अर्को हप्ता बाट देशभरमै इन्टरनेट बन्द गर्ने चेतावनी
वि.सं.२०७९ वैशाख १८ आइतवार ०७:२७
shares

काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संघले सरकारले ल्याएको नियमका कारण अप्ठेरो परेको भन्दै अर्को हप्ता बाट देशभर इन्टरनेट सेवा ठप्प हुन सक्ने चेतावनी दिएको छ ।संघका अध्यक्ष सुधीर पराजुलीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । साथै यस वर्षको वैशाख १९ गते मनाइँदै गरेको राष्ट्रिय सूचना थता संचार प्रविधि दिवस पनि बहिस्कार गर्ने निर्णय गरेको छ ।
“हामीले यसवर्षको सूचना तथा संचार प्रविधि दिवस सँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेका छौैं,” विज्ञप्तिमा भनिएको छ, “अतः हामीले यस दिवसमा आयोजक नबन्ने, सहभागी नहुने, प्रायोजक नबन्ने र दिवस सँग सम्बन्धित सबै किसिमका सहयोगहरु बन्द गर्ने दुःखद निर्णय गर्न बाध्य भएका छौँ । यस वर्षको यस दिवसलाई हामीले सकारात्मक रुपमा लिएका छैनौैँ किनभने विगत देखि हाल सम्म कुनै पनि सरकारले सूचना र संचार प्रविधिको लागि आवश्यक वातावरण नबनाई, इनटरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसको नाममा कार्यक्रमको नाममा देखावटी काम मात्रै गर्दैछ ।”
संचार तथा सूचना प्रविधि मन्त्रालयले आफूहरुका अपस्ट्रिम प्रोभाइड्स जस्ता कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रुपमा बन्द गरेको र गर्न लगाएको कारणले पनि ती कम्पनीलाई विगत ६ महिना देखि भुक्तानी गर्न नसक्दा आगामी हप्ता बाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी नेपाल इन्टरनेटमा चर्को कर लगाउने मुलुक भित्र पर्ने उल्लेख गर्दैै ४५ प्रतिशत बढी कर हुँदा त्यो नघटाई इन्टरनेट विकास, दूरसञ्चार क्षेत्रको विकास र समग्र डिजिटल नेपालको धारणालाई बेवास्ता गरेको पनि पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





































