शीर उचाल्ने र स्वाभिमान बचाउने सवाल
वि.सं.२०७९ जेठ ५ बिहीवार १५:२२
shares

राजन कार्की
Better to die than to be a coward. नेपाली सेनाको मूल मन्त्र हो यो । यो नेपाली शीर उचाली… नेपालीको गौरव । यो मन्त्र र गौरव घटेको छैन । राजनीति बिकृत हुँदा मानसिक प्रताडना बढेको मात्र हो । यो प्रताडना लामो समय कायम रहन सक्दैन । किनकि नेपाली जाति वीर छन्, वीरतामा गौरव गर्छन् । नेपाली जातिको पहिचान राजनीतिले मासेर मासिन सक्दैन ।
विश्वलाई मन्त्रमुग्ध पार्नसक्ने काविल नेपाली सेना कायर होइन । संविधानले बाँधेको छ, देशै विचलन हुँदा बाँधिएर बस्नेछैन । सेना– शान्तिबाहकप्रति जति गर्व गर्दा पनि कम हुन्छ ।
राजनीतिक दल र नेताहरुले सुरक्षाभन्दा राष्ट्रनिर्माणको कसीमा जति घोटिरहेका छन् सेनालाई । सेना सुन नै प्रमाणित भएको छ । नेपाली सेनाको इतिहास त बहादुर र बहादुरीको अनेक दृष्टान्तहरुका चम्किलो गौरवगाथा बोकेको संस्था हो । यो संस्थालाई स्वार्थको बशमा परेको राजनीतिले अझै बुझिसकेको छैन ।
शासन राजनीतिले गर्ने हो, सेनाको काम अन्तिम सुरक्षाको जिम्मा हो । सेना जति समाजमैत्री बन्यो, उति देश दरिलो र भरिलो हुन्छ । सेनालाई समाजमैत्री बनाउने जिम्मेवारी राजनीतिमा बढी हुन्छ । विज्ञहरु भन्छन्– सेना र समग्र समाज, सेनाको नेतृत्वतह र गैरसैनिक विशिष्ट बर्ग तथा सैनिक अधिकारी र राजनीतिकर्मीहरुवीचको सुसम्बन्धमा सुरक्षा, आत्मसम्मान, सुशासन झल्किनुपर्छ, झल्किन्छ । राजनीतिक नेतृत्वलाई लागेको होला सेना डगमगाएको छ । यो गलत हो, सेना सेना हो । मौन बस्दा सजाएको गमला जस्तो, जब जाग्छ, त्यतिबेला आगो हो । डाम्नेछ ।
नेपालका सन्दर्भमा सेनाले जनता बुझेको छ, त्यसैले उसको मूल मन्त्र जनताको नमकको सोझो हो । जनताले बुझेको सेना सुरक्षाको प्रत्याभूति हो, तर राजनीतिले बुझेको सेना र सेनाले बुझेको राजनीतिका कारण विवाद छ र त्यो विवादले निम्त्याउने परिणामको छेउटुप्पो कसैले बुझेको छैन ।
रणनीतिक अभिष्ठ पाल्ने नेताका कारण सेनालाई भात्रृसंगठनजस्तो, हवल्दार बनाउने कसरत र बिखण्डनकारी शक्तिले नष्टभ्रष्ट पार्ने प्रयास आज पनि छाडेका छैनन् । यो त सेनाको बुद्धिमत्तापूर्ण कार्यले सेनालाई आफ्नै व्यवसायिक र बिशिष्टकरणमा पर्वतजस्तै अडिग राख्न सफल भएको छ । यो पर्वतको नाम हो– नेपाली सेना ।
प्रभूराम शर्मा प्रधान सेनापति छन् । उनी सिपाहीका साथै प्राज्ञिक व्यक्तित्व पनि हुन् । उनी यति सरल छन् कि उनलाई कसैले पनि सैनिकको रवाफमा देख्दैनन् । चुस्ता नलगाएका बेलामा शर्मा सैनिकजस्तै लाग्दैनन् । उनमा सेनाभित्र हरेक प्रकारका तालिम हासिल गरेको ज्ञान छ नै, साथै सैनिकको दृष्टि पुग्नुपर्ने हरेक मुद्दामा उनी सैनिकका साथै प्राज्ञिक दृष्टिले पनि विश्लेषण र व्यवहार गर्छन् । यसकारण प्रधानसेनापति शर्माको अलग पहिचान छ । उनमा परिपक्व प्राज्ञिकताको पाइन बढी देखिन्छ ।
जनताले सेनालाई हेर्ने र सेनाले जनतालाई हेर्ने दृष्टिकोणमा समस्या छैन, समस्या छ भने राजनीतिले सेनालाई हेर्ने दृष्टिमा दोष छ । बेला बेलामा सेनाका बारेमा अविश्वासको वातावरण जन्मन्छ र अनेकन संशय प्रकट गर्ने गरेका छन् । सेनालाई विवादमा तान्ने राजनीति अथवा अतिवादी सोचले सुरक्षा कमजोर हुन्छ । सेनालाई कसरी परिचालन गर्ने सल्लाहकार, नागरिक समाज, बुद्धिजीवीहरुले नीति निर्माता र सरकारलाई सुझाव दिनुपर्छ, परेका ठाउँमा दबाब पनि दिनुपर्छ । यो बर्ग सचेत छ, विवेकी पनि छ तर दलपति रिसाउँछन् भनेर मौन बसेका छन् । मौनताले समस्या बढाउँछ । समस्या बढाउनु भनेको राष्ट्रमा समस्यामाथि समस्या थप्नु हो । यो त देशभक्ति भयो र, देशमाथि अन्याय भएन र ? असल नागरिकको जिम्मेवारीप्रतिको उदासिनता भएन र ?
सेना जब विकासमा संलग्न छ, शिक्षा, स्वास्थ्य, सामाजिक दायित्व निर्वाहमा संलग्न छ भने सेनाले राम्रै गरेको छ । सेनाले थप के के गर्नुपर्ने हो ? यसबारेमा बहस हुनैपर्छ । सेनालाई विवादमा होइन, उसको कर्तव्यपथमा नागरिकले सहयोग गर्नुपर्छ । किनकि नागरिकका सन्तान हुन् सेना । सेनाको दायित्व हो, देश र नागरिकप्रतिको उत्तरदायित्व ।
सेनाले आफूलाई संविधानको दायरामा बाँधेको छ । यसमा नेपाली सेनाको पाइला कहिल्यै डगमगाएको देखिन्न । सेनालाई दिएको कुनै जिम्मेवारी सेनाले पूरा गरेको छ भने थप के के गर्नुपर्ने हो त्यो समस्या सेनाको होइन, सेनालाई परिचालन गर्ने विधिको हो । विधि निर्माता हाम्रा प्रतिनिधि हुन्, विधि निर्माताले सेनालाई संविधानमार्फत चल्ने भनिसकेपछि संविधानको सीमाभित्र पनि सैनिक गतिविधिलाई थिचोमितो किन गर्छ राजनीति ? सेना नेपालको हो, सेना नेपालीको हो भने सेनालाई नैतिक समर्थन गर्नु र सैनिक मनोवल उच्च राख्न भूमिका खेल्नु राजनीतिको कर्तव्य हुनआउँछ । सेनाको नैतिक बल बढ्दा शान्ति व्यवस्था नै मजबुत हुन्छ भन्ने बुझ्नुर्छ । आफू कर्तव्यच्यूत हुने, कर्तव्यमा खरो रुपमा घोटिइरहेको सेनामाथि अनावश्यक शंका र प्रश्न गर्नुले राजनीतिक दलहरुको राष्ट्रिय जिम्मेवारप्रति नै प्रश्न उठेन र ?
उच्चपदस्थ नेताहरुले राष्ट्रिय लक्ष्य र राष्ट्रिय स्वार्थमा सेनालाई विश्वासमा लिनैपर्छ । अन्यथा विवाद उठ्छ । राजनीतिक बर्ग इमानदार छ भने सेना त्यो इमानमा जतिसुकै पाइन हालेर चम्काउन तैयार रहेको इतिहास साक्षी छ । आफ्ना असफलताका अपजस सेनामाथि थोपर्ने र सेनालाई अनावश्यक रुपमा लाञ्छित गर्नु राजनीतिक समुदाय र बुद्धिजीवीहरुको बेइमानी हो । बेला बेलामा उठ्ने यस्ता राजनीतिक नीतिप्रति सेनालाई गम्भीर भएर सोच्न बाध्य पार्छ । यद्यपि नेपाली सेनाको विशेषता के छ भने सेनाले लगाएको चुस्तामा राजनीतिमा चस्का देखिएको छैन । राजनीति पार्टीहरुले नै गर्ने हो, सेनाको काम सुरक्षा नै हो भने नेपाली सेना आफ्नो दायित्व बुझेर चलेको छ, यसमा राजनीतिक पार्टीहरुले गौरव गर्नुपर्छ । थप जिम्मेवारी नागरिक अपेक्षा हो भने त्यो जिम्मेवारी नागरिक प्रतिनिधिहरुले संविधानमार्फत दिनुपर्छ ।
सेनाले राज्यसञ्जाल र सञ्चालनमा आवश्यक परामर्श, टेको दिने, आवश्यक सैनिक कारवाही र त्यसको परिणामको जानकारी गराउने, संविधानअनुसारका राजनीतिक क्रियाकलाप जो सैनिक दायरामा पर्छन्, तिनलाई कार्यान्वयन गर्ने हो । सैनिकले गर्नैपर्ने यी कार्यहरु बखुवी निर्वाह गरिरहेको छ । यसमा प्रश्न गर्ने ठाउँ देखिदैन ।
समस्या के छ भने सर्वसम्मतिबाट निर्मित राष्ट्रिय नीति छैन, हरेक नेता र बर्गसमुदाय आ–आफ्ना तरिकाले राष्ट्रियताको परिभाषा दिइरहेका भेटिन्छन् । राष्ट्रिय स्वार्थ यसरी असहाय नबनोस्, नबनाइयोस् भनेर नेपाली सेना सदैव सतर्क सजग देखिन्छ । राष्ट्रिय स्वार्थको भाषा मौन र कमजोर भए पनि राष्ट्रियता कमजोर छैन भन्ने सन्देश सेनाले बेला बेलामा प्रवाह गरिरहेको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन्– सत्यका लागि त्याग गर्नसक्नेहरु वीर हुन् । जनताको नमक खाएको नेपाली सेना जहिले पनि सत्यका लागि, संविधानका लागि आफूलाई जस्तोसुकै जोखिममा राख्न तत्पर संस्था हो । भनिन्छ, विश्राम आलस्यले भरिएको मादक पदार्थको कचौरा हो । राज्यका सबै सञ्जाल, व्यक्ति अथवा संस्थाहरु विश्राम गर्छन्, गरेको देखिन्छ तर नेपाली सेनामात्र यस्तो व्यवसायिक संस्था हो, जो चौबिसै घण्टा घडीजसरी चलायमान छ, अविश्राम उसको सैनिक यात्रा जारी छ । सैनिकको समय देश र जनताका लागि हो ।
नेपालको सैनिक इतिहासको नालीबेली जे छ, गौरवमय छ । माटोप्रतिको इमान्दारिता नै नेपाली सेनाको गहना हो । १६१६ मा लिगलिगे शासनबाट सुरु भएको नेपाली सेनाको इतिहास आज पनि निरन्तर जारी छ । माटोप्रति उत्तरदायी छ । कुनै पनि कालखण्डमा सेनाले राष्ट्रघात गरेको कुनै कलंक भेटिदैन ।
संविधानले तोकेको दायरामा समेटिएर माटोको रक्षा र जनताको सुरक्षा गर्ने अन्तिम दायित्व बोकेको संस्था हो नेपाली सेना । सेना भनेको बन्दुकमात्र हो भन्ने मानसिकताबाट राजनीतिक प्राणीहरु मुक्त हुनुपर्छ । सेना भनेको कलम पनि हो, आवाज पनि हो, भावना पनि हो, तरवार पनि हो ।
इजरायली प्रधानमन्त्री रवीन र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलजस्ता नेताहरु नेपालमा जन्मिन सकेनन् । जनआन्दोलनताका जो जो नेताहरु सगरमाथाजस्ता अग्ला थिए, अहिले सबै आफ्नै स्वार्थका कारण असफल भए र खाल्डाखुल्डी बनिसकेका छन् । असहाय नेपाली र नेपालको सुरक्षाको पहरेदार बनेको सेनाले अग्ला, विश्वासिला, इमान र नैतिक नेताको प्रतिक्षा गरिरहेको छ । जो जनतासँग रगत पसिना साटुन्, दुःखसुख बाँडुन् र समाजको आँखामा नबिझाउने गरी बसुन् ।
सेनाभित्र दक्ष जनशक्ति छ, नैतिकवान छन्, राष्ट्रभक्ति छ । यसकारण त देशले प्रत्यक्ष विकासदेखि अप्रत्यक्ष रुपमा नाकावन्दीको निकास, कोरोनाको खोपसम्म सेनाको भूमिका देखियो ।
देशको विकास, सुरक्षा र दिगो शान्तिमा नेपाली सेनाको भूमिका झन बढेर गएको छ । स्वार्थ लम्पट राजनीतिक नेताहरुले जतिसुकै तीतोपन राखे पनि सेनालाई किनारा लगाएर देशको भाग्य बिधाता बन्छु भन्नु सोम शर्माको सपनाजस्तै हो । किनभने बिगत ३२ वर्षमा जे देखियो, त्यो पचाउनै नसकिने दुस्वप्नहरु नेपाली आँखा अगाडि नाचिरहेका छन् ।
सीमा अतिक्रमणमा सेना उभिनु पर्ने हो भने, लिपुलेक, कालापानी, सुस्तालगायतका स्थानमा भएका छिमेकी हस्तक्षेप रोक्न सेना खटिनुपर्ने हो भने जनप्रतिनिधि संस्था संसदले संविधानमार्फत संसदलाई निर्देश गर्नुपर्छ । सेना नेपाली माटो र स्वाभिमानका रक्षार्थ खटिने छ । स्वयम् सेना अग्रसर हुनुपर्छ भन्नुृको अर्थ प्रजातन्त्रवादीहरुले बुझेकै होलान्, परिणति के हुन्छ ?





































