ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल : सावित्राको दुई गोलमा नेपालले भारतलाई हरायो
वि.सं.२०८२ कात्तिक १० सोमवार २०:२४
shares

काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ ।
शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो ।सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।
सावित्राले नै ६२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । घरेलु टोली भारतले ८१औं मिनेटमा गोल फर्कायो । भारतका लागि कृष्मा श्रीरभोइकारले गोल गरिन् ।ट्राईनेसन्स कपमा इरानले भारत र नेपाललाई हराएर यसअघि नै उपाधि जितेपछि यो खेल प्रतिष्ठाको लडाईँको रुपमा रहेको थियो ।
भारत विरुद्धको खेलबाट युवा फरवार्ड मिना देउवाले पनि नेपालको सिनियर महिला टिमबाट डेब्यु गरेकी छिन् । नेपाल यू१९ महिला टिमकी फरवार्ड उनले उनले ७६औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिमबाट डेब्यु गरेकी हुन् । यस्तै मुख्य प्रशिक्षक नविन न्यौपानेले पनि महिला टिमको प्रशिक्षकको रुपमा पहिलो जित आत्मसाथ गरेका छन् ।




































