राष्ट्रपति र प्रधानमन्त्रीले गरे आज इन्द्रजात्राको अवलोकन
वि.सं.२०८२ भदौ २१ शनिवार १९:१९
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शनिबार इन्द्रजात्रा अवलोकन गरेका छन् ।
सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् । यस अवसरमा उनलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्वागत गरेका थिए ।जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।
भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी थिए ।
वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो ।जात्राका अवसरमा लाखे, दशअवतारलगायत, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ ।
































