स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने
वि.सं.२०७९ वैशाख १० शनिवार ०७:४१
shares

सिरहा। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जनाएका छन् ।
भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडि बाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण निर्वाचनको वेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ कवाडीले बताए ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रण लगायतका विषयमा पनि छलफल भएको प्रजिअ कवाडीले जनाए ।
बैठकमा सिरहा तर्फको नेतृत्व प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले गरेका थिए भने भारत तर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गरेको थिए । बैठकमा प्रजिअ कवाडी सहित धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल लगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।




































