प्रधानमन्त्री देउवा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव बीच भेटवार्ता
वि.सं.२०७८ चैत ३० बुधवार २०:२०
shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार र विप्लव नेतृत्वको नेकपा बीच भएको तीन बुँदे सहमति कार्यान्वयन र स्थानीय तह निर्वाचन बारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा सरकारका तर्फ बाट प्रधानमन्त्री सहित गृहमन्त्री बालकृष्ण खाण, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, तथा नेकपाका तर्फ बाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।
नेकपाका नेताहरूले कार्यकर्ता रिहाइ र मुद्दा फिर्तालाई छिटो टुंगोमा पुर्याउन आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले भने नेकपा सँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको बताएका थिए । नेकपा र तत्कालीन सरकार बीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो ।
सहमतिमा दुवै पक्षले राजनीतिक समस्या वार्ता र संवाद बाट समाधान गर्ने, नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारले नेकपा माथि लगाएको प्रतिबन्ध हटाउने र कारागारमा रहेका नेकपाका नेता कार्यकर्ता रिहाइ र मुद्दा खारेज गर्ने सहमति भएको थियो।







































