linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रका असन्तुष्ट कार्यकर्ताले राधेमाई स्थित आफ्नै कार्यालयमा तोडफोड गरे

533
shares

वीरगञ्ज । नेकपा माओवादी केन्द्र पर्साका असन्तुष्ट कार्यकर्ताले वीरगञ्जको राधेमाई स्थित आफ्नै कार्यालयमा तोडफोड गरेका छन् । पार्टीको जिल्ला नेतृत्वको गतिविधिलाई लिएर असन्तुष्ट बनेका अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख सचिव जुवेर आलम, पार्टीको वीरगञ्ज महानगर उपाध्यक्षद्वय अनीरुद्ध यादव र जुमादीन अन्सारी, वडा कमिटी अध्यक्ष हिरा अन्सारी, छोटेलाल कुर्मीलगायतले कार्यालयमा तोडफोड गरेको आरोप छ ।

उनीहरु आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले गठन गरेको जिल्ला समन्वय समितिको गतिविधि प्रति असन्तुष्टी जनाउँदै ध्यानाकर्षण पत्र बुझाउन गएका थिए ।ध्यानाकर्षणपत्र बुझाउन जाँदा विवाद भएपछि आक्रोशमा आएका उनीहरु तोडफोडमा उत्रिएका थिए । तोडफोड पछि उनीहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यालयमा ‘चन्दा खोरी बन्द गर’ लेखेको पोस्टर र विभिन्न बुँदामा ध्यानाकर्षण गराएको पत्र समेत टाँसेका छन् । चन्दा असुली गरेर पार्टीलाई वदनाम गरेको भन्दै उनीहरुले पार्टीको जिल्ला संयोजक र सचिवको राजिनामा समेत मागे गरेका छन् ।

तोडफोड बाट कार्यलयमा रहेको टेबल, कुर्सी, सोफा लगायतका सामग्रीमा क्षति पुगेको माओवादी केन्द्रले जनाएको छ । नेकपा माओवादी केन्द्र पर्सा जिल्ला संयोजक राम दरश कुसवाहाले पार्टीको विधि र प्रक्रिया नमान्ने अनैतिक एवं अराजक समूहले पार्टी कार्यालयमा तोडफोड गरेको बताए । ‘कुनै असन्तुष्टी छ फोनमा सोध्दा पनि हुन्छ, ज्ञापन पत्र दिनुपर्छ । पार्टीमा कुरा राख्ने विधि र प्रक्रिया हुन्छ’, उनले भने, ‘तर जिल्ला इञ्चार्ज, संयोजकलाई गाली गलौज गर्ने, कुर्सी, टेबुल, सोफा तोडफोड गर्ने जस्ता अनैतिक र अराजक गतिविधि भयो । यो गलत प्रवृत्ति हो । उनीहरुलाई कारबाही हुन्छ ।’

कसै सँग चन्दा उठाएको प्रमाण ल्याए राजनीति नै छोडिदिने उनको भनाइ छ । पार्टीको वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीको निर्देशनमा पार्टी कार्यालयमा तोडफोड भएको संयोजक कुशवाहाको आरोप छ । ‘रहबर जी सँगै घुम्ने केटाहरु हुन्, उनकै निर्देशनमा तोडफोड भएको छ । अध्यक्ष कमरेड पनि सँगै थिए, कुरै नगरी प्लाष्टिक कुर्सी तोडफोड गर्न सुरु गरे । टेबुल, सोफा पल्टाई दिए’ जिल्ला संयोजक कुसवाहले भने, ‘पार्टीमा कुनै कुरामा असन्तुष्टी छ भने विधि र प्रक्रिया बाट राख्नुपर्छ । आफ्नो कर्तुत लुकाउन अरुलाई बदनाम गर्नुहुन्न, अराजक गतिविधि गर्नु हुन्न ।’

महानगर अध्यक्ष अन्सारीले भने घटनामा आफ्नो संलग्नता रहेको आरोप सत्य नभएको बताए । ‘मेरो संलग्नता छ भन्नु गलत कुरा हो, म त पार्टीको कार्यक्रममा विन्दवासिनीमा थिएँ’, उनले भने । जिल्लामा गठबन्धन गर्ने विषयमा पालिका र वडा स्तरमा कुनै सरसल्लाह नगरेको, पार्टीका इमान्दार नेता कर्याकर्ताको चरित्र हत्या गर्न खोजेको, माओवादी पार्टीको नाममा विभिन्न कार्यालय र व्यापारिक प्रतिष्ठानमा चन्दा मागेर व्यतिगत खर्च चलाइरहेको, प्रदेश कमिटी सदस्य सिफारिस गर्दा, वाईसीएलको जिल्ला संयोजक सिफारिस गर्दा सरसल्लाह नगरेको, पार्टीको लेटर प्याड र छापको दुरुपयोग गरेको आरोप असन्तुष्ट समूहले लगाएको छ ।

अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख सचिव आलमले भने तोडफोडको जिम्मेवार जिल्लाका नेताहरु नै भएको बताए । उनले भने, ‘हामी आफ्नो कुरा राख्न गएका थियौं, कार्यकर्ताहरुको कुरै नसुन्ने, आवेशमा आएर कुरा गर्ने, हैकमवादी प्रवृत्ति देखाएपछि तोडफोड भयो । यसको जिम्मेवार उहाँहरु नै हुनुहुन्छ ।’ पार्टीको जिल्ला नेतृत्वले अढाई लाख रुपैयाँ बुझेर छिपहरमाई गाउँपालिकाको एक जना प्रशासकीय अधिकृतको सरुवाका लागि मन्त्रालयमा सिफारिस गरेको, पछि अरुले थाहा पाएपछि फर्जी हस्ताक्षर हो भनेर दावी गरेको, विभिन्न व्यापारीहरु सँग चन्दा लिएको प्रमाण आफूहरु सँग रहेको दावी उनले गरे ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports