दुर्गा प्रसाईको अर्को भिडियो सन्देश सार्वजनिक : मेरो जीवनको ग्यारेन्टी भए २४ घण्टा भित्रमा सार्वजनिक हुन्छु : दुर्गा पसाई
वि.सं.२०८१ चैत २७ बुधवार २०:२५
shares

काठमाडौं । चैत १५ गतेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नयाँ भिडिओ सन्देश जारी गरेका छन् ।
उनले आफ्नो ज्यानको सुरक्षा ग्यारेन्टी भए २४ घण्टाभित्र सार्वजनिक हुने बताएका हुन् ।उनले भनेका छन्, मेरा वकिलहरु टंक दुलाल, सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र भण्डारी, स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ, भीमार्जुन आचार्यलगायत र मानव अधिकारको रोहबरमा भोलि नै उपस्थित हुन तयार छु । म नेपालकै कुनै ठाउँमा छु । सार्वजनिक हुन्छु । मेरो जीवनको ग्यारेन्टी भए २४ घन्टाभित्र उपस्थित हुन्छु ।
साढे आठ मिनेट लामो भिडिओमा उनले आफू नेपालमै रहेको दावी गरेका छन् । आफू भागेको नभइ जोगिएका उनको भनाइ छ । यस्तै उनले प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई पाँच/पाँच लाख दिने घोषणा पनि गरेका छन् । उनले भनेका छन्, ‘१५ गते दुई पत्रकारको जुन मृत्यु भयो, म हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु । उहाँहरु दुवैका परिवारलाई ५/५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछु । सरकारले राहत दिन्छ कि दिँदैन थाहा छैन, म चाहिँ निस्किएर आएपछि दिन्छु,’ ।






































