अर्को गठबन्धन बन्न नदिने रणनीतिमा देउवा
वि.सं.२०७९ जेठ २० शुक्रवार १५:१०
shares

काठमाडौ । गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पछि अब पाँच दलीय गठबन्धनले प्रदेशसभा र संघीय संसदको निर्वाचनप्रति ध्यान केन्द्रीत गर्न थालेका छन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा अहिलेको पाँच दलीय गठबन्धनलाई कायमै राखेर आउँदो कार्तिकको अन्तिम हप्ता वा मंसिरको पहिलो हप्तामा दुवै तहको निर्वाचन गराउने पक्षमा रहेको छन् ।
तर कांग्रेसभित्रैका कतिपय नेताहरु स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि रहेका नेताहरुले असहयोग गर्न सक्ने भन्दै फागुनमा मात्र प्रदेशसभा र संघीय संसदको निर्वाचन गराउनुपर्ने पक्षमा रहेका छन् ।
संसदको निर्वाचन पाँच वर्ष अघि मंसिर १० र २१ गतेमा गरी दुई चरणमा सम्पन्न भएको थियो । निर्वाचन आयोगले समानुपातिकको अन्तिम नतिजा फागुनमा मात्र दिइको थियो भने सांसदहरुले फागुन २० गते मात्र सपथ लिएका थिए ।
मंसिरमा निर्वाचन सम्पन्न भएपनि सांसदहरुले फागुन २० गतेमात्र सपथ लिएका हुनाले अहिलेको संसदको पदावधि मंसिरमा सकिने कि फागुनमा सकिन्छ भन्नेमा कांग्रेसका नेताहरु एकमत हुन सकेका छैनन् ।
त्यही कारणले गर्दा कांग्रेसका कतिपय नेताहरु फागुनमा मात्र निर्वाचन गराउनुपर्ने पक्षमा रहेका भएपनि पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भने जतिसक्दो छिटो निर्वाचन गराउनुपर्ने पक्षमा रहेका छन् ।
पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई कतै वामपन्थी दलहरु एक जुट होलान् कि भन्ने डर भएकाले वामपन्थी दलहरुलाई एकजुट हुने समय नै नदिइएका मंसिरमै निर्वाचन गराउनुपर्ने अडानमा रहेका छन् ।
स्थानीय तहको निर्वाचनको परिणाम पछि वामपन्थीहरु दलहरु एक भएर संघीय संसदको निर्वाचनमा जानुपर्ने आवाज उठ्न थालेपछि देउवाले त्यस्तो आवाजलाई रोक्न निर्वाचनको घोषणा तत्कालै गर्न चाहिरहेका छन् ।
तर आफैँ पार्टीभित्र एकमत नहुनु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ठोस निर्णय लिन नसकेकै कारण देउवा आफ्नै पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् ।
पाँच दलीय गठबन्धनमा रहेका दलहरु मंसिर वा फागुनमा निर्वाचन गराउन तयार रहेपनि प्रधानमन्त्री देउवाकै भूमिका महत्वपूर्ण हुने र पुष्पकमल दाहालको सहयोगमा निर्वाचनको मिति घोषण गर्ने पक्षमा रहेका छन् ।
वामपन्थी दलहरुलाई एकजुट हुनबाट रोक्नका लागि भएपनि देउवाले निकट भविष्यमै संघीय संसदको निर्वाचनका लागि मिति तोक्न सक्ने देखिएको छ ।
वाम गठबन्धन बनाउन र वर्तमान गठबन्धन भत्काउने प्रयास भईरहेको सूचना प्रधानमन्त्री देउवाले पाएको हुनाले अहिलेको गठबन्धनलाई निर्वाचनसम्म जोगाई राख्न प्रधानमन्त्री देउवा र रामचन्द्र पौडेल लागि परेका छन् ।
वाम गठबन्धन बनाउन नदिएको खण्डमा अहिलेकै गठबन्धनको बलमा कांग्रेसलाई सबैभन्दा ठुलो पार्टी बनाएर देउवा फेरी प्रधानमन्त्री बन्न चाहिरहेका छन् भने वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आउँदो फागुन २९ गते समाप्त हुने भएकाले पौडेलले राष्ट्रपति बन्नको लागि अहिलेको गठबन्धनलाई आफ्नो हित अनुकूल प्रयोग गर्न चाहिरहेका छन् ।
स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मध्येका कांग्रेस र माओवादी केन्द्रले बढी फाइदा लिएको र आफूरुलाई सहयोग नगरेको भन्दै नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले असन्तुष्टि जनाईरहेका बेला उनीहरुलाई गठबन्धनबाट बाहिर जान नदिने रणनीतिक उदेश्यका साथ निर्वाचनको मिति घोषणा हुन सक्ने सम्भावना बढेर गएको छ ।





































