, बजार लाग्छ । जात्रे हुन्छन्, जात्रा देखिन्छ । लोकतन्त्रलाई राजनीति गर्छु भन्नेहरुले जात्रा बनाइदिए । अदालतसमेत जात्रेजस्तो बन्नपुगेको छ । हामीले अपनाएको लोकतन्त्र रत्नपार्कमा चटकेले देखाउने चटकभन्दा भिन्न छैन । किनकि हुनुपर्ने केही हुन्न, नहुनुपर्ने सबै घटना भइरहेका छन् ।
हाम्रा नेतृत्व धुलाघाटका हाट बाजारु जस्ता छन् । विदेशी आउँछन्, स्वार्थ लाद्छन्, हाम्रा नेताहरु दलाली भाग खाएर डकारिरहेका छन् । नागरिकका अनेक पीडा छन् । अन्यायले पारेका घाउ छन्, न्याय नपाएको छटपटी छन् । बेपत्ता र मेलमिलाप आयोगमा दर्ता भएका ६४ हजार उजुरीको चाङ एकातिर, सत्ताले दिएको सास्ती अर्कोतिर । विश्वभरि अधिकारकर्मीहरू दण्डहीनता अन्त गर भनिरहेका छन्, जन्मकैद पाएका व्यक्तिहरु आममाफी दिएर लोकनेता नामधारीले विश्वलाई नै जिस्क्याइरहेछन् । अदालतलाई पार्टीकरण गरेर आफैले बनाएको संविधानको खिल्ली उडाइरहेका छन् ।
लोकतन्त्रको १७ वर्षमा लोक आँखामा न फूल फुल्यो, न उज्यालो आयो । न निरङकूशता गयो, न अन्धकार युगबाट मुक्ति मिल्यो । परिवर्तनको नाममा पेण्डाराको बाकस खुल्यो, अनेक विषालु किटाणुले टोक्दा राष्ट्र र जनता छटपटीमा छन् ।
निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान हुनसकेन । गंगामाया अझै अनसनमै छिन् । उनको पतिको लाश किन ९ वर्षदेखि अस्पतालको फ्रिजमा छ ? जहाज खरिद, ओम्नी, सुन, ललिता निवास, शरणार्थी काण्ड अनेक छन्, सत्ता र अदालत अपराधीलाई सुनपानी छर्कने बाइसधारा बन्यो, दण्डसजाय सोझाका लागि मात्र हुनथाल्यो । समाज परिवर्तन गर्न राजनीति गर्नेले नै सुशासन भत्काएर देशलाई अस्तित्वको संकटमा पारिदिएका छन् ।
पहिलेका विद्वान भन्थे– इमान बेच्नुहुन्न, काम ठग्नु हुन्न, सत्य र सच्चरित्र अँगालेर संयमि बनेर समयको बेगलाई समात्नुपर्छ । यो सत्य कथा भयो । नेतृत्वले लोकतन्त्रलाई– खोटतन्त्र, खुनीतन्त्र, पहुँचतन्त्र, प्रभावतन्त्र, अयोग्य पुजित तन्त्र, नातावादतन्त्र बनाइदिए ।
भारतीय टीभी दुरदर्शनले १९८९ को मार्च महिनामा नेपाली ऋषिकेश शाहलाई ‘फोकस’ कार्यक्रममा बकायो– नेपालले आफ्नो सुरक्षा भारतको हातमा दिनुपर्छ, भारतीय सुरक्षा छाता ओढेर सुरक्षित बस्नुपर्छ । त्यसपछि बीबीसीले समेत नेपाल भारतमा मिलाउनु ठिक कि बेठिक भनेर मत सर्भेक्षण नै गरायो । ३ वर्षदेखि नेपालको कालापानी, लिपुलेक भारतले खाइदियो, हामी नक्सा समातेर बसेका छौं । स्वाधीनताको बहस नै नगरी नागरिकता बाँड्ने निर्णय गरियो, बितरण भइरहेको छ । नागरिकता विहारको आलुप्याज बन्नपुग्यो ।
भनिदैछ, राष्ट्रवाद बलियो भयो । अर्थात् छिपाको घ्याम्पो फुटेको कथा हालिदैछ ।
आज त्यस्तो राजनेता को छ ? राजनेता बन्छु भन्ने इच्छाशक्ति कुन नेतामा छ ? हिजो थिङ्क टेङ्क थिए, देशका लागि थिङ्क गर्थे । आज छिः छिः गनाउने छिपाको घ्याम्पो छ र घ्याम्पो आफैमा लठ्याउने तत्व हो । जो कुअन्न कुहाएको घ्याम्पोमा डुब्छ, उसले कसरी स्वच्छ थिङ्क गर्न सक्छ ? आज थिङ्क टेङ्क छन्, ओपिनियन क्रियट नै गर्न सक्दैनन् ।
सन १७६५–१८६८ सम्मका अन्तिम पाटनका मल्लराजा तेज नरसिंह मल्लले ६ प्रधानलाई अघि सारेर शासन चलाएका थिए । राजा पाटन दरवारमा झुल्थे, ६ प्रधान शासनमा भुल्थे । ६ प्रधानले मन नपरेकालाई षडयन्त्र र चक्रव्युहमा फसाइ फसाइ आँखा निकालेका घटना पनि इतिहासमा बर्णित छन् । डरलाग्दा ती इतिहासका पानामा अङ्कित घटना र वर्तमान नेपाल, त्यो भोग्ने पीडितलाई थाहा छ । आमनागरिक ऐया ऐया भनेर चिच्याइरहेका छन्, सुन्ने कसले ? उही देउवा, ओली, प्रचण्ड, मधेसी नेताहरु छन्, जो स्वार्थको नशामा लठ्ठ छन् । जनतालाई सकस, नेतालाई सत्ताको चिन्ता, देश बेवारिसे । यसरी कतिदिन चल्छ ? यस्तो पनि राजनीति हुन्छ र ?
यो राजनीति अब बदलिनुपर्छ । कुनै उपायले जवाफदेही राजनीति पुनस्र्थापना हुनैपर्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports