नेतृत्व असफल भएपछि घुम्दैफिर्दै राजतन्त्र
वि.सं.२०८१ फागुन १५ बिहीवार १२:०४
shares

राजन कार्की
१८ वर्ष पनि चलाउन सकेनन् लोकतान्त्रिक गणतन्त्र । माँगेको भीख बाटैमा ठिक भनेको यही हो । अर्काले दिएको लोकतन्त्र चलाउने न सीप देखियो, न ल्याकत । नेतृत्व असफल भएपछि, नीति र नैतिकतामा अड्न नसकेपछि फेल हुनुथियो । स्थापित पार्टी र तिनका नेता असफल भए ।
नेतृत्व असफल हुनसक्छ, भयो । तर यो सिद्धान्त र लोकलज्जाहीन नेतृत्वले देशलाई समेत संकटमा फसाइदियो, यो नेपाल र नेपालीका लागि दुर्भाग्य हो ।
वर्तमान कालखण्डको यक्ष प्रश्न हो– कम्युनिष्ट र कमाउनिष्ट बने, प्रजातन्त्रवादी भ्रष्टाचारका पर्याय भए, नौसिखा पार्टीहरु नौदिन पनि चलेनन् । अब देशको गति र मति के हुनै ? बिग्रिएको, भत्किएको मुलुकलाई कसले सम्हाल्ने ?
यसकारण सबै समस्याको जड राजतन्त्र होइन रहेछ भन्ने प्रमाणित भयो । फेरि राजतन्त्र पुनस्र्थापनाको जनमाग बढेर गएको छ ।
समाजमा उखान छ, नपाउनेले केरा पायो बोक्रै समेत खायो । नेपालको लोकतन्त्रको परिभाषा यही भयो । भनिन्छ, काँचो फल खानेले फलको रस चाख्न पाउँदैन । उसले त बीउसमेत नास गर्छ । लोकतन्त्र यसरी नासवान बन्दैछ, नास्ने लोकतन्त्रलाई खोरिया बनाएर फाँड्ने छाडा साँढेहरुका कारणले ।
नेपालमा सर्वहाराको न्यायका लागि, राष्ट्राधिकारकालागि जनयुद्ध धर्मयुद्ध भनियो । १७ हजारको बली चढाइयो । बरदान लिए प्रचण्ड ग्याङ्ले । प्रचण्ड तेजवान सूर्यजस्ता थिए, १७ वर्ष राजनीतिको किङपिन बने, यिनले कुनै लछारपाटो लगाउन सकेनन् । फेरि जनताको साथ चाहियो भन्दै देशभरिका जनतासामु जाने निर्णयमा पुगेका छन् । जनताले कसरी पतयाउलान् यिनलाई ?
अर्का कम्युनिष्ट, गोलीजस्ता ओली, राष्ट्रवादमा टेकेर यसरी अग्लिए कि चुनाव जितेर सत्तामा के पुगेका थिए, भुइँमै खुरमुरिए । कांग्रेसको टेकोको सहारामा फेरि सत्तामा पुगवेका छन् । सत्तामा पुग्नका लागि पड्क्यो, सत्तामा पुगेपछि सड्क्यो । अब के गर्लान् ? लोकतन्त्रको गद्दीमा बसेर सनकमा शासन चलाइरहेका छन् । यिनको पनि घनघोर जनविरोध हुनथालिसकेको छ ।
कांग्रेस कठै भन्ने अवस्थामा पुगिसक्यो । चारतारा शर्महारा, कांग्रेसको विषयमा बहस गर्नु बेकार छ ।
सवाल नयाँ नेपाल बनाउँछु भन्ने कांग्रेस, कम्युनिष्टको छ, जसले देश र जनतालाई धोका दिए । जनयुद्ध र जनआन्दोलन छलकारा थियो, प्रचण्ड, ओलीहरु त हलकारामात्र रहेछन् । जतिसुकै सर्वहाराको भाषण गरे पनि, बोल्सेविक क्रान्तिको डिङ हाँके पनि २०६३, २०६५ को जनआन्दोलन र गणतन्त्र घोषणा धर्मयुद्ध थिएन । १९०३ को कोतपर्व र यो परिवर्तनमा कुनै भिन्नता थिएन । यी आफै श्री ६ बने, मनपर्दी शासन चलाए । चलिरहेको छ ।
समाज बदल्ने धर्मयुद्ध लड्न अर्कै आँट, अर्कै हौसला, माटोप्रतिको मायाँ र देशप्रतिको गौरव चाहिन्छ । ठूलै छाती, ठूलै त्याग, बलिदान हुने जोश र तातो मुटु चाहिन्छ । आजका हाम्रा नेताहरुमा स्वार्थमात्र छ । स्वार्थीहरु कायर हुन्छन्, कायरहरु पल पल मर्छन् र मरेपछि कलंक बन्छन् । जनयुद्ध र जनआन्दोलनको आगोमा खारिएर निस्केका नेताहरु त देशका, जनताका गहना हुनुपर्ने हो, फलामको सुइरो बनेर घोचिरहेका छन् । फलाम हतियार हो, फलाम विष पनि हो । फलाम जनता र देशको घाउमा मलम होइन । नेतृत्व मलम होइन, फलाम बने । जसले हरेक क्षण देश र जनताको घाँटी रेटिरहेको छ ।
धर्म नास भयो । राजनीतिमा धर्म हुन्छ । प्रतिबद्धता र सिद्धान्त हुन्छ, सिद्धान्तप्रति निष्ठा हुन्छ । हाम्रा नेता त राजनीतिलाई व्यापार बनाएर पार्टीको हाटबजारको पसल बनाइरहेका छन् । यसैले त राजनीतिमा लाग्नेहरु दिनदिनै धनी भइरहेका छन्, सर्वहारा र गरीवहरु झन झन थपिदैछन् । देशको माटो र देशवासीको पहिचान संकटमा परेका छ ।
राष्ट्रिय स्वाभिमानका लागि केजर बिलियम्सको जस्तो धर्मयुद्ध लड्ने ताकत चटके र उखानेहरुमा हुन्न, नेपाली राजनीति यही महारोगबाट ग्रस्त छ । कूशासनको पहिलो कारण निष्ठा र नैतिकहीनता हो । इमान नभएकाले भ्रष्टाचार बढेर गएको छ । भ्रष्टाचार भनेको मृत्यु हो, समृद्ध नेपाल र सुखी नेपालीको रामनाम जपेर मृत्युबाट पार पाउन सकिन्न । ओखती इमान हो, इमानको खोज भएन । परिवर्तनकारी नेतृत्व हरेक दिन राजनीतिक मृत्यु मरिरहेको छ ।
मनमोहन अधिकारी असल कम्युनिष्टको कुरा गर्थे, वीपी कोइराला ठूलो होइन असल हुनु भन्थे । आज मनमोहन अधिकारी र वीपी कोइराला दुवै हारिरहेका छन् । किनकि यिनका अनुयायीहरु असल होइन धनी बन्दैछन्, राजा हटाएर महाराजा बनेका छन् ।
अपराधिक राजनीतिकै कारण चोरलाई चौतारो, साधुलाई सुली भइरहेछ । लोकतन्त्रमा देखिएको दृश्य, भोगिएको भोगाइ हो । कानुन छ काम गर्दैन्, संविधान छ समाधान छैन । शासन छ शास्ती छ, प्रशासन छ अनियमितताको दलदलमा फसेको छ । राजनीति छ व्यापार गरिरहेछ । नीति छ नैतिकता छैन । नेपाल छ, नयाँ नेपाल बनाउँछु भन्नेहरुसँग निष्ठा छैन । नेपाली हुँ भन्ने गौरव कुनै नेतामा देखिन्न ।
महत्वपूर्ण सवाल सपना देखाउँछन्, स्वार्थ शिद्ध गर्छन । सपना पूरा गर्ने इच्छाशक्ति कुनै नेतामा छैन । लोकतन्त्र जिन्दावाद छैन । लोक नदेखिने लोकतन्त्र लखनौंको भुलभुलैयाजस्तो बनेको छ ।
२०६५ जेठ २९ गते पत्रकार सम्मेलन गरेर जनताको नासो जनतालाई बुझाएर राजदरवारबाट नागार्जुन जंगलतिर लागेका राजा ज्ञानेन्द्र आजसम्म त्यो नासोको खोजखबर गरिरहेका छैनन् । देश दुःखेको, जनता बेसहारा भएको, अभिभावकहीनताप्रति चिन्ता गर्छन्, भार उठाउने साहस गरिरहेका छैनन् । उनीभन्दा लोकतन्त्रवादी र लोकसमर्थन पाउने व्यक्ति कुनै छैन । तर उनलाई जुरुक्कै उठाउने जनताको बिद्रोह भइसकेको छैन । राजा चुनावमा जाने होइन, जनबिद्रोहले आउने हो । बिद्रोह समयको प्रतिक्षामा छ ।
१८ वर्षदेखि नागरिकहरुसँग भेटवार्ता गरेर बसेका पूर्वराजाले ‘सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ । सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै माटोमा हुर्कन पाएको र यहीँको धर्तीको सेवामा जुट्न रम्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्दछु । म नेपालको भक्त हुँ । देशभक्ति मेरो रक्त कण कणमा प्रवाहित छ । …भूकम्प…बाढी पैह्रोको प्रकोपले धेरै जनधनको क्षति भएकोमा मलाई दुःखी तुल्याएको छ ।’
राजाको चिन्ता यही हो । देश लथालिङ्ग हुँदै गएको र जनता बिल्लिबाठमा परेको बेलामा वीरका सन्तानले गर्नुपर्ने के हो ? त्यो काम कर्तव्य र नतिजा समयको माँग हो । सडकमा उत्रिएका जनता, नासो फिर्ता लिनुपर्छ भनेर चिच्याइरहेका छन् । नासो भनेको राजनीतिक दलहरुलाई मौजा बाँडेको बिषय होइन । नासो भनेको केही समयको लागि दिइएको हो । जनताले चाहेका बेलासम्मका लागि संरक्षण गर भनेर दिएको अधिकार हो । त्यो नासो अव फिर्ता लिने बेला भयो ।
परिवर्तनपछिको नेपाल झन बिकराल समस्याले जेलिन थालेको छ । अस्तित्वको संकटमा फस्न पुगेको छ । यो सबको कारक यिनै परिवर्तनकारी नेताहरुको स्वार्थन्धता हो । यसकारण पनि यिनलाई नासोमा दिएको राज्यशक्ति श्रीपेच अव फिर्ता माँग्ने बेला भयो ।
हरेक चुनावमा जनताले यिनैलाई मत दिएका छन्, मत अर्थात अवसर दिएका छन् । त्यो अवसरको दुरुपयोग मात्र गरिरहेका छन् । मतदान जनताका लागि अभिषाप बनेको छ । नेताहरु लज्जाहीन अनियमतिता गरेर, भ्रष्ट बनेर तिनै जनतामाथि शासन गरिरहेछन् । यस्तो शासन के शासन, जहाँ जनताको विश्वास नै छैन । जनताले परिवर्तन भयो भन्ने अनुभूति गरेकै छैनन् । भ्रष्टाचार देखिन्छ, सरकार देखिन्न ।
राजाले सरक्क पन्छिएर जनतामा अनुवाद भए, कुनै आनाकानी अप्ठेरो पारेनन् । जो जनता र देशका लागि परिवर्तन लिएर आए, उनीहरु परिवर्तित हुनसकेनन् । देश र जनताका, लोकतन्त्रका दुश्मन बने । राजा दरवारबाट जंगल पसेपछि लोकतन्त्रलाई जंगलराज बनाउने काम नेताहरुले गरे । मान्छेले जब विवेक हराउँछ, उसले जे पनि गर्छ । राजनीति र प्रशासनले विवेक हराएपछि कूशासनमात्र हुन्छ, मत्स्य न्याय छ देशमा । मुलुकी बन्दोबस्त बिग्रेको छ । बिगार्ने नेताहरु अझै लोकतन्त्रको डम्फु बजाएर नङ्गा नाचिरहेका छन् ।
नङ्गानाच, शिवरात्रिका नागाबाबा र लोकतान्त्रिक गणतन्त्र नेपालका शासक, प्रशासक उस्तै लाग्न थालेका छन् । यसरी राष्ट्र चल्नसक्दैन । पूर्व राजाको सहमतिका राजनीति मान्ने कि जनताले यिनलाई किनारा लगाइदिने, समयले जवाफ दिनेछ ।


































