गृह प्रशासन नै यस पटक चुक्यो, खोलालाई नियन्त्रण गरेकै कारण जनधनको क्षति
वि.सं.२०८१ असोज १६ बुधवार १४:४०
shares

काठमाडौँ । असोज ११ र १२ गते परेको अविरल वर्षाले गर्दा ठुलो मात्र जनधनको क्षति भएको छ । अबौँ अर्बको सडक क्षति भएको छ भने अहिले सम्ममा कति क्षति भयो भनेर एकिन गर्न सकिएको छैन । खास गरेर काठमाडौँ उपत्यकामा ठुलो क्षति भएको छ । उपत्यकामा रहेका खोलाहरु मिचेर भौतिक संरचना बनाइएको कारण ठुलो मात्रामा क्षति भएको प्रष्ट भएको छ । उपत्यकाका प्राय सबै खोलाहरु मिचेर घर निर्माण गरिएको र निर्माण गर्ने क्रम जारी रहेकाले गर्दा २४ घण्टा परेको पानीले ठुलो विनास गरेको छ । खोलाहरुलाई बाँधेर कुलो वा नहरमा परिणत गरिएकै कारण ठुलो क्षति भएको जानकारहरुले नै बताएका छन् ।
२४ घण्टाभित्रमा परेको पानीले केही सडकहरु भत्किएका छन् भने धेरै ठाउँमा कालोपत्रे सडक खोलाले बगाएको छ ।
मानवीय क्षति समेत भएको अहिलेको अवस्थामा सरकारले भने ध्यान पु¥याउन नसकेको प्रष्ट रुपमै देखिएको छ । मौसम विभागले ११ र १२ गते ठुलो पानी पर्न सक्ने भविष्यवाणी गर्दै सतर्क रहन सबैलाई सचेत गराएको थियो । तर, सरकारी संयन्त्रले त्यसलाई वेवास्ता मात्र गरेन आवश्यकीय कार्यहरु समेत गर्न सरकार असफल सावित भएको थियो । ललितपुरमा छानामा बसेर ५ घण्टासम्म गुहार माग्ने मानिसलाई उद्दार गर्न सरकारी संयन्त्र असफल सावित भयो । प्रत्येक वर्ष वर्षायाममा हुने क्षति र मानवीय संकटलाई टार्न सरकारले आवश्यक कार्य बेलैमा चाल्नुपर्नेमा यस पटक पनि गृह प्रशासन त्यसमा असफल सावित भएको हुनाले गृह प्रशासनको चौतर्फी आलोचना भएको छ ।
मौसम विभागले ४÷५ दिन अघि नै ठुलो पानी पर्ने भएकाले आवश्यक तयारी गर्न सरकारलाई सतर्क गराएकोमा गृह प्रशासनले ११ र १२ गते रात्री बस नचलाउन आग्रह गर्नु बाहेक अन्य कुनै कार्य गर्न सकेको देखिएन् । यस पटकको विपत्ति आउनुमा मानवीय व्यवहार नै प्रमुख कारण रहेको प्रष्ट रुपमै देखिएको छ । उपत्यकाका सबै खोलालाई कुलो बनाएर नियन्त्रण गर्दै ठुला ठुला महल बनाइएको छ । २०३३ सालमा सरकारले गरेको निर्णयमा खोलाका दायाँ बायाँ २०÷२० मिटर छोडेर मात्र भौतिक संरचना बनाउनुपर्ने नियमको उल्लघन गर्दै खोला मिच्ने कार्य लाई प्राथमिकतामा राखिएकै कारण यसपटक ठुलो विपत्ति भएको प्रष्ट भएको छ । सरकारले आफैँले बनाएको नियमलाई कडाईका साथ पालना गर्न नसक्नु र कडाईका साथ पालना गर्न नलगाउनुले यस पटक काठमाडौँ उपत्यकामै ठुलो मात्रामा जनधनको क्षति भएको हो ।
खोलालाई नियन्त्रण गरेर भौतिक संरचनाहरु बनाउन दिने सरकारी निकायको कमजोरीकै कारण जनताले अनाहकमा दुःख कष्ट सहनु परेको अहिलेको वास्तविक सत्य हो । २०४६ सालको राजनीतिक परिर्वतन पछि २०४६ साल अघि बनेको नियम कानुनलाई पञ्चायती नियम कानुन भन्दै उल्लंघन गर्ने गरिएको र राजनीतिक नेताका आडमा खोला मिचेर भौतिक संरचनाहरु खडा गरिएकै कारण अहिले जनताले मार खानु परेको यथार्थलाई भुल्न सकिँदैन ।
केही समय अघि सर्बोच्च अदालतले खोलाको दायाँ बायाँ २०÷२० मिटर छोडेर मात्र भौतिक संरचना बनाउन दिने गरी सरकारको नाममा परमादेश जारी गरेकोमा त्यसको व्यापक विरोध भएको छ । त्यही कारणले गर्दा सरकार सो निर्णयका विरुद्ध सर्बोच्चमा पुनरावलोनका लागि गएको छ । अब सर्बोच्च अदालतले अहिलेसम्म निमार्ण गरेका भौतिक संरचनाहरुलाई यथावत राखेर अब २०÷२० मिटर छोडेर मात्र भौतिक संरचना बनाउन पाइने निर्णय गरिदिएको खण्डमा जनतालाई केही राहत हुन सक्छ ।
राजनीतिक आडमा खोला मिच्ने कार्य भएको र खोला मिचेरै राजनीतिकर्मीहरुले भौतिक संरचना बनाएका छन् भने स्थानीय तहले आफ्नो आम्दानी बढाउने क्रममा जथाभावी क्रसर उद्योग र गिटी बालुवा निकाल्न दिएर र त्यस्ता ठाउँमा ठुला ठुला उपकरणहरु प्रयोग गरिएको हुनाले जमिन हल्लिएको र सामान्य वर्षा भएपनि बाढी पहिरो जाने र जनधनको क्षति हुने भएकाले अविलम्ब त्यस्तो कार्य रोकिनुपर्दछ । यसबाट बाढी पहिरो जाने र जनधनको क्षति हुने भएकाले अविलम्ब त्यस्तो कार्य रोकिनुपर्दछ । यस पटकको बाढी पहिरोको समयमा सरकारले कुनै सक्रियता देखाउन नसकेको र विपद् व्यवस्थापन गर्ने गृह प्रशासन आफैँ अलमलमा परेको हुनाले गृह प्रशासन पनि दोषि रहेको छ । गृह प्रशासनको कमजोरीका कारण पनि जनताले दुःख पाएको प्रष्ट भएको छ ।





































