निर्वाचनको मिति घोषणापछि मात्र चुनावी तालमेल बारे निर्णय हुन्छ : लोसपा
वि.सं.२०७९ जेठ २२ आइतवार १९:५२
shares

काठमाडौं ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचनको मिति घोषणापछि मात्र चुनावी तालमेल बारे निर्णय गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय चुनावको पनि समीक्षा भएको छ । लामो समय सम्म चुनाव हुन्छ कि हुन्न भन्ने अलमलका कारण पूर्वतयारी राम्रो नभएको र एक्लै लड्नु परेकाले स्थानीय निर्वाचनमा सन्तोषजनक परिणाम नआएको लोसपाको निष्कर्ष छ ।
चुनावमा पैसाको चलखेल हुनुका साथै राज्य शक्तिको व्यापक दुरुपयोग भएको समेत उसको दाबी छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल बारे तत्काल निर्णय नगर्ने लोसपाले बताएको छ । ‘चुनावको मिति घोषणा भएपछि हाम्रो माग मुद्दा बारे जो सकारात्मक हुन्छ, त्यही पक्ष सँग सहकार्य गर्ने भन्ने भएको छ’, जसपा कार्यकारिणी सदस्य केशव झाले भने ।
बैठकमा केही नेताले जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी सहकार्यको चर्चा बारे पनि प्रश्न गरेका थिए । तर अध्यक्ष महन्थ ठाकुरले आफूले पनि सञ्चार माध्यममा सुनेको भन्दै प्रस्ताव आए छलफल गर्ने बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा सँग शनिबार भएको भेट बारे समेत ब्रिफिङ गरेका छन् । नागरिक विधेयक लगायतका पार्टीले उठाउँदै आएका मागमा प्रधानमन्त्री सकारात्मक रहेको उनले सुनाए । बैठकले पार्टीका अरु मागलाई समेत समेटेर प्रधानमन्त्रीको पुनः ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।






































