जनादेशको बाघ, संसदको स्याल नहोस्
वि.सं.२०८३ साउन १४ बिहीवार १०:०८
shares

राजन कार्की
बालेन्द्र सरकारका सम्बन्धमा प्रष्ट भन्ने हो भने– पटुकामा रुपैयाँ, बटुकामा भात भन्न सकिन्छ । दुई तिहाई जनादेशको शक्ति भएको रास्वपा र बालेन्द्र सरकारले यतिबेला गर्न नसक्ने कुनै काम नै छैन । जे निर्णय गरे पनि पास गर्नसक्छ । कुनै अल्झो छैन । विपक्षीले घाँटी सुक्नेगरी बिरोध गरे पनि रास्वपाले चाहँदा संविधान संशोधन हुनसक्छ । जसले तगारो तेस्र्याउँछ, उसलाई महाभियोग लगाएर लघार्न सक्छ । संघीयता फाल्न सक्छ । राजनीतिक कार्यकर्ता पाल्ने अनेक समिति वा संस्थाहरु खारेज गरेर बचत हुने रकमबाट मेचीदेखि महाकालीसम्म विकासका योजनाहरु, बन्द भएका र नयाँ उद्यम खोलेर रोजगारीको प्रवद्र्धन गर्नसक्छ । तर बालेन सरकार किन कछुवा गतिमा छ, किन पटुकामा रुपैयाँ बोकेर बटुकामा भात खाइरहेको छ ?
बालेन सरकार सत्ता, शक्ति र सम्पत्तिका लागि बनेकै होइन । रास्वपाले यो उद्देश्यका लागि चुनाव जितेको पनि होइन, जनताले चुपचाप घण्टी छाप हानेका पनि होइनन् । रास्वपाले जनतासँग सुशासन दिन्छु, भ्रष्टाचारको अन्त्य गर्छु, रोजगारी बृद्धि गर्छु, विधिको शासन बसाल्छु, जनअपेक्षा पूरा गर्छु भनेर गरेको करार गरेकाले जनताले नयाँ पुस्तालाई विश्वास गरेका हुन् । जनताको अपेक्षा र विश्वास फुकी फुकी काम गरेर हुँदैन, प्रम बालेन साहले कडा निर्णय लिनुपर्छ । निर्णय कार्यान्वयन गर्नुपर्छ र युवा पुस्तामा उत्साह भर्नुपर्छ । ४ महिनामै प्रतिपक्षीले जुन प्रकारले रास्वपा र बालेन्द्र सरकारप्रति आक्रामक रुख अपनाएका छन्, त्यसबाट झट्ट हेर्दा जुन जोगी आए पनि कानै चिरिएका भन्ने अर्थ निकाल्न सुरु भएको छ । साख घट्न थालेको छ । प्रम र रास्वपाले आत्मसमीक्षा गरेर आगामी दिनमा शासन, प्रशासनलाई चुस्त बनाउनतिर लाग्दा उचित हुनेछ । किनकि जनता कांग्रेस, एमाले, नेकपाको शासनबाट आजीत भइसकेका छन्, रास्वपाबाट पनि आजीत हुनु भनेको राष्ट्रले स्वराज गुमाउनु, अराजकता र अस्थिरताको आगोमा झुल्सनु हो । यो दुरावस्थाबाट पार पाउनका लागि आमनागरिकले चुपचाप घण्टी छाप हानेका हुन् ।
हुन त रास्वपा र बालेन्द्र साहलाई राम्रै थाहा कि जनताले परिवर्तन खोजेका छन् । परिवर्तन दिनका लागि डराएर हुन्न । जनताले ब्रम्हास्त्रसहितको शक्ति दिएका छन् भने त्यसको उपयोग गरेर देशको लथालिङ्ग चालामा परिवर्तन ल्याउनु पर्छ । चुनावका समयमा बालेन्द्र साहले भनेका थिए– ‘मान्छेले देशलाई स्वीजरल्याड बनाउनुपर्छ भन्छन्, स्वीजरल्याडको बाउ बढीमालिका यहीँ छ किन बनाउनुप¥यो स्वीजरल्याड ? स्वीजरल्याडको पराकाष्ट रामारोसन यहीँ छ किन बनाउनुप¥यो स्वीजरल्याड ? खप्तड नेशनल पार्क यहीँ छ किन बनाउनु¥यो स्वीजरल्याड ? आफ्नै देशमा भएका सुन्दरता देखाउन नसक्नेले स्वीजरल्याड बनाउने भनेर मात्रै हुँदैन, सुदुरपश्चिमलाई जोड्नै सकेको छैन, यहाँ यति धेरै कलाकार हुनुहुँदोरहेछ, जुन दिन उहाँहरूका गीत काठमाडौंको चोकचोकमा गुन्जिन्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौंसँग ।’ बोल्ने दिन पहिले थियो, अब जनताले सत्ता दिएका छन्, मेची–महाकाली–काठमाडौं, विकासले जोड्ने र विश्वभरि प्रचार गरेर पर्यटन प्रवद्र्धन गर्ने अवसर छ । प्रम बालेन्द्र साहको नियतमा कसैले शंका गरेका छैनन्, उनी भाषणमा होइन, काममा विश्वास गर्छन् । प्रम बालेन्द्र साहले एकपल्ट संसदमा सरकारको धारणा स्पष्ट पार्ने र त्यसपछि परिणाममुखी काम गरेर नतिजा जनतालाई देखाउनुपर्छ । नकचरो भनेर विपक्षीले लगाएको आरोपलाई हावादारी सावित गरिदिनुपर्छ । बालेन्द्र साहको साहस सबैका सामु धुमिल भएको भए त्यसलाई छर्लङ्ग पारिदिनुपर्छ ।
नपाउनेले छोरो पायो, खेलाई खेलाई मा¥यो भन्ने उखानजस्तो नहोस्, रास्वपाले पाएको जनादेश र बालेन्द्र साहले चलाएको सत्ता । नयाँ पुस्ताविरुद्ध षडयन्त्र अनेक भइरहेका छन्, ती सबै षडयन्त्र चिर्दै रास्वपाले आफ्नो एकता र सबै राजनीतिक शक्तिहरुसँग संवाद, सहमति र सहकार्यका साथ अघि बढ्ने प्रयत्न गर्नैपर्छ । संसदभित्रै छु म भनेर देखाउनु पनि पर्नेछ । चेत रहोस् ।
सबैलाई थाहा छ– विपक्षीले फालेर फालिने सरकार होइन यो । घरको बाघ बनको स्याल भन्ने समाजमा चलेको उखानझैं जनताले किनारा लगाइदिएका कमजोर प्रतिपक्षीले रास्वपा र बालेन्द्र साहको सरकारलाई जनादेशको बाघ, संसदको स्याल भनेर घनघोर बिरोध गरिरहेका छन् । यहाँसम्म कि श्रम संस्कृति पार्टीले प्रम बालेन्द्र सरकारको राजीनामा मागिरहेको छ, कांग्रेसले प्रधानमन्त्री चिन्दिन भनेको छ भने एमालेले प्रम बालेन्द्र साहलाई राष्ट्रघाती भनेर झ्याइँ झ्याइँ पारिरहेका छन् ।
गत जेठ १७ गते संसदमा सामान्य सांसदझैं हात उठाएर बोल्न समय माग गरेर बोल्दा नेपाल भारतवीचको सीमा विवादका बारेमा नेपालले पनि भारतको सीमा मिचेको सुनेर आश्चर्य लागेको बताएका थिए । त्यही बोलीलाई लिएर विपक्षीले प्रम बालेन्द्र साहको जिब्रो थुत्न खोजिरहेका छन् र निरन्तर प्रम बालेन्द्र साहको चर्को बिरोध गरिनै रहेका छन् । हुन त बालेन्द्र सरकारले भ्रष्टाचार गरेको, नातापाता अथवा अयोग्यलाई जिम्मेवारी दिएको विषय नपाएपछि प्रतिपक्षीसँग सरकारको बिरोध गर्ने कुनै विषय नै पाएका थिएनन् । यद्यपि प्रम साहको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री, मन्त्रालयले प्रष्ट पारिसकेको छ र प्रधानमन्त्रीका तर्फबाट अर्थ, कानुन मन्त्रीहरुले बोलिरहेका छन् । प्रम बालेन्द्र साहले सबैले बुझ्ने भाषामा भनिसकेका छन्– प्रत्येक मन्त्री प्रधानमन्त्री हुन्, प्रत्येक रास्वपा सांसद प्रधानमन्त्री हुन् ।
यसैवीच भारतले प्रम बालेन्द्र साहलाई पुनः भारत भ्रमणको निम्तो दिएको छ । परराष्ट्र मन्त्रालयले प्रमको भारत भ्रमणलाई लिएर कार्यतालिकाबारे होमवर्क गरिरहेको छ । एजेण्डाहरु तय हुनासाथ प्रम बालेन्द्र साहले भारत भ्रमण गर्नेछन् । यसैवीच अमेरिकाबाट पनि प्रम बालेन्द्र साहलाई निम्तो आइसकेको छ । भारतपछि चीनतिर पार्टी अध्यक्ष रवि लामिछानेको भ्रमण रहेको छ ।
संसदका सभामुखले प्रम बालेन्द्र साहलाई भेटेका छन् । संसदमा संबोधन गर्दा राम्रै हुने सल्लाह दिएको समाचार सार्वजनिक भएको छ । छिटै प्रम बालेन्द्र साहले संसदमा संवोधन गर्न सक्ने र सम्पूर्ण विपक्षीको रचनात्मक सहयोगको आह्वान गर्ने र राजनीतिक संवाद, सहमति र सहकार्यका लागि अग्रसर हुनसक्ने रास्वपा सूत्र बताउँछ ।
बालेन्द्र सरकार बनेपछि प्रधानमन्त्री र मन्त्रीहरुसँग विचौलियाहरुको भेट दुर्लभ भएको छ । प्रधानमन्त्रीले उद्यमी, व्यवसायीहरुसँग बिस्तारै भेटवार्ता अघि बढाएका छन् । समाजमा राम्रो प्रभाव भएका व्यक्तिहरुलाई अकस्मात प्रधानमन्त्री कार्यालयमा निम्त्याएर भेट्न थालेका छन् ।
सबैभन्दा ठूलो समस्या भनेको सुकुम्वासी र भूमिहीनको व्यवस्थापन, मिटर व्याजी, सहकारी पीडितहरुलाई न्याय दिने विषयमा बालेन्द्र सरकार सकृय भएको छ । यसकारण भनिदैछ– संसदमा प्रतिपक्षीको बिरोधको गला, सरकारले देखाउन थाल्यो परिणामको कला, भ्रष्टाचारविरुद्धको अभियान, शासन रणनीति, अन्तर्राष्ट्रिय विश्वसनीयता, र संस्थागत क्षमता पुनर्निर्माणको सकृयता ।
बालेन्द्र सरकारको सबैभन्दा आकर्षक योजना भनेको “नेपाली फस्र्ट” हो, जुन राष्ट्रियता र स्वराजको सूचक हो । यही विषय शासनको सिद्धान्तका रुपमा परिभाषित हुनुपर्छ । परराष्ट्र नीतिको आधार, संस्थागत अखण्डता, शासन रणनीति र दीर्घकालीन राज्य क्षमतामा रुपान्तरण हुनुपर्छ । कांग्रेस, एमाले, नेकपाजस्ता दशकौं पुराना दलहरुलाई जनताले किनारा लगाएर रास्वपाको उदय भएको छ । राजनीतिमा यो गहिरो सन्देश र सूचक पनि हो । अब बुढा पुरानाको राजनीतिक युग समाप्त भएको र नयाँ पुस्ताको युग सुरु भएको चरण पनि हो । भ्रष्टाचारयुक्त शासनको समाप्तिको सुरुआत पनि हो ।
नेपालको सत्ता परिवर्तनको घटनाक्रम विश्वभरि चर्चित रह्यो । विश्वका कैयौं राष्ट्रमा नेपालको राजनीतिक परिवर्तनको छाप परेको छ, भारतमै पनि काक्रोच जनता पार्टीका रुपमा युवाहरुको राजनीतिक प्रभाव फैलिएको छ । यसकारण नेपालका युवाजमातले जे गरेका छन्, जे गर्दैछन्, त्यो अहं मानिएको छ । जेनजी समूहले ल्याएको र रास्वपा र बालेन्द्र सरकारले पाएको यो अवसर नेपालको इतिहासमा न भूतो, न भविष्यति मानिएको छ । हेक्का रहोस् ।


































