एनएमसीले लिएको चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत विद्याथी फेल
वि.सं.२०७९ जेठ १५ आइतवार १४:०५
shares

काठमाडौं ।नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्याथी फेल भएका छन् । काउन्सिलले बिहीबार देखि शनिबार सम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशन गरेको हो ।
परीक्षामा सहभागी मध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थी मध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन् ।
परीक्षाका लागि कुल १ हजार ५१६ जनाले फारम भरेको भएपनि २२ जना अनुपस्थित भएको र २ जनाको नतिजा रोकिएको डा. अधिकारीले बताए । ‘परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सामेल भएका थिए । यसपटक फेल भएका एक हजार एक सय विद्यार्थी पहिला पनि अनुत्तिर्ण भएका हुन्,’ डा. अधिकारीले भने,’ काउन्सिलले एउटा मापदण्ड तोकेको छ । त्यही अनुसार परीक्षा लिँदा धेरै विद्यार्थी फेल भए ।’
हाल मुलुकमा जम्मा करिव ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता रहेकोमा करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकका रुपमा दर्ता छन् ।
































