माधव नेपालको प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद : ओली
वि.सं.२०८० फागुन १६ बुधवार १७:५१
shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।
बुधवार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले माधव नेपालको नाम नलिई आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरूले ताली बजाएकोमा आफूलाई अचम्म लागेको बताए ।
संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? भनी अध्यक्ष ओलीले प्रश्न गरे । उनले संविधान, कानुन कता छ, संसदमा के छ ? भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेकाले देशमा व्यवस्था विरोधी अराजक गतिविधि बढिरहेको जिकिर समेत गरे । त्यस अवसरमा अध्यक्ष ओलीले आगामी, २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने समेत दाबी गरे ।
अध्यक्ष ओलीले एमालेलाई ठुलो संकटबाट पार्टीका दोस्रो तहका नेता र आम कार्यकर्ताले बचाएको उल्लेख गर्दै अहिले विरोधीहरूको कुनै पनि षड्यन्त्रलाई परास्त गर्न सक्षम भइसकेको दाबी गरे ।



































