अध्यागमनका कर्मचारी र प्रहरी बीच भएको हातपात बारे छानबीन गर्न समिति गठन
वि.सं.२०८० माघ १२ शुक्रवार १९:३९
shares

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको हातपातबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
घटनाबारे मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाउँदै मन्त्रालयले गृह मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख एवम् सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरिएकाे हाे । समितिमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोल तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जीसी सदस्य रहेका छन् ।
समितिलाई घटनाबारे आवश्यक छानबिन गरी तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न समय ताेकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायण प्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।आज दिउँसो चेकजाँचका क्रममा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो ।






































