सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीयको फेरि अवरोध गर्ने घोषणा

1.55K
shares

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गर्ने घोषणा गरेका छन्। सहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता जनाएपनि माग पूरा नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय बासिन्दाले बुधवारदेखि फोहोर विसर्जनमा पूर्ण रूपमा रोक लगाउने घोषणा गरेका हुन् । आफूहरूलाई धोका भएको भन्दै उनीहरूले यस पटकको आन्दोलन वार कि वार हुने बताएका छन् ।

गत कात्तिक १६ गते सहरी विकास मन्त्री घिसिङ सहितको टोलीले बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरेको थियो । सो छलफलमा मन्त्री घिसिङले स्थानीयका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोहोर फाल्न गरिएको अवरोध हटाउन स्थानीय राजी भएका थिए । तर आज मंगलबारसम्म १६ दिन बितिसक्दा पनि मन्त्री र महानगरपालिकाबाट कुनै ठोस काम नभएको भन्दै स्थानीय आक्रोशित भएका हुन् । उनीहरूले मन्त्री घिसिङको प्रतिबद्धता केवल आश्वासन मात्र भएको गुनासो गरेका छन् ।ककनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष घननाथ बजगाईँले मन्त्री कुलमान घिसिङले केवल आश्वासन दिएको र वास्तविक समस्या समाधानमा कुनै चासो नदिएको आरोप लगाए । ‘सबैले हामीलाई आश्वासन मात्रै हो दिने हो र ?’ बजगाईँले प्रश्न गरे ।

उनले फोहोर र मान्छे एक ठाउँमा बस्न नसक्ने भन्दै समस्याको दीर्घकालीन समाधानका लागि फोहोरमैला प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरिनुपर्ने बताए । उनले फोहोर विसर्जनमा अवरोध गरेको भन्दै स्थानीयमाथि लगाइएका मुद्दाहरू फिर्ता गरिनुपर्ने पनि बताए।वडाध्यक्ष बजगाईँले मेलम्ची खानेपानी आयोजनामा समस्या आउँदा एक अर्ब रुपैयाँ तत्काल छुट्याएर काम गर्न सक्ने सरकारले राष्ट्रिय समस्याको रूपमा रहेको फोहोरमैला व्यवस्थापनमा दुई–चार अर्ब रुपैयाँ छुट्याउन नसकेको भन्दै आपत्ति जनाए । ‘यो फोहोरमैला त राष्ट्रिय समस्या हो नि, उपत्यकाको समस्या खानेपानीमा एक अर्ब पैसा हाल्ने तर यो राष्ट्रिय समस्या भएको फोहोरमैलालाई चाहिँ केही वास्तै नगर्ने हो ?’ उनले आक्रोश व्यक्त गरे ।बञ्चरेडाँडाका अर्का स्थानीय अगुवा विश्वास ढुंगानाले पनि मन्त्री घिसिङले स्थानीयलाई झुक्याएको आरोप लगाए । ढुंगानाले फोहोरको थुप्रोमाथि १२–१३ वटा पोल गाडेर मात्र गन्ध र प्रदूषणको समस्या समाधान नहुने बताए । ‘१५ दिनमा समाधान सुरु हुन्छ भनेर कुलमानले नै झुक्क्याए । त्यो फोहोरको थुप्रो माथि ल्याएर १२–१३ वटा पोल गाड्दिएर मात्र कसरी त्यो गन्ध हराउँछ र ?’ उनले भने ।

१६ दिनसम्म महानगरपालिका र सरकारबाट कुनै ठोस प्रगति नभएकोले अब भोलिदेखि फोहोर बन्द गर्ने र यसलाई दीर्घकालीन रूपमा समाधान नभएसम्म जारी राख्ने ढुंगानाले  बताए । उनले भोलिदेखि फोहोरका गाडीहरूलाई ल्याण्डफिल साइटमा प्रवेश गर्न नदिने तयारी भएको बताए ।यसैबिच काठमाडौँ महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले भने स्थानीयको माग पूरा गर्न निरन्तर काम गरिरहेको बताएकी छिन् । उनले स्थानीयका मागहरूमध्ये जग्गा अधिग्रहणको कुरा तत्काल पूरा गर्न नसकिने र त्यो एउटा लामो प्रक्रियामा जाने विषय भएको बताइन् । ‘जग्गा अधिग्रहणको कुरा भनेको अहिले तुरुन्तै हुने कुरा होइन । त्यो प्रोसेसमा हुन्छ,’ राईले भनिन् । उनका अनुसार पहिले प्रभावित क्षेत्र छुट्याउनु पर्ने र त्यसपछि मात्र अधिग्रहणको प्रक्रिया अगाडि बढ्नेछ ।राईले स्थानीयको मुख्य मुद्दा उनीहरूमाथि लागेका मुद्दा फिर्ता लिने कुरा भएको र त्यो महानगरपालिकाको क्षेत्राधिकारभित्र नपर्ने बताइन् ।

उनले रात्रिकालीन फोहोर व्यवस्थापनको काम भइरहेको भए पनि बस्ती क्षेत्रमा विरोध आएकाले पूर्ण रूपमा कार्यान्वयनमा समस्या भएको जानकारी दिइन् । स्वास्थ्य बीमा, शिक्षा र पूर्वाधार विकास लगायतका कामहरू नियमित रूपमा भइरहेको र पहिलेदेखि नै स्थानीयलाई सेवा दिइँदै आएको उनको भनाइ छ ।काठमाडौँ महानगरपालिकाबाट दैनिक करिब ७ सय टन फोहोर बञ्चरेडाँडामा जाने गरेको छ । यस्तै उपत्यकाका अन्य पालिकाबाट पनि ७ सय टन गरी दैनिक १४ सय टन फोहोर बञ्चरेडाँडामा जाने गरेको छ । राईले फोहोर वर्गीकरणका कारण महानगरको फोहोरको मात्रा केही घटेको भए पनि नदी सफाइ र अन्य निर्माणजन्य कार्यबाट निस्कने फोहोरले गर्दा घट्न नसकेको उनले बताइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports