लोककल्याणकारी विज्ञापनको रकम सरकारले कटौती गरेको बिरूद्ध पत्रकार महासंघले असोज ५ गते देखी आन्दोलन गर्ने
वि.सं.२०८३ असोज ३ शनिवार ०९:३२
shares

काठमाडौं । नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकममा गरिएको कटौतीको विरोधमा असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार बसेको सरोकारवालासहितको बैठकले माग पूरा नभए असोज ५ गते सोमबारदेखि विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिए ।सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत पत्रपत्रिकाले प्राप्त गर्ने विज्ञापनबापतको रकममा भारी कटौती गरिएको भन्दै महासंघले विरोध जनाउँदै आएको छ ।
महासंघले उक्त कार्यविधि खारेज गर्न यसअघि सूचना तथा सञ्चारमन्त्रीसमक्ष माग राखेको थियो । समस्या समाधान नभएसम्म विज्ञापनबापतको बिल नबुझ्न विज्ञापन बोर्डलाई समेत पत्राचार गरेको महासंघले जनाएको छ ।महालेखापरीक्षकको कार्यालयले लोककल्याणकारी विज्ञापनमा बेरुजु नदेखाएको र प्रेस काउन्सिल नेपालले लोककल्याणकारी विज्ञापनको रकममा हेरफेर तथा वृद्धिका सम्बन्धमा गरेको सिफारिसका आधारमा समस्या समाधान गर्न महासंघले शुक्रबार पुनः मन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघले वार्ता र संवादमार्फत समस्या समाधान हुने अपेक्षा गरेको जनाएको छ । माग पूरा नभए पहिलो चरणमा विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलनमा सहभागी हुन मातहतका समिति तथा सरोकारवालालाई महासंघले आह्वान गरेको छ ।



































