गठबन्धनलाई एमालेको गठेमंगल
वि.सं.२०७९ जेठ २० शुक्रवार १५:०२
shares

काठमाडौं । पालिका निर्वाचन गठबन्धनलाई एमालेको गठेमंगल बनेको छ । एमालेलाई लुतो ठानेर परमादेशबाट फाल्न सफल भए पनि पालिका निर्वाचनमा मत प्रतिशतमा एमाले प्रमुख बन्यो । यतिमात्र होइन, ५ दलीय गठबन्धनले मेयर वा अध्यक्ष जित्न सफल भए पनि अधिकांश नगरमा उपमेयर एमालेले जितेको छ ।
यो स्थितिबाट आत्तिएका सत्ताधारी गठबन्धन मंसिरमा हुने भनिएको संसदको निर्वाचनमा पनि गठबन्धन नै गरेर जाने निष्कर्षमा पुगेका छन् । यद्यपि नेपाली कांग्रेस र एमाओवादी, जसपाबीच धोकाधडीको आरोप प्रत्यारोप सुरु भइसकेको छ ।
देशभरिका पालिकामा प्रमुख हार्ने, उपप्रमुख र कार्यपालिकामा जित्ने पार्टीको नाम एमाले बनेको छ । यो स्थिति भनेको आउने निर्वाचनमा एमालेले धेरै सिट जित्न सक्ने आँकलन पनि हो । यतिमात्र होइन, प्रमुख प्रतिपक्षीविरुद्ध सत्ताधारी ५ दलले गठबन्धन गरेर चुनावमा जानु नै आश्चर्यको घटना बनेको छ ।
त्योभन्दा पनि आश्चर्य त कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसलाई भोट दिनु सिद्धान्तका दृष्टिले नैतिकहीनता पनि हो ।
खासगरी राजधानी, पूर्वको धरान, पश्चिमको धनगडी र दक्षिणको जनकपुरमा स्वतन्त्रले चुनाव जित्नुले सत्ता गठबन्धनमात्र होइन, ठूला नेताहरुका लागि आउने निर्वाचनमा जनताले हराईदिने संकेत पनि हो भन्ने राजनीतिक विश्लेषण हुन थालेको छ ।





































