linktrix Long Ad
Salt Trading Long Ad

बालेनको काँधमा जेनजीको इज्जत

1.13K
shares

 

जेनजीको ज्यानको मूल्यमा चुनाव जितेर सरकार बनाएको रास्वपा र बालेन्द्र साहको काँधमा जेनको इज्जत छ । जेनजीको रगतको अपमान गरेको भनेर प्रतिपक्षी दलहरुले सडक, संसद र सामाजिक सञ्जालमा झ्याली पिटिरहेका छन् । प्रम बालेन साह चुपचाप काम गरिरहेका छन्, रास्वपाका सभापतिले साथ दिइरहेका छन् । रास्वपाले जनतासँग गरेको बाचा र प्रतिवद्धताअनुसार काम गर्न नसक्ने हो कि भन्ने संशयलाई बिरोधको भाष्य बनाइएको छ । जसको उत्तर रास्वपा र बालेन साहले छिटो छरितो काम गरेर दिनुपर्ने छ ।
प्रतिपक्षीहरु प्रश्न गरिरहेका छन्– यही हो जेनजीको ज्यान गएपछि आएको शासन ? यही हो, जेनजीको रगत बगेर आएको शासन ? यिनै प्रश्नबाट जनतालाई रास्वपाप्रति बितृष्णा उत्पन्न गराउन खोजिरहेका छन् । आमनागरिक रास्वपा र बालेन साहले जनतासँग गरेको करार बिर्सदैनन् भन्ने विश्वासको धागोमा बाँधिएकै छन् । विश्वास चुँडिसकेको छैन ।
प्रतिपक्षीहरु बिबादै बिबाद झिकिरहेका छन् । पुराना पार्टीहरुले नयाँलाई सिकाउने, सघाउने, सही मार्ग देखाउने काम गरेनन्, गरुन् पनि कसरी ? जसले झण्डै ४ दशक शासनसत्ता हाँके, तिनले नीति, नैतिकता, सिद्धान्त सबै स्वार्थको आगोमा चरु होमेझैं होमे । नयाँ पुस्ता शासनमा छ, उसलाई राजनीतिक जालझेलको अनुभव छैन, नियतमा शंका पनि छैन तर बुढापुराना राजनीतिक नेताहरु नयाँलाई खुइल्याउन कम्मर कसेर लागेका छन् । नयाँ पुस्ताको जिम्मेवारी रवि र बालेनले लिएका छन् ।
नयाँ पनि भ्रष्ट भए, नेपोटिजममा लागे, नयाँले केही गर्न सक्दैनन् भन्ने झ्याइँ झ्याइँ पारिरहेका छन् विपक्षीहरु । विपक्षी भन्छन्– प्रतिसोध साध्ने काममात्र गरेका छन् । यही भाष्यलाई न्यायालय र प्रशासक, पुरानाले भर्ना गरेका संवैधानिक निकायका पदाधिकारी र राष्ट्र चुसेर जुकाझैं ढाडिएकाहरु रास्वपालाई असफल पार्न र प्रम बालेन साहलाई निकम्मा सावित गर्न न्वारानदेखिको बल लगाइरहेका छन् । तर बालेन मर्न तैयार छु, आँटेको सुशासन र भ्रष्टाचारमुक्त शासन प्रशासन ल्याएरै छोडछु भनिरहेका छन् ।
बहुमत छ, यसकारण रास्वपा जब्बर छ । प्रम बालेन साहलाई कुनै विपक्षीले हल्लाउन पनि सक्दैन । यसकारण त, विपक्षीहरु प्रम बालेन साहलाई राष्ट्रघातीको स्याल हुइया चलाइरहेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठग भनेर हल्लाखल्ला गरिरहेका छन् । रास्वपाभित्र अमिलो निचोरेर रास्वपाको एकता फटाउने प्रयत्न भइरहेको छ । मन्त्री फेरिएलान्, रास्वपा टुक्रने विश्वास कसैलाई छैन ।
अनुभवको कमीले कमजोरी बालेन सरकारले गरेको छ । हिम्मत जतिसुकै प्रशंसायोग्य भए पनि बालेन सरकारले दलाई लामाले दिएको शुभकामनालाई महत्व दिनु हुन्थेन । दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिंदा फ्रि तिब्बतवालाहरु सलबलाउन पुगे । जसले चीनको मनमा चिसो पस्यो, नेपालको एकचीन नीति देखावटी हो कि भन्ने शंका पनि उठायो । भारत सरकारले प्रम बालेन साहको विदेश भ्रमण नगर्ने अडानलाई अहंकार सम्झ्यो । सीमाबारेमा बेलायतलाई मध्यस्थता गराउने खोजेकोमा आक्रोसित बन्यो र भारतका गोदी मिडियामार्फत बालेन साह र रास्वपाविरुद्ध वातावरण तैयार गराउने प्रयत्नलाई जोडबल लगाएको देखिन्छ । यद्यपि भारतमा कक्रोच समूहले मोदी सरकारको सातो खाइरहेको देखिन्छ ।
महात्मा गान्धी भन्थे– शासन र सहरको भव्यता गरीबको रगतले किनिएको हुन्छ । हिजोका सत्ताधारी हुन् कि आजका, तिनले भोग गरेका सुखसुविधा, सानसौकत गरीबकै रगतले किनिएको हुन्छ । यिनका नाममा रहेका महल, गाडी, वैंक व्यालेन्स, सम्भ्रान्त जीवनशैली पनि गरीवले तिरेको कर हो । शासक प्रशासकले लगाएको फेसन र मिठ्याएको जिब्रोको स्वाद गरीव निचारेकै झोल हो । शेक्सपियरको एउटा भनाई प्रख्यात छ– पापले साहसी बनाउँदैन । यी जो छन्, उही कुडाकरकट छन्, जो नयाँ केही गर्न सक्दैनन्, यी सबै कायर हुन् । अर्थात् आफूमाथि जनताले गरेको कारवाहीलाई विषयान्तर गराउँदै जेनजी बिद्रोहबाट आएको बालेन सरकार र रास्वपाको जितलाई भ्रष्टाचार र प्रतिषोधको लेपन लगाउन थालेको छ । यस्ता लेपनको भ्रममा जनता लागिहाल्लान भन्न सकिन्न ।
नयाँ पुस्तामा गति सुस्त छ । एक्सप्रेस भने पनि लोकल गाडी जस्तो छ । शीतलमा बस्नका लागि सहमतिको रूख त रोप्नैपर्छ तव न भञ्ज्याङ्मा चौतारी हुन्छ । नदीनाला बेचेर, चुरेदेखि समतलमा सिमेन्टका महल ठड्याएर अथवा गाई मारेर डेरीको उत्पादनलाई कृषि विकास भन्नेहरू नैतिकता र नीतिमा समेत चिप्लिएका छन् । जो नीति र सोचमा चिप्लिन्छन्, तिनीहरूको जीवन नै काई लागेको ढुङ्गा र लाई लागेको काउली हो । एउटा दुर्घटना हो, अर्को महारोग । नेपालका सन्दर्भमा दुर्घटना र महारोग दुबै ज्यानको जोखिम हो । नयाँ पुस्ता जोखिम नहुन्, दुर्घटनाबाट देश र जनतालाई बचाउन्, सबैतिर अपेक्षा यही छ ।
अणुवमले बिनास गराएको स्थितिलाई नयाँ पुस्ताले स्वर्गजस्तो बनाएको होे । अत्याचारले बिनासलीला देखिएको इजरायल अन्ततः हरियाली बन्यो । इजरायलका बैज्ञानिक प्रा. दनियल शक्चमन नेपाल आएर फर्कदा स्वर्गजस्तो नेपाल सम्पन्न मुलुक हो तर नेताहरूमा इमान र नैतिकता रहेनछ भनेर थक्क थक्क मान्दै फर्किएको धेरै भएको छैन । नभन्दै इमान नभएकाहरुलाई जनताले किनारा लगाइदिएका छन् । नयाँ पुस्ताको काँधमा नेपाल निर्माणको जिम्मेवारी सुम्पेका छन् । नयाँहरु हरतरहका षडयन्त्रबाट सावधान भएर एकढिक्का भएर द्रुततर गतिमा निर्माणमा, सुधारमा लागे भने आज जुन प्रकारको असफलताको बाढी देखाइएको छ, अमानवीयताको हिलो छ्यापिएको छ, नयाँ पुस्ताले धेरै नयाँ गर्नसक्छ । हरेक भ्रमको जालोलाई चिर्न सक्छ । बालेनको त्यो अक्किल अहिलेसम्म उजागर भइसकेको छैन ।
काँधमा जिम्मेवारी छ भन्ने विषय आजका पुस्तामा घुसेको छ, निर्णय र कार्यान्वयनमा देखिएको ढिलासुस्ती र विपक्षीको धरापलाई चिनेर अघि बढ्न जरुरी छ । भारतका पहिलो प्रधानमन्त्री नेहरू, राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादले पदको दुरूपयोग गरेनन्, सरलता र सहजता छाडेनन्, सधैं बिधिमा चले । गान्धी चर्खामै बाँचे र भारतका बापु बनेर अमर छन् । त्यस्ता हुन्छन् राजनेता । झल्को बालेन साहले दिएका छन्, उनी आफै प्रमाणित हुन जरुरी छ । सबैमा अहिले पनि विश्वास छ, बालेनले केही गर्छन् ।
इतिहासका अनुसार प्राचीन मगध साम्राज्य जसरी भययुक्त र हाहाकारमय थियो, हाम्रो देश त्यस्तै भय र हाहाकारयुक्त चित्कार भोगिरहेको छ । जनताका प्रतिनिधिहरू मगधका राजा महानन्दजस्ता बिलासी, अनाचारी, दुराचारी, अत्याचारी, सुरा–सुन्दरी, सम्पत्ति र सत्तामा लिप्त छन् । जनता बाँच्ने आधारको हाहाकार भोगिरहेछन् । जनयुद्ध र जनआन्दोलनपछिको संघीय गणतन्त्रात्मक व्यवस्था अर्थात बसन्त परिवर्तन भनिएको व्यवस्थाले चाणक्य होइन, भुस्याह कुकुरले झैं एकै बेतमा धेरै छाउरा पाएजसरी बग्रेल्ती चण्डालहरू पो जन्मायो । जुन मुलुकमा भ्रमको राजनीति हुन्छ र राजनीति ब्वाँसो र स्यालनीतिमा चल्छ, त्यो देशमा न्याय महँगो हुन्छ, नागरिक जीवन मूल्यहीन हुनेगर्छ । नयाँ पुस्ता सजग हुनुपर्छ ।
पुराना पुस्ताले राजनीति भनेको ओमन, वेल्थ, वाइन र सत्ता बनाएकै होे । यो स्थितिलाई परिवर्तन गरेर जनताको जनजिविका र राष्ट्रको अस्तित्व सावित गर्ने जिम्मेवारी जेनजीको रगतमा उभिएको बालेन सरकारको हो । मदन भण्डारीका जबज एमालेले थेग्न सकेन । जनयुद्धको बिरासत छाडेर माओवादी नेकपा बन्यो । वीपीको बिरासत कांग्रेसले सम्हाल्न सकेन । संवाद, सहमति र सहकार्यका साथ बालेन सरकार अग्रसर हुने हो भने रास्वपा र बालेन साहले देशको कायाकल्प गर्न सक्छन् । गरेर देखाउन् । जनताको मन बिथोलियो भने अहिलेको जनादेश परिवर्तन हुन बेर लाग्दैन ।
स्मरणीय छ, गरिबी, भोकमरी, शोषण, आर्थिक समानता, यौन शोषण, जातिपाति, रङ्भेदजस्ता बिकृतिको अन्त्यका लागि लडिरहेका पारग्वेका लुगो, बोलिभियाका इभो, ब्राजिलका लुला सिल्भा, भेनेज्वेलाका ह्यूगो चाभेज, अष्ट्रियाका जुलियस ब्राउथल, नर्वेका ब्राट्वे, बेलायतका अलबर्ट कार्थी, स्वीडेनका बर्नट् कार्लसन, फिनलेण्डका पेन्टी, चिलीका लुइस आलाजस्ता नेताको अनुकरण बालेनले गर्नुपर्छ ।
यसकारण रास्वपा, सभापति रवि र प्रम बालेन अग्नि परीक्षामा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports