विराटनगरले जनकपुरलाई २ रनले हरायो
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १६:२२
shares

काठमाडौं । आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । ब्याटिङमा अर्धशतक बनाएका रसेलले बलिङमा इनिङ्सको अन्तिम बलमा विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो ।
विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । अन्तिम बलमा विकेट लिएका रसेलले खेलमा ४ विकेट लिए ।
विराटनगरले सुरुवाती दुई खेलमा हार बेहोरेपछि लगातार दु२ खेल जित्दै ४ खेलबाट ४ अंक जोडेको छ । चार खेलमा जनकपुरको यो दोस्रो हार हो । जनकपुरको पनि ४ खेलबाट ४ अंक नै छ ।
जनकपुरका लागि बंगलादेशी खेलाडी सेफ हसनले सर्वाधिक ७१ रन बनाएपनि जिताउन सकेनन् । बलिङमा विराटनगरका लागि आन्द्रे रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । एन्जेलो म्याथुजले २ तथा रुपेश सिंहले १ विकेट लिए । त्यसअघि इमरान शेख, लोकेश बम र आन्द्रे रसेलले अर्धशतक प्रहार गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । आन्द्रे रसेलले अविजित ५२ रन बनाए ।
एनपीएल इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो । इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए । लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोडे । यस्तै आक्रमक ब्याटिङ गरेका आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । आक्रमक ब्याटिङ गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जाने ७ रनमा अविजित रहे ।



































