जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
वि.सं.२०८३ कात्तिक १६ सोमवार १६:३६
shares

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।
उनले आफूले नाम फिर्ता लिनेबारे समितिलाई जानकारी गराएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।उहाँले आफ्नो नाम फिर्ता लिनेबारे जानकारी हामीलाई गराउनुभएको छ । उहाँ सिंहदरबारमा नै हुनुहुन्छ । केहीबेरमा निवेदन पठाउनुहुन्छ,’ सभापति श्रेष्ठले भने ।
साथै, उनले आफू समितिमा नआउने र निवेदन भने पठाउने जानकारी थापाले गराएको बताए ।सभापति श्रेष्ठका अनुसार, स्वार्थ बाझिने कुरासँग जोडिएर उठेको प्रश्नलाई ख्याल गरेर थापाले आफ्नो नाम फिर्ता लिन लागेको हो ।‘कानुनी रुपमा समस्या थिएन । स्वार्थको द्वन्दको कुरा आएकोले यो देशको कुरा पनि भएकोले नाम फिर्ता लिन्छु भन्नुभयो,’ सभापति श्रेष्ठले भने ।
२०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय सुनुवाइ समितिले सो दिन अनुमोदन गरेको थियो ।साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम भने अनुमोदनका लागि अस्वीकृत गरिएको थियो ।
जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको पीआर रहेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सुनुवाइ स्थगित गरिएको थियो ।संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा सांसदहरूले सुनुवाइकै क्रममा प्रश्न उठाएका थिए ।



































